
सडकको अवस्था : सडकको अवस्थाका विषयमा पहिल्यै जानकारी राख्नुस् । पक्की सडकमा स्कुटरमा पनि जान सकिन्छ । अफरोडमा स्कुटर उपयुक्त हुँदैन । ग्राभेल र अफरोडमा यतिवेला हिलो जमेको हुन सक्छ । त्यसका लागि बाइक नै उपयुक्त हुन्छ ।
टायर चेक गर्नुस् : मनसुनमा सुरक्षित राइडिङका लागि राम्रो ग्रिपसहितको टायर हुन जरुरी छ । धेरै पुरानो टायरको ग्रिप खराब हुन थाल्छ र हिलोमा चिप्लिने डर हुन्छ । त्यसैले आफ्नो बाइकको टायर वेला–वेलामा बदल्नुपर्छ ।
स्पिड : ओभर स्पिड कहिल्यै राम्रो होइन । मनसुनमा अझै यो घातक हुन सक्छ । सडकको अवस्था बिग्रिएको हुन सक्छ र हतारमा ब्रेक लगाउँदा दुर्घटना हुने जोखिम रहन्छ ।
पानी जम्ने ठाउँमा नजानुस् : कतिपय सडकमा वर्षात्को समय खाल्डाखुल्डीमा पानी जमेको हुन्छ । यस्तो ठाउँमा बाइक कुदाउँदा दुर्घटनाको जोखिम रहन्छ । बाइकको इन्जिनमा पानी पस्यो भने बिग्रन सक्छ । त्यसैले यस्ता सडकमा सकभर नजानु नै राम्रो हुन्छ । जानैपरे बाइक बिस्तारै कुदाउनुपर्छ ।
सर्भिसिङ : लामो यात्रामा जानुअघि तपाईंले नजिकैको वर्कसपमा गएर बाइकको कन्डिसन चेकजाँच गर्र्नुपर्ने हुन्छ । सबैभन्दा महत्वपूर्ण मोबिलको चेकजाँच हो । मोबिलले इन्जिनलाई फ्री घुमाउँछ । पर्याप्त मोबिल भएन भने इन्जिन सिज हुन सक्छ । त्यसैले आफू कति किलोमिटर टाढा जाने हो भन्ने यकिन गरेर मोबिलको अवस्था जाँच गर्नुस् । ब्रेकको अवस्था पनि चेक गराउनुपर्छ । तपाईंले सर्भिसिङमा दिएपछि यसलाई बनाउने काम वर्कसपले गर्छ । त्यस्तै, एयर फिल्टर पनि चेक गर्नुपर्छ । एयर फिल्टर फोहोर भयो भने धेरै पेट्रोल खपत हुन्छ ।
रेनकोट बोक्न नभुल्नुस् : मनसुनको समयमा यात्रा गर्दा रेनकोट अनिवार्य रूपमा बोक्नुपर्छ ।