
अहिले ७७ जिल्लामै फैलिएको पशुमा संक्रमण हुने ‘लम्पी स्किन’ कस्तो रोग हो ?
‘लम्पी स्किन’ रोग प्रोक्सभिरिडी परिवारअन्तर्गतको क्याप्रिपक्स प्रजातिको लम्पी स्किन डिजिज भाइरसका कारण अत्यधिक संख्यामा गाई भैँसीमा संक्रमण गराउने सिमाविहीन पशु रोग हो । यस रोगबाट संक्रमित भएकामध्ये २ देखि ३ प्रतिशत पशु मर्न सक्छन् । पशुको पर्याप्त स्याहारसुसार भएन भने मृत्युदर झनै बढ्ने पशु रोगसम्बद्ध विज्ञहरूको भनाइ छ । यससम्बन्धी अध्ययनको रिपोर्टले पनि त्यस्तै संकेत गरेको छ । सामान्यतया यस रोगका कारण बाच्छाबाच्छी, जोत्ने गोरु, उन्नत जातका दुधालु गाई, भैँसी र गर्भिणी गाईमा जोखिम बढी हुने गरेको देखिएको छ ।
देशभर फैलिएको लम्पी स्किन संक्रमण कहिलेसम्म नियन्त्रणमा आउन सक्ने अनुमान छ ?
यो एक प्रकारको भाइरसजन्य संक्रमण हो । यसको ठ्याक्कै उपचार हालसम्म पत्ता लागिसकेको छैन । त्यसैले, पशुहरूलाई खोप लगाउनुका साथै किसान आफैँले पनि आफ्ना पशु चौपायाको हेरचाह गरी संक्रमणबाट बचाउने कोसिस गर्नुपर्छ । यो अहिले नै तत्काल घटिहाल्छ भन्न सकिने संक्रमण होइन ।
पशु विभागले नियन्त्रणका लागि के कस्तो तयारी थालेको छ त ?
हामीले अहिले स्थानीय तहबाटै टोलि खटाएर किसानलाई परामर्श दिइरहेका छौँ । साथै, रोग नियन्त्रणका उपायबारे सचेतना कार्यक्रम पनि एकसाथ किसानसम्म पुर्याइरहेका छौँ । यसको संक्रमणपछि किसान आफैँले गर्न सक्ने प्राथमिक उपचारबारे जानकारी दिने अभियान पनि चलाइरहेका छौँ । साथै, खोपको आपूर्तिलाई सहज बनाउने प्रयास पनि गर्दै छौँ ।