१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
मञ्जु टेलर काठमाडाैं
२o८१ बैशाख २४ सोमबार o५:५७:oo
Read Time : > 3 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

उच्च रक्तचापबाट प्रभावित महिला एक प्रतिशत बढे

Read Time : > 3 मिनेट
मञ्जु टेलर, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o५:५७:oo

बढ्दो उमेरसँगै उच्च रक्तचापको जोखिम बढिरहेको अध्ययनले देखाएको छ । १५ वर्षको उमेरमा उच्च रक्तचापको जोखिम दुई प्रतिशत हुँदा ७० वर्ष उमेरमा पुग्दा जोखिम ४५ देखि ५२ प्रतिशतसम्म पुग्ने गरेको पाइएको हो । 

नेपाल डेमोग्राफिक हेल्थ सर्भे, २०२२ को तथ्यांकअनुसार महिलाको तुलनामा पुरुषमा जोखिम झन् बढी पाइएको छ । हाल १५ देखि ५९ वर्ष उमेर समूहमा कुल जनसंख्याको १८ प्रतिशत महिला र २३ प्रतिशत पुरुष उच्च रक्तचापबाट प्रभावित भइरहेका छन् । यस्तै, ६० वर्षभन्दा माथि उमेर समूहमा ४६ प्रतिशत महिला र ४२ प्रतिशत पुरुष उच्च रक्तचापबाट प्रभावित भइरहेका छन् । उच्च रक्तचापबाट प्रभावित हुने महिलाको संख्या भने २०१६ को तुलनामा २०२२ मा आइपुग्दा एक प्रतिशतले बढेर १८ पुगेको सर्वेक्षणले देखाएको छ । 

डा. अभिनव वैद्य, मुटुरोग विशेषज्ञ
रक्तचाप बढी हुँदा मस्तिष्क, मिर्गौला, मुटु, नसा, आँखा र अन्य अंगमा असर पुर्‍याउँछ । जीवनशैलीमा परिवर्तन ल्याएर पनि रक्तचाप नियन्त्रणमा राख्न सकिन्छ । जस्तै, अल्कोहल प्रयोग नगर्ने, तनाव नियन्त्रणमा राख्ने । तर, सबैमा जीवनशैलीमा परिवर्तनले मात्रै रक्तचाप नियन्त्रणमा ल्याउन भने सकिँदैन ।

सर्वेक्षणका अनुसार उच्च रक्तचापको जोखिमदर उमेर बढ्दै जाँदा बढिरहेको छ । १५ देखि १९ वर्ष उमेरभित्रका दुई प्रतिशत प्रभावित हुँदा २० देखि २४ वर्षमा पुग्दा महिला दुई प्रतिशत नै देखिए पनि पुरुष पाँच प्रतिशत प्रभावित भइरहेका छन् । यस्तै, २५ देखि २९ वर्ष उमेर समूहका पुरुष १० र महिला पाँच प्रतिशत, ३० देखि ३४ वर्ष उमेर समूहका पुरुष १५, महिला आठ प्रतिशत, ३५ देखि ४९ वर्ष उमेर समूहका महिला १३ प्रतिशत रहेकामा पुरुष २५ प्रतिशत प्रभावित भइरहेको सर्वेक्षणले देखाएको छ । 

यस्तै, ४० देखि ४४ वर्ष उमेर समूहका महिला २२ र पुरुष २४ प्रतिशत, ४५ देखि ४९ वर्ष उमेर समूहका महिला २८ र पुरुष ३७ प्रतिशत, ५० देखि ५४ वर्ष उमेरका महिला ३३ र पुरुष ३८ प्रतिशत र ५५ देखि ५९ वर्ष उमेरका ३७ प्रतिशत प्रभावित छन् । ६० वर्ष माथि समूहमा उच्च रक्तचापको जोखिम पुरुषको तुलनामा महिलामा अत्यधिक देखिने गरेको पाइएको छ । ६० देखि ६४ वर्षभित्रको जनसंख्यामा महिला ४१ र पुरुष ३५ प्रतिशत, ६५ देखि ६९ वर्ष उमेर समूहमा महिला ४३ र पुरुष ४५ प्रतिशत र ७० वर्षभन्दा माथिका उमेर समूहमा पुरुष ४५ र महिला ५२ प्रतिशत प्रभावित रहेको तथ्यांकले देखाएको छ । 

कोसी प्रदेशमा सबैभन्दा बढी प्रभावित
उच्च रक्तचापबाट प्रभावित हुनेको संख्या अन्य प्रदेशको तुलनामा कोसीमा बढी पाइएको छ । हाल कोसी प्रदेशको कुल जनसंख्याको (१५ वर्ष भन्दामाथि) २५ प्रतिशत महिला र २७ प्रतिशत पुरुष हाइपरटेन्सनबाट प्रभावित भइरहेका छन् । यस्तै, सबैभन्दा कम कर्णाली प्रदेशमा अर्थात् १२ प्रतिशत महिला र १८ प्रतिशत पुरुष प्रभावित छन् । 

यसबाहेक, बागमतीमा २० प्रतिशत महिला र २५ प्रतिशत पुुरुष, गण्डकी प्रदेशमा १९ प्रतिशत महिला र २३ प्रतिशत पुरुष, सुदूरपश्चिममा १४ प्रतिशत महिला र २३ प्रतिशत पुरुष, लुम्बिनीमा १८ प्रतिशत जनसंख्या र मधेसमा १२ प्रतिशत महिला र २३ प्रतिशत पुरुष उच्च रक्तचापबाट प्रभावित भइरहेका छन् । 

नियन्त्रणको प्रतिशत न्यून
हाइपरटेन्सनको जोखिम हरेक उमेर समूहमा उच्च देखिए पनि एकदमै न्यून संख्यामा मात्रै नियन्त्रणमा छ । नेपाल डेमोग्राफिक हेल्थ सर्भेको पछिल्लो तथ्यांकअनुसार प्रभावितमध्ये जम्मा १९ प्रतिशत महिला र १७ प्रतिशत पुरुषमा मात्रै रक्तचाप नियन्त्रणमा रहेको पाइएको छ । उच्च रक्तचाप नियन्त्रणमा नहुँदा विभिन्न दीर्घरोगको उच्च जोखिम रहन्छ । हृदयाघात, स्ट्रोकजस्ता गम्भीर स्वास्थ्य समस्याको मुख्य कारण उच्च रक्तचाप नै बनिरहेको चिकित्सकहरू बताउँछन् । रक्तचाप बढी हुँदा मस्तिष्क, मिर्गौला, मुटु, नसा, आँखा र अन्य अंगमा असर पुर्‍याउने चिकित्सक डा. अभिनव वैद्यको भनाइ छ । उनी भन्छन्, ‘आँखाको दृष्टिमा समस्या देखिने, रक्तनलीमा समस्या देखिने, मिर्गौला फेल, हृदयाघात, स्ट्रोकजस्ता सानादेखि ठूला स्वास्थ्य समस्याको कारण उच्च रक्तचाप बनिरहेको छ ।’

स्वास्थ्य समस्याको मुख्य कारकका रूपमा देखिए पनि उच्च रक्तचापबारे धेरैमा न्यून ज्ञान छ । रक्तचाप कति भए जोखिमपूर्ण हुन्छ भन्ने ज्ञान नहुनु, औषधि नियमित खान नसक्नु वा स्वास्थ्य संस्था नजिक नहुनु, आधारभूत स्वास्थ्य केन्द्रमा उच्च रक्तचाप पत्ता लगाउन सक्ने स्वास्थ्यकर्मी नहुनु, उपकरण र अन्य सुविधा नहुनु आदि कारणले उच्च रक्तचाप नियन्त्रण एकदमै न्यून देखिएको डा. वैद्य बताउँछन् ।

खासगरी, स्वास्थ्य संस्थासम्म पहुँच नभएका स्थानमा उच्च रक्तचाप नियन्त्रणमा राख्नेको संख्या एकदमै न्यून पाइएको छ । हाल प्रभावितमध्ये सहरी क्षेत्रमा बसोवास गर्ने २२ प्रतिशत महिला र १८ प्रतिशत पुरुषले मात्र नियमित औषधिको प्रयोग र स्वस्थ जीवनशैलीका कारण उच्च रक्तचाप नियन्त्रणमा राखेको तथ्यांक छ । तर, ग्रामीण क्षेत्रमा १४ र १२ प्रतिशत मात्र छ । तथ्यांकका अनुसार प्रभावितमध्ये सुदूरपश्चिम प्रदेशमा चार प्रतिशत महिला र ६ प्रतिशत पुरुषमा मात्र रक्तचाप नियन्त्रणमा रहेको पाइएको छ । सातै प्रदेशमध्ये यो सबैभन्दा न्यून हो । सहरी क्षेत्र बढी रहेको बागमती प्रदेशमा प्रभावितको २९ प्रतिशत महिला र २७ प्रतिशत पुरुषमा रक्तचाप नियन्त्रणमा छ । 

डा. वैद्य जीवनशैलीमा परिवर्तन ल्याएर पनि रक्तचाप नियन्त्रणमा राख्न सकिने बताउँछन् । उनका अनुसार सामान्यतया उच्च रक्तचापको कारण पत्ता लगाएर व्यवहारमा परिवर्तन ल्याउँदा पनि नियन्त्रणमा ल्याउन सकिन्छ । जस्तै, अल्कोहलको प्रयोग बन्द गर्ने, मोटोपन घटाउने र तनाव नियन्त्रणमा राख्दासमेत हाइपरटेन्सन नियन्त्रणमा ल्याउन सकिन्छ । तर, सबैमा जीवनशैलीमा परिवर्तनका कारण मात्रै रक्तचाप नियन्त्रणमा ल्याउन सकिन्छ भन्ने हुँदैन । 

‘अधिकांश बिरामीले नुन कम खाएर वा अन्य व्यवहारमा परिवर्तन ल्याएर उच्च रक्तचाप नियन्त्रणमा राख्न सक्छु भन्ने भ्रम हुने र औषधि सेवन नगर्ने गरेको पाइन्छ । जसले गर्दा फरक–फरक लेभलमा रहेको रक्तचाप नियन्त्रणमा ल्याउन सकिँदैन,’ उनी भन्छन्, ‘यसका लागि आवश्यकताअनुसार औषधि प्रयोगमा ल्याउनुपर्ने हुन्छ ।’ डा. वैद्यका अनुसार कतिपयमा मुटुको धड्कन नियन्त्रणमा राख्दा रक्तचाप नियन्त्रणमा आउँछ भने कतिपयमा रगतमा पानीको मात्रा व्यवस्थापन गर्दा नियन्त्रणमा राख्न सकिन्छ । अर्थात् औषधिको साइड इफेक्ट पनि देखिने भएकाले चिकित्सकको सल्लाहमा फरक–फरक औषधि नियमित खानुपर्ने हुन्छ । खासगरी बिरामीको उमेर, अवस्था हेरेर एकभन्दा बढी औषधिसमेत प्रयोगमा ल्याउन सकिन्छ । 
 

ad
ad