१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
अजित अधिकारी काठमाडाैं
२o८१ जेठ १ मंगलबार o७:१४:oo
Read Time : > 2 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

‘नाफाखोर’ बन्दै आयल निगम

आइओसीको बक्यौता चुक्ता गरेर पनि महिनामा तीन अर्ब नाफा, तर उपभोक्ता मूल्य घटाइएन

Read Time : > 2 मिनेट
अजित अधिकारी, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o७:१४:oo

नेपाल आयल निगमले ‘नाफाखोर चरित्र’लाई निरन्तरता दिँदै असार महिनामै तीन अर्बभन्दा बढी मुनाफा आर्जन गर्दा पनि उपभोक्तालाई पेट्रोलियमको मूल्यमा राहत दिएको छैन । आयल निगमले १ देखि १५ असारसम्म एक अर्ब ६५ करोड मुनाफा आर्जन गरिसकेको छ । त्यस्तै, १६ गतेदेखि असार मसान्तसम्म थप एक अर्ब ६० करोड रुपैयाँ मुनाफा आर्जन गर्ने प्रक्षेपण गरेको छ । यसरी महिनामै तीन अर्ब २५ करोड नाफा गर्ने लक्ष्य राख्दा निगमले हवाई इन्धनमा सामान्य मूल्य घटाउनुबाहेक अन्य पेट्रोलियमको मूल्य स्थिर राखेको छ । 

आइओसीले निगमलाई प्रत्येक महिनाको १ र १६ तारिखमा तेल खरिदको नयाँ मूल्यसूची पठाउँछ । सोहीअनुसार शनिबार (१ जुलाई)मा पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य सामान्य दरमा बढाएर तथा ग्यासको मूल्य ठूलो दरले घटाएर पठाएको छ । निगमका अनुसार पेट्रोल ४१ पैसा र डिजेल २.२० रुपैयाँ प्रतिलिटर बढेर आएको छ भने ग्यासको मूल्य करिब एक सय ७० रुपैयाँ प्रतिसिलिन्डर घटेर आएको छ ।

विगतदेखि नै चर्को नाफा राखेका कारण पेट्रोल र डिजेलको मूल्य यसपटक सामान्य दरमा बढेर आए पनि निगमको नाफाको ग्राफ घट्न पाएको छैन । नयाँ मूल्यसूचीमा पनि निगमलाई पेट्रोलमा १२ रुपैयाँ, डिजेलमा १३ रुपैयाँ र निम्न वर्गीयले प्रयोग गर्ने मट्टीतेलमा २७ रुपैयाँ प्रतिलिटर नाफा छ ।

आन्तरिक वायुसेवाले प्रयोग गर्ने हवाई इन्धनमा २७ रुपैयाँ र अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवाले प्रयोग गर्ने हवाई इन्धनमा ५७ रुपैयाँ प्रतिलिटर नाफा छ भने खाना पकाउने एलपी ग्यासमा वर्षाैँदेखि व्यहोर्दै आएको घाटा हटेर प्रतिलिटर करिब सात रुपैयाँ नाफा हुन थालेको छ ।

यति ठूलो दरमा नाफा भएकाले निगमले आगामी १५ दिनमा एक अर्ब ६० करोड मुनाफा गर्ने प्रक्षेपण गरेको प्रवक्ता मनोज ठाकुरले बताए । उनले निगमको ऋण र अन्य दायित्व फरफारक गर्न बाँकी नै रहेकाले तुलनात्मक रूपमा अलि बढी नाफा राख्नुपरेको जिकिर गरे ।

‘आइओसीको २४ अर्ब रुपैयाँ बक्यौता त करिब तिरिसक्यौँ । तर, सरकारको ऋण तिर्न बाँकी छ भने बक्यौता तिर्न विभिन्न कोषबाट प्रयोग गरेको रकमसमेत भर्पाई गर्नुपर्ने बाध्यतामा छौँ,’ उनले भने । सरकारबाट निगमले सात अर्ब ऋण लिएको र पाँच वर्षमा १० किस्ता गरेर तिर्ने सम्झौता छ । यो सम्झौताअनुसार पहिलो किस्ता ७० करोड निगमले बुझाइसकेको छ भने असार मसान्तमा थप अर्को किस्ताबापत ७० करोड बुझाउने ठाकुरले बताए ।

आयल निगमले विभिन्न दायित्व देखाएर पेट्रोलको मूल्य नघटाएको तीन महिना भइसकेको छ । निगमले अन्तिमपटक २० चैतमा पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँ घटाएर एक सय ७५ रुपैयाँ कायम गरेको थियो । त्यसयता बजारमा यही मूल्य कायम छ । त्यस्तै, डिजेल र मट्टीतेलको मूल्य पनि डेढ महिनाअघि निर्धारण गरेको एक सय ५५ रुपैयाँ प्रतिलिटर नै 
कायम छ ।प्रत्येक भान्सामा अत्यावश्यक मानिएको खाना पकाउने एलपी ग्यासको मूल्य डेढ वर्षदेखि यथावत् (प्रतिलिटर १८ सय रुपैयाँ) कायम छ ।

कार्यकारी निर्देशक उमेशप्रसाद थानीले डेढ वर्षदेखि निगमको नेतृत्व लिएयता मुनाफालाई मात्रै ध्यान दिँदै आएका छन् । उनले यसबीचमा उपभोक्तामैत्री निर्णय गर्न सकेका छैनन् ।उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिनाले बक्यौता नरहेको अवस्थामा निगमले चर्को नाफा राखेर मूल्य नघटाउनु उपभोक्ताप्रति ज्यादती भएको बताए । उनले तुरुन्तै पेट्रोलियमको मूल्य नघटे आमउपभोक्ताले निगम घेराउ गर्नुपर्ने आवश्यकता रहेको बताए ।

मूल्य घटाउन प्रधानमन्त्रीले फेरि हस्तक्षेप गर्नुपर्छ 
माधव तिमिल्सिना, उपभोक्ताकर्मी

हिजोसम्म आइओसीको बक्यौता देखाएर पेट्रोलियको मूल्य घटाइएको थिएन । तर, अहिले बक्यौतासमेत तिरिसकेको अवस्थामा चर्को नाफा राख्नु उपभोक्ताप्रति निगमको गैरजिम्मेवारी चरित्र हो । निगमले सधैँ विभिन्न बहानामा नाफाखेर प्रवृत्ति दोहोर्‍याइरहेको छ । अब फेरि एकपटक प्रधानमन्त्रीज्यूले हस्तक्षेप गरी पेट्रोलियमको मूल्य घटाउन दबाब दिनुपर्छ । उपभोक्ताले पनि निगमको कार्यालय घेराउ गरेर दबाब सिर्जना गर्नुपर्ने आवश्यकता देखेको छु ।

ad
ad