१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार १५ शुक्रबार
  • Sunday, 11 May, 2025
शिवहरि घिमिरे काठमाडाैं
२o८o असार १५ शुक्रबार o६:४o:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

तयार भयो सिसामाथि हिँड्न मिल्ने ‘स्काई वाक’ टावर (तस्बिरसहित)

Read Time : > 2 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
२o८o असार १५ शुक्रबार o६:४o:oo

करिब दुई अर्ब लगानीको टावर आजदेखि सर्वसाधारणलाई खुला

काठमाडौंको कमलादीमा करिब दुई अर्ब रुपैयाँ लगानीमा ‘स्काई–वाक’ (सिसामा टेकेर हिँड्न मिल्ने) टावर निर्माण भएको छ । सर्वसाधारणले औपचारिक रूपमा आज (शुक्रबार)देखि टावरमा ‘स्काई वाक’ गर्न सक्ने जनाइएको छ । 

काठमाडौंमा नयाँ र भिन्न स्वादको पयर्टकीय गन्तव्य थप्ने उद्देश्यले वन्डर्स नेपाल नाममा संस्थाले २३ तलामाथि सिसामा उभिन र हिँड्न मिल्ने संरचना तयार पारेको हो । ७८.५ मिटर उचाइको यस संरचनामा १८ तलासम्म लिफ्ट चल्छ । त्यसमाथिका तलामा होटेल, क्लब र इभेन्ट एरिया छन् भने २३औँ तला अर्थात् सबैभन्दा टपबाट टावरको फेदसम्म देखिने गरी सिसा बिछ्याइएको छ । जसमाथि हिँड्न, बस्न र आराम गर्नसमेत मिल्छ । टावरको सबैभन्दा ‘रोमाञ्चक’ तला नै यही हो । सो ठाउँबाट उपत्यकाका अधिकांश भाग नियाल्न सकिन्छ ।

‘स्काई वाक’को डिजाइन स्टिल स्ट्रक्चरमा भएको छ । भूकम्प प्रतिरोधात्मक र सबै मापदण्ड पूरा गरेका कारण टावर पूर्ण सुरक्षित रहेको कम्पनीको दाबी छ । यसमा प्रयोग भएका सिसा पनि बलिया छन् । सुरुमा १० एमएमको टेम्पर ग्लास त्यसपछि १.५२ एमएमको लेमिनेटिङ लेयर र पुनः १० एमएमको टेम्पर ग्लास, १.५२ एमएमको लेमिनेटिङ लेयर र अन्तिममा १० एमएमको टेम्पर ग्लास गरी पाँचवटा (दुईवटा सिसा र तीनवटा टेम्पर ग्लास) लेयर राखिएको छ । 

जसका कारण सिसा अत्यन्तै मजबुद रहेकाले सुरक्षित हुने अध्यक्ष आकर्षण पोखरेलको दाबी छ । उनका अनुसार यसले दुई हजारजनासम्मको लोडलाई धान्न सक्छ, तर सहजताका लागि एकपटकमा पाँच सयजनालाई प्रवेश दिइनेछ । ‘यो कुनै टावर होइन, तर ‘स्काई वाक’का लागि बनेको टावरचाहिँ हो । पयर्टकीय क्षेत्रमा हामीले नयाँ काम गरेको ठानेका छौँं,’ उनले भने, ‘विदेशमा देखेपछि नेपालमा पनि ल्याएका हौँ ।’ उनका अनुसार ‘स्काई वाक’मा चढ्नेहरूको बिमा गरेर मात्रै प्रवेश दिइनेछ । यसमा ब्रिटिस स्ट्यान्डर्डको स्टिल प्रयोग गरिएको छ । सोही कम्पनीले यसअघि इलामको कन्याममा स्काई वाक सञ्चालनमा ल्याइसकेको छ । पहिलो स्काई वाक प्रभावकारी देखिएपछि कम्पनीले उपत्यकामा त्यसभन्दा पनि ठूलो स्काई वाक निर्माण गरेको हो । 

काठमाडौं महानगरको सहरी व्यवस्थापन विभाग प्रमुख सुरज शाक्यले टावरले संरचना निर्माण गर्दा नक्सा पास र निर्माण सम्पन्नको प्रमाणपत्र लिइसकेको बताए । उनका अनुसार काठमाडौं उपत्यका विकास प्राधिकरणले पनि प्लानिङ पर्मिट दिएको छ । 

कुन तलामा के–के छन् ? 

स्काई वाक टावरको १८ तलभन्दा मुनि दुई साइडमा दुईवटा लिफ्ट छ भने बीचमा पिलर तथा टावर सपोर्टर राखिएको छ । दुईवटा लिफ्टमा एकपटकमा ४८ जना अट्छन् । लिफ्ट चढेपछि सीधै १८ तलासम्म पुगिन्छ । त्यसभन्दामाथि दुई तला हिँडेर स्काई टावरमा पुगिन्छ । दुई तलामाथि भ्यु पोइन्ट छ । जुन धराहराभन्दा अग्लो छ । कम्पनीका परियोजना निर्देशक सञ्जीव रोकाले तीन वर्षअघिदेखि स्काई वाक संरचना निर्माण थालिएको बताए । उनका अनुसार स्काई वाकको भुइँको क्षेत्रफल १३ रोपनी दुई आना हो । स्काई वाक नगर्नेहरूका लागि भुइँमा विभिन्न आकर्षक ठाउँ निर्माण गरिएको छ । पार्क, पेन्टिङ वाल तथा रेस्टुरेन्टहरू हुनेछन् । रेस्टुरेन्ट छिर्नका लागि प्रवेश शुल्क तिर्नुपर्दैन । 

स्काई वाक गर्न एकजनाले एक हजार शुल्क तिर्नुपर्छ । यसबापत उसले ३५ मिनेटसम्म त्यहाँ बस्न पाउँछ । यसबाहेक अन्य सुविधा लिए छुट्टै तिर्नुपर्छ । यद्यपि, ८० वर्षभन्दा माथिका वृद्धवृद्धा र पाँच वर्षभन्दा मुनिका बालबालिकाका लागि निःशुल्क छ । विद्यार्थीका लागि छुट्टै प्याकेज ल्याउने कम्पनीको तयारी छ । यहाँ पाँच सय मोटरसाइकल र दुई सय चारपांग्रे सवारीसाधन पार्किङ गर्न मिल्छ । 

टावरबाट बन्जीसमेत गराउने तयारी


केही समयपछि टावरबाट बन्जी जम्प पनि गर्न मिल्ने व्यवस्था मिलाइरहेको कम्पनीले जनाएको छ । त्यसका निम्ति प्राविधिक जाँच र मूल्यांकन भइसकेको छ । सम्भाव्यता र मूल्यांकन अभ्यास भइसकेकाले छोटो समयमै बन्जी जम्प पनि बनाउने तयारी भएको अध्यक्ष पोखरेलको भनाइ छ । 

नयाँ गन्तव्य, तर प्रवेश शुल्क महँगो 


सहरी क्षेत्रमा पयर्टक तान्नका लागि बनेको स्काई वाकले लिने प्रवेश शुल्क भने तुलनात्मक रूपमा महँगो छ । ३५ मिनेट अवलोकन र वाक गरेको एक हजार रुपैयाँ तिर्नुपर्छ । नेपालका यस्तै प्रकृतिका अन्य पर्यटकीय क्षेत्रका हिसाबले यो शुल्क महँगो मानिन्छ । उपत्यकाआसपासका जिपलाइन, केबलकारलगायत ‘एडभेन्चर’ गन्तव्यको शुल्कभन्दा स्काई वाकले लिने शुल्क महँगो भएका कारण सबैको पहुँच नपुग्ने सर्वसाधारणको अनुमान छ । तर, अध्यक्ष पोखरेलले भने निर्माणमा लागेको खर्च र यसले दिने सुविधाअनुसार शुल्क सहुलियत भएको बताए । स्काई वाक धरहरा हाराहारीको उचाइमा छ । सरकारले धरहरामा भने प्रवेश खुला गरेको छैन । दुई वर्षअघि नै उद्घाटन भए पनि हाल बन्द छ । 




तस्बिर : सतिश पोखरेल र दिपेन्द्र ढुंगाना/नयाँ पत्रिका