
सत्तारूढ नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले पशुपतिनाथमा चढाइएको सबै सुन राज्यकोषमा दाखिला गर्न सरकारसँग माग गरेकी छिन्।
मंगलबार प्रतिनिधिसभाको दोसो बैठकमा आकस्मिक समय लिएर बोल्दै उनले धर्मको नाममा जलहरी चढाउनेजस्ता नौटंकी बन्द गरी पशुपतिनाथमा चढाइएका सबै सुन राज्यकोषमा दाखिला गर्न माग गरेकी हुन्। एमाले अध्यक्ष केपी ओलीप्रति संकेत गर्दै गौतमले पशुपतिमा चढाएको जलहरीमा आफ्नो नाम लेखाएको भन्दै भर्त्सना गरिन्।
‘जलहरीको परीक्षण गर्दा १३ जनाको नाम पार्वतीका अंगका रूपमा पुजिने जलहरीको सुवर्णपेटिकामा कुँदेर लेख्ने मोह अति निन्दनीय मात्रै होइन, भर्त्सनायोग्य पनि छ सभामुख महोदय । भगवानको गर्भगृहमा आफ्नो नाम लेखाउने मोह जाग्नु, यस्तो बुद्धि कहाँबाट प्रकट हुन्छ सभामुख महोदय,’ उनले भनिन्।
सांसद गौतमले पशुपतिनाथको मन्दिरमा दानपेटिका हराएको, घ्याम्पो हराएकोजस्ता कुरा बाहिर आएको उल्लेख गर्दै त्यसबारे सदनलाई जानकारी गराउन पनि सरकारसँग माग गरिन्।