१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार १२ मंगलबार
  • Saturday, 06 July, 2024
फ्रन्ट पेज प्रिन्ट संस्करण

पशुपतिनाथको जलहरीमा सुनको यकिन विवरण आउन दुई–तीन दिन लाग्ने

जलहरी पुन: मन्दिरमा स्थापना गरिँदै

Read Time : > 3 मिनेट
सुवास भट्ट, काठमाडाैं
नयाँ पत्रिका
२o८o असार १२ मंगलबार o६:१५:oo

करिब आधा किलो सुन मात्रै कम देखिएको कोषको दाबी

पशुपतिनाथको जलहरी बनाइएको सुनको परिणाम र गुणस्तरबारे यकिन विवरण आउन अझै दुई–तीन दिन लाग्ने भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार जलहरी निकालेर जोखेको थियो । तर, सुनको परिणामसमेत समेटेर प्रतिवेदन आउन समय लाग्ने भएको हो । पशुपति क्षेत्र विकास कोषले भने जलहरीमा करिब आधा किलो मात्रै सुन कम रहेको बताएको छ, जुन स्वाभाविक भएको उसको दाबी छ । 

‘हिजो (आइतबार) नापजाँच गरियो । अनुसन्धान अधिकृतहरूबाट त्यसको विश्लेषण हुँदै छ । अनुसन्धान जारी रहेकाले अहिले केही भन्न सकिँदैन,’ अख्तियारका प्रवक्ता भोला दाहालले भने, ‘अनुसन्धान टुंगिएपछि मात्रै सुनको परिणाम र गुणस्तर सार्वजनिक हुन्छ ।’ उनका अनुसार जलहरीको नापजाँच गरेपछि थप अध्ययन र विश्लेषणको काम भइरहेको छ । जसमा अख्तियारको प्राविधिक टोलीले काम गरिरहेको छ । प्राविधिक टोलीको प्रतिवेदन आउन अझै दुई–तीन दिन लाग्ने स्रोतको भनाइ छ । 

पशुपति क्षेत्र विकास कोषले भने जलहरी स्थापना गर्दा सुनको मात्रा र गुणस्तरमा हिनामिना नभएको दाबी गरेको छ । जलहरीमा १०७.४७० किलो सुन रहेको पाइएको कोष स्रोतको भनाइ छ । ‘जर्ति, दुई वर्षसम्मको जलहरीको प्रयोगलगायतको हिसाबले यति कम हुनु स्वाभाविक हो,’ स्रोतको भनाइ छ ।

अख्तियारका सहसचिवको नेतृत्वमा कोषसहित, पर्यटन मन्त्रालय, गुणस्तर तथा नापतौल विभाग, सुनचाँदी व्यवसायी संघ, नेपाल प्रहरी, नेपाली सेना, स्थानीय जनप्रतिनिधिसहितको सहभागिता र रोहवरमा आइतबार जलहरी निकालेर सुनको नापजाँच गरिएको थियो । 

१२ फागुन ०७७ मा तत्कालीन राष्ट्रपति विद्या भण्डारीले पशुपतिनाथमा सुनको जलहरी अनावरण गरेकी थिइन् । पशुपति शिवलिंगको गर्भगृहलाई पूर्णरूपमा ढाक्ने गरी राखिएको सुनको जलहरी निर्माण गर्न आर्थिक वर्ष ०७७/७८ मा नेपाल राष्ट्र बैंकबाट ८० करोड ११ हजारमा एक सय तीन किलो ७७३ ग्राम सुन खरिद गरिएको थियो । विभिन्न शुद्धताको प्रतिशत रहेको सुनमा अन्य धातु र रसायनको मिश्रण गर्दा तामा दुई किलो ८९० ग्राम, चाँदी एक किलो २४९ ग्राम, जिंक १२.७५ ग्रामसमेत प्रयोग गरी एक सय सात किलो ९२४.७५ ग्राम सुन कायम गरिएको थियो । 

तर, निर्मित जलहरी, जलधारा, नाग, नागमूर्ति, सुनको किलोलगायतमा प्रयोग भएको सुनको तौल ९६ किलो ८२२ ग्राम मात्र थियो । बाँकी रहेको सुन १० किलो ९७६ ग्रामको रिङ बनाई जलहरीमा लगाइएको कोषको जवाफ थियो । त्यसको मूल्य त्यतिखेर सात करोड ८६ लाख ४६ हजार रुपैयाँ पर्न आउँथ्यो । जलहरी बनाएर बाँकी रहेको सुनको सम्पूर्ण परिमाण रिङ बनाउने कार्यमा प्रयोग भएको पुष्टि नभएको महालेखाले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ । अख्तियारमा पनि यससम्बन्धी मुद्दा विचाराधीन थियो । पछिल्लो समय संसद्मा कु उठेपछि अख्तियारले जलहरी जोख्ने काम गरेको हो । 

जलहरी पुनः मन्दिरमा स्थापना गरिँदै 
सुनको मात्रा र गुणस्तरमाथि प्रश्न उठेपछि बाहिर निकालेर नापजाँच गरिएको जलहरी पुनः मन्दिरमा स्थापना गरिँदै छ । कोषका अनुसार सोमबारदेखि नै जलहरी मन्दिरभित्र राख्ने काम थालिएको छ । मन्दिर परिसरमै जलहरी नेपाली सेनाले संरक्षण गरेर राखेको छ । 

जलहरी प्रकरण : छानबिनका लागि संसदीय समिति गठनको माग 
सांसदहरूले पशुपतिनाथ मन्दिरको जलहरी ‘अनियमितता’ प्रकरणको छानबिन गर्न संसदीय समिति गठनको माग गरेका छन् । प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सत्तापक्षका सांसदले निष्पक्ष छानबिन गर्ने गरी संसदीय समिति बनाउन माग गरेका हुन् । कांग्रेस सांसद प्रदीप पौडेलले धार्मिक आस्थाको केन्द्रसँग जोडिएको यो विषयमा सदनबाटै समिति गठन गरेर निष्पक्ष छानबिन गर्न माग गरे । ‘निर्णय प्रक्रिया र कार्यान्वयनका सन्दर्भमा थुप्रै विषय जोडिएको र व्यापक रूपमा टीका–टिप्पणी भइरहेको यो गम्भीर विषयमा छानबिनका निम्ति सदनले छानबिन समिति बनाओस् र यसको पूर्ण र निष्पक्ष छानबिन हुने स्थिति निर्माण होस्,’ उनले भने । 

पौडेलले धार्मिक आस्थाको केन्द्रमा भ्रष्टाचार जोडिँदा संसारसामु नेपालको शिर निहुरिएको र केही प्रश्नसमेत उठाएको उल्लेख गरे । ‘यस्ता विषयमा तत्कालीन सरकारले जस्तै अब निर्णय गर्न पाउने कि नपाउने ? उजुरी परेको दुई वर्षपछि बल्ल अख्तियारले छानबिन गरेको छ, महालेखापरीक्षकको प्रतिवेदनमा प्रस्ट आएको विषयलाई अख्तियारले यति ढिलो गरी छानबिन किन गर्‍यो ?’ उनले सोधे । 

माओवादी सांसद देवेन्द्र पौडेलले पनि जलहरीको यथार्थता जानकारी गराउन सरकारसँग माग गरे । पशुपति क्षेत्र विकास कोष, नेपाल प्रहरी, सुरक्षा निकाय, सुनचाँदी व्यवसायी संघ, गुणस्तर नापतौल, पुरातत्व र खानी तथा भूगर्भ विभाग तथा जनप्रतिनिधिहरूले सुनको खोजी गरेर जोखेको सुन्नमा आएको भए पनि सम्पूर्ण विवरण दिन माग गरे । ‘जलहरीबारे सदनभित्र र बाहिर व्यापक चर्चा भयो । त्यहाँ भएको के हो ? कति सुन हराएको हो ? कति सुन बाँकी छ ? स्थिति के हो ? सम्पूर्ण विवरण जानकारी गराइयोस्,’ उनले भने । यो कुनै ट्रकमा ल्याएको सामग्री जोख्ने कुरा नभएको भन्दै उनले गम्भीरतापूर्वक विषय उठेकाले सत्यतथ्य जानकारी गराउन सम्बन्धित निकायसँग माग गरे । 

कांग्रेस सांसद रामहरि खतिवडाले जलहरीमा पूर्वराष्ट्रपति (विद्या भण्डारी), पूर्वप्रधानमन्त्री (केपी ओली), पूर्वमन्त्री (भानुभक्त ढकाल)हरूको नाम लेखिएकोमा आपत्ति जनाए । उनले यसको कारण पत्ता लगाउन माग गरे । ‘जलहरीमा पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्री र पूर्वसंस्कृतिमन्त्रीको नामबाट आएको पानी हामीले खानुपर्ने रहेछ । यो बाध्यता किन गरियो ?’
खतिवडाको भनाइ थियो, ‘महादेवलाई उहाँहरूको नामबाट पानी खुवाउने चलन पशुपतिनाथलाई खुवाउने चलन किन परेछ ? यसमा छलफल गर्नुपर्छ, सत्यतथ्य बाहिर ल्याउनुपर्छ ।’

जलहरीबारे बोलेर सदन तताएका माओवादी सांसद लेखनाथ दाहालले जलहरी लगाउँदा बदनियत देखिएको दाबी गर्दै निष्पक्ष अनुसन्धान गरेर अख्तियारले सबै विषय बाहिर ल्याउनुपर्ने माग गरे । ‘पशुपतिमा नाम लेखाउने रहर जागेर उहाँले बदनियतपूर्ण ढंगले सुनको जलहरी लगाउनुभएको रहेछ । तर, त्यसको स्रोत के हो ? दाताहरूले दिएको पैसा कति छ ? सबै विवरण सार्वजनिक गर्नुपर्छ,’ उनले भने । दाहालले जलहरीमा ओली, विद्या भण्डारी र भानुभक्त ढकाललगायतको नाम लेखिएकोमा पनि आपत्ति जनाए ।

एमाले सचेतक महेश बर्ताैलाले भने जलहरी जसको नेतृत्वमा राखियो, जसले उद्घाटन गर्‍यो उसको नाम राखिनु सामान्य भएको बताए । ‘पूर्वप्रधानमन्त्री, पूर्वराष्ट्रपति, पूर्वसंस्कृतिमन्त्रीको नाम लेखियो भन्ने कुरा पूर्वाग्रहपूर्ण हो, ओलीको लोकप्रियता छ, राष्ट्रले भरोसा गरेको छ, त्यसको विरुद्धमा यो आएको हो । त्यही पनि यसको सत्यतथ्य रिपोर्ट आएपछि मात्रै यसबारेमा बोल्न सकिन्छ । उहाँको सरकारको पालामा, नेतृत्व रहेका वेलामा काम भएको कुरामा सामान्य कुरा हो,’ उनले भने ।

जलहरीबारे माओवादी सांसद दाहालको अभिव्यक्ति रेकर्डबाट हटाइएकोमा कांग्रेस सांसद पौडेलले आपत्ति जनाए । उनले यसले संसद्ले ढाकछोप गर्न खोजेको सन्देश गएको पनि बताए । सांसद दाहालले नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा ओलीको पालामा विभिन्न काण्डैकाण्ड भएको उल्लेख गर्दै ‘उहाँ सरकारमा बस्दा कति भ्रष्टाचारका काण्ड आए ? यती, ओम्नी, वाइडबडी, स्वास्थ्य सामग्री खरिदको दुई अर्ब भ्रष्टाचार, पशुपतिनाथको जलहरी लाउँदा पनि सुन लाउने भनेर पित्तल लगाइदिएका भ्रष्टाचारलगायत सयौँ काण्ड छन्’ भनेर टिप्पणी गरेका थिए । त्यसमा एमालेले आपत्ति जनाउँदा रेकर्डबाट हटाइएको थियो । 

यही विषयमा एमालेले सदन अवरुद्ध गरेपछि नीति तथा कार्यक्रम पारित र बजेट प्रस्तुत गर्नुपर्ने दबाबबीच प्रधानमन्त्री प्रचण्डले जलहरीसम्बन्धी विषयमा प्रमुख प्रतिपक्षी दलको नेतालाई जोडेर सदनमा विचार व्यक्त हुनु उचित नहुने र संसद्को रेकर्डबाट हटाउन सकिने अभिव्यक्ति दिएका थिए । त्यसपछि सभामुख घिमिरेले एमालेको मागबमोजिम दाहालले उल्लेख गरेको ‘स्वास्थ्य सामग्रीको दुई अर्बको भ्रष्टाचार र पशुपतिनाथको जलहरी लगाउँदा सुन भनेर पित्तल लगाएर गरेको भ्रष्टाचारहरू’ भन्ने शब्द रेकर्डबाट हटाएका थिए ।

ad
ad
ad
ad