मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार १० आइतबार
  • Thursday, 19 December, 2024
२o८o असार १० आइतबार १२:१९:oo
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

मदानेको नीति : पूर्वाधार विकास, शिक्षा र उद्यमलाई प्राथमिकता 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८o असार १० आइतबार १२:१९:oo

मदाने गाउँपालिकाले पूर्वाधार विकास, शिक्षा र उद्यमलाई प्राथमिकता दिँदै नीति तथा कार्यक्रम ल्याएको छ। 

पूर्वाधारलाई जोड दिँदै निर्माणका आयोजनाहरू सञ्चालन गर्दा लागत–लाभ विश्लेषणका आधारमा उच्च नतिजा एवं प्रतिफल दिने, समतामूलक विकासको आधारको रूपमा रहने, पिछडिएका र कम विकसित क्षेत्रलाई मूल प्रवाहीकरणमा ल्याउन सहयोग गर्ने आयोजनाहरू पहिचान गरेर ‘आयोजना बैंक’ तयार गर्ने नीति लिएको छ। 

गाउँपालिका प्रमुख महेन्द्रबहादुर कुवँरले १३औँ गाउँ सभामा पेस गरेका आर्थिक वर्ष ०८०/८१ को नीति तथा कार्यक्रममा आयोजना बैंकमा समाविष्ट आयोजनाहरूमा मात्र बजेट विनियोजन गर्ने नीतिमा उल्लेख छ। 

नीति तथा कार्यक्रममा भौतिक पूर्वाधार विकासतर्फ प्रशासकीय भवन निर्माण, १५ शय्या अस्पताल निर्माण, दुईखोली र रिपुरेखोला पुल निर्माण, पञ्चमीपोखरी–शैरे–भोटमारा–अग्लुङफेदी सडक, सिर्सेनी वडा कार्यालय–काफलेनी–सेताभिर–सिम–पुर्कोदह सडक र पुर्कोटदह–कंकेदेउराली–एकराते सडक स्तरोन्नतिलाई प्राथमिकता दिइएको छ। 

त्यस्तै, आर्थिक विकासतर्फ एक स्थानीय तह एक औद्योगिक ग्राम स्थापना योजनालाई अगाडि बढाउने, रोल्मा तिखेचुली पर्यटन पूर्वाधार विकास योजना, गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम तथा साना सिँचाइ प्रवर्द्धन कार्यक्रमलाई नीति तथा कार्यक्रममा प्राथमिकता दिइएको छ। 

सामाजिक विकासतर्फ म्यालपोखरी बृहत् खानेपानी योजना, बाँझकटेरी बृहत् खानेपानी योजना, भनभने स्वास्थ्यचौकी निर्माण योजना, अग्लुङ मावि, बालविकास निमावि, रियाले मावि र कंकेदेउराली आधारभूत विद्यालय भवन निर्माण, ल्यान्डफिल साइट निर्माण, पानी भरण पोखरीहरूको निर्माण पनि प्राथमकितामा परेका छन्। 

एक वडा एक पार्क निर्माण नीति अवलम्बन गरी हरेक वडामा पार्कहरूको निर्माण क्रमशः गर्दै लैजाने, लघु उद्यम विकास कार्यक्रम मेडपालाई प्रभावकारी रूपमा सञ्चालन गर्न एक वडा एक उद्यमको रूपमा कार्यक्रम सञ्चालन गर्ने, विद्यालयमा शिक्षक रिक्तता हुने अवस्था सिर्जना हुन नदिन तहगत रूपमा शिक्षक बैंक खडा गर्ने गाउँपालिकाको योजना छ। 

एक विद्यालय एक नमुना शिक्षक घोषणा गर्न विद्यालयलाई उत्प्रेरित गर्ने, विद्यालय खुलेको दिन पूर्ण रूपमा उपस्थित हुने शिक्षक तथा विद्यार्थीलाई प्रोत्साहन गर्ने, एक वडा एक नमुना विद्यालय कार्यक्रमलाई निरन्तरता दिने, अंग्रेजी, गणित र विज्ञान विषयको सिकाइ उपलब्धि वृद्धि गर्न विद्यालयलाई प्रोत्साहन गर्ने नीति तथा कार्यक्रम गाउँपालिकाको छ। 

गाउँपालिकाका मुख्य उपलब्धि

गाउँ सभामा गाउँपालिका प्रमुख महेन्द्रबहादुर कुँवरले गाउँपालिकाले प्राप्त गरेका मुख्य उपलब्धिहरू पनि पेस गरेका थिए।

यस गाउँपालिकामा हालसम्म ३८ किमि ग्राभेल सडक, करिब तीन सय ५५ किमि धुले तथा कच्ची सडक निर्माण भएको छ। गाउँपालिकाका सबै वडामा सडकको पहुँच पुगेको छ। गाउँपालिकाले विभिन्न बस्ती र पर्यटकीय क्षेत्रहरूमा समेत गाडी चल्ने सडक पूर्वाधार विस्तार गरेको जनाएको छ।

गाउँपालिकाबाट अन्य गाउँपालिका तथा प्रमुख राजमार्गसम्मको सडक पहुँचलाई सुदृढ बनाइएको गाउँपालिका उपप्रमुख सरिता खड्काले बताइन्। 

त्यस्तै, सिँचाइतर्फ गाउँपालिकाका विभिन्न वडामा गरी करिब एक हजार एक सय हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको छ। त्यस्तै, सामाजिक विकासतर्फ गाउँपालिकामा रहेको १५ शय्याको अस्पताल निर्माण भइरहेको, कार्यालयबाट प्रवाह हुने सार्वजनिक सेवालगायत शिक्षा, स्वास्थ्य, बैंकिङ कारोबार आदिमा सूचना प्रविधिको प्रयोग भएको र विकासका विभिन्न क्षेत्रमा महिला तथा युवाहरूको संलग्नता बढेको खड्काले बताइन्। 

त्यस्तै, युवाहरूको खेलकुदमा संलग्नता बढाउन खेलकुद मैदान निर्माण तथा विभिन्न खेलकुदका कार्यक्रम भएका छन्।

त्यस्तै, आर्थिक विकासतर्फ हालसम्म गाउँपालिकामा करिब ५० किमि कृषि सडक निर्माण भएको, सातवटा तरकारी संकलन केन्द्र, एउटा स्थानमा कृषि हाटबजार र चारवटा आलुस्टोरको निर्माण भई सञ्चालनमा रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शालिकराम पन्थीले जानकारी दिए।

कृषि सहकारी संस्थालाई व्यावसायिक कृषि तथा पशुपालनका क्षेत्रमा लगानी गर्न उत्प्रेरित गरिएको, गाउँपालिकाभित्र रहेका पर्यटकीय स्थलहरूको संरक्षण र प्रवर्द्धन गर्ने कामलाई व्यवस्थित रूपमा कार्यान्वयनमा ल्याएको छ।

त्यस्तै, गाउँपालिकाले आठवटा ऐन, चार नियमावली, ४८ कार्यविधि र पाँच मापदण्ड तर्जुमा गरी कार्यान्वयनमा ल्याएको प्रमुख प्रशासकीय अधिकृत पन्थीले बताए। यस गाउँपालिकाले गत आर्थिक वर्षको स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा ९०.५ अंक प्राप्त गरेको थियो। त्यस्तै, वित्तीय सुशासन जोखिम मूल्यांकनमा ८९.५ अंक प्राप्त गरेको थियो।