१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २४ सोमबार ११:४o:oo
Read Time : > 2 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

यसकारण नियमित मर्निङवाक

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार ११:४o:oo

व्यस्त र हतारो जीवनशैली तथा अस्वस्थ खानपानको असर धेरै मानिसको स्वास्थ्यमा देखिइरहेको हुन्छ । दैनिक रूपमा केही समय निकालेर शारीरिक गतिविधिमा संलग्न रहँदा स्वस्थ रहन सहयोग मिल्छ । शारीरिक रूपमा सक्रिय रहनका लागि व्यायाम नै गर्नुपर्छ भन्ने छैन, बिहान हिँड्न थाल्दा पनि हुन्छ । मर्निङवाकले स्वस्थ र शान्त रहन सहयोग गर्छ ।

विरासन राजभण्डारी, वरिष्ठ फिजियोथेरापिस्ट काठमाडौं फिजियोथेरापी क्लिनिक 
विरासन राजभण्डारी, वरिष्ठ फिजियोथेरापिस्ट काठमाडौं फिजियोथेरापी क्लिनिक 

यसले शरीर तथा मस्तिष्क दुवैलाई रिफ्रेस गराउँछ । तपाईंले बिहान चाल्ने हरेक पाइलाले शरीरलाई जगाइराखेको हुन्छ, रक्तसञ्चार राम्रो हुन्छ । शरीरको लचकता बढेर जान्छ । शरीरमा अक्सिजनको पर्याप्त आपूर्ति हुन्छ र मस्तिष्क स्पष्ट रहन्छ । कार्डियोभास्कुलर एक्सरसाइज हुन्छ । मांसपेशीहरू सक्रिय हुन्छन् । ढाड दुख्ने, उच्च रक्तचाप, मधुमेहजस्ता व्यायामको कमीले देखिने समस्याहरूबाट बच्न सकिन्छ ।

यसर्थ, बाहिर फ्रेस हावामा हिँड्नु शरीरका लागि धेरै फाइदा हुन्छ । 

उमेरअनुसारको फाइदा 
- मर्निङवाक सबै उमेरसमूहका व्यक्तिले गर्दा हुन्छ । तर, बालबालिकालाई मर्निङवाक आवश्यक नपर्ने विभिन्न अध्ययनले देखाएका छन् । किनकि, उनीहरू चकचक गरिरहन्छन् र लचिलो हुन्छन्, जसकारण आवश्यक शारीरिक कसरत पुगिरहेकै हुन्छ । शारीरिक गतिविधिमा विशेष ध्यान दिनुपर्छ । यदि व्यायाम गर्न मन छैन भने योगा वा मर्निङवाक गर्दा हुन्छ । तर, कुनै न कुनै शारीरिक अभ्यास गर्नुपर्छ । विशेषगरी, अफिसमा बसेर काम गर्नेहरूले शारीरिक कसरतका लागि कम्तीमा दैनिक एक घन्टा छुट्याउनु राम्रो हुन्छ । यसले उनीहरूको रक्तसञ्चारमा सुधार ल्याउने, मुड राम्रो बनाउने र मस्तिष्कलाई ऊर्जाशील बनाउने काम गर्छ । बिहान केही समय हिँड्दा दिनभर सकारात्मक ऊर्जा मिल्छ । 

- ज्येष्ठ नागरिकहरूलाई हेभी व्यायाम गर्न गाह्रो हुन्छ । यस उमेरमा मुटु, उच्च रक्तचाप, हाडजोर्नी, ढाड दुख्नेलगायत विभिन्न समस्या देखिएका हुन सक्छ । यसबाट बच्न वा यसको असर कम गर्न पनि योग वा मर्निङवाक गर्नु राम्रो हुन्छ । 

- मर्निङवाकले सिर्जनशीलता पनि बढाउँछ । लयबद्ध रूपमा हिँड्ने, प्रकृतिको सामीप्यमा रहनेलगायत कार्य नियमित गर्नाले मस्तिष्कलाई शान्त रहन्छ र नयाँ योजनाहरू फुर्छन् ।

शारीरिक फाइदा 
- वाकिङ गर्दा शरीरमा फ्याट कम हुन्छ । जसले गर्दा कोलेस्ट्रोल, ट्राइग्लिसेराइडसम्बन्धी समस्या कम भएर जान्छ । 
- वाकिङबाट हाड–जोर्नी र स्पाइनको समस्यामा पनि फाइदा मिल्छ । ढाडमा समस्या भएका मान्छेले चाहिँ समथर ठाउँमा हिँड्नु राम्रो हुन्छ ।
- सुगर कन्ट्रोल हुन्छ । वाकिङको सबैभन्दा ठूलो फाइदा फिटनेस हो । नियमित हिँड्नाले तौल नियन्त्रण भएर जान्छ । 
- रोगप्रतिरोधात्मक क्षमताको विकास हुन्छ । मोटोपनका कारण लाग्ने रोगहरू कम हुन्छ । 
- खुट्टाको मसल्स पनि बलियो बनाउँछ । शरीरलाई सन्तुलित बनाउँछ । 
- बिहान स्वच्छ हावामा हिँड्दा हृदय र फोक्सोलाई पनि फाइदा पुग्छ । 

मानसिक फाइदा 
- नियमित हिँड्नाले तपाईंको दिनको सुरुवात नै राम्रो हुन्छ । 
- ऊर्जाशील भइन्छ । मानसिक तनाव कम भएर जान्छ । निद्रा राम्रो लाग्छ । 
- मानिसको आत्मविश्वास बढेर जान्छ । मानिसमा सिर्जनशीलता पनि बढेर जान्छ ।

हेल्दी डाइटमा ध्यान दिने 
वाकिङसँगै हेल्दी खानेकुरा खानुपर्छ । स्वस्थ रहन खानपानमा पनि ध्यान दिनुपर्छ । विशेषगरी, चिल्लो खानेकुरा बन्द गर्नुपर्छ । बाहिर बनेका खानेकुरा पनि खानुहुँदैन । सकेसम्म घरमा बनाएका खानेकुरा खानुपर्छ । 

खानेकुरामा चाहिँ सचेत नहुने तर हिँड्ने मात्रै गरेर भने स्वास्थ्यलाई फाइदा गर्दैन । पर्याप्त पानी पिउनुपर्छ । सागसब्जी, मौसमी फलफूल अत्यधिक खाने गर्नुपर्छ । 

झुक्किएर पनि नगर्नुस् यी काम 
बिहान उठ्नासाथ स्मार्ट फोन चलाउने बानी कतिपयमा हुन्छ । यो लत त्याग्नुस् । किनकि, सामाजिक सञ्जालमा आउने कतिपय नकारात्मक खबरले तपाईंको मुड अफ गरिदिन्छन् र रुटिन बिगार्छन् । जसकारण, तपाईंको ध्यान अन्यत्र भड्किन सक्छ । त्यस्तै, टिभी हेर्ने काम पनि नगर्नुस् । टिभीमा आउने नकारात्मक समाचारहरूले तपाईंलाई अपसेट गर्न सक्छन् । तपाईं नेगेटिभ इनर्जीबाट बच्न जरुरी छ । बरु, बिहानको समय तपाईंले आफूलाई ऊर्जा दिनेखाले संगीत वा प्रेरणादायी प्रवचन सुन्न सक्नुहुन्छ । उठ्नासाथ मनतातो पानी पिउनु राम्रो मानिन्छ । त्यसपछि चिया वा कफीको चुस्की लिएर तपाई सीधै मर्निङवाकमा निस्कन सक्नुहुन्छ । 

ad
ad