मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर १७ आइतबार
  • Sunday, 03 December, 2023
नयाँ पत्रिका काठमाडाैं
२०८० असार ९ शनिबार ११:५३:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मकवानपुर र पोखरामा भीषण वर्षा, बाढीपहिरोको जोखिम बढ्यो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० असार ९ शनिबार ११:५३:००

मनसुनी प्रणाली फैलिएसँगै देशका धेरैजसो क्षेत्रमा वर्षा भएको छ। पूर्व र मध्य नेपालमा केन्द्रित मनसुनी वर्षा तराईमा पनि हुन थालेपछि धान रोपाइँ पनि सुरु हुन थालेको छ। तर, मुलुकका केही क्षेत्रमा भने धेरै भारी (भीषण) वर्षा भएको छ। 

जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४ घन्टामा कास्कीको पोखरामा रहेको वर्षा मापन केन्द्रमा १४४ र मकवानपुरमा १३९ मिलिमिटर वर्षा मापन भएको छ। पोखरामा पछिल्लो १२ घन्टामै ९९ मिलिमिटर वर्षा रेकर्ड भएको छ। 

विभागका अनुसार पछिल्लोपटक बागमती र गण्डकी प्रदेशकेन्द्रित वर्षा भएको छ। कास्कीका अन्य क्षेत्रमा पनि ६० मिलिमिटरभन्दा माथि वर्षा भएको छ भने त्यस आसपासका जिल्ला लमजुङ, म्याग्दी, तनहुँ, गोरखा क्षेत्रमा पनि मध्यम वर्षा भएको छ। 

दोलखा, सिन्धुली, रामेछाप, सिन्धुपाल्चोक, काभ्रे, ललितपुरको गोदावरी क्षेत्रमा पनि ६० देखि ७० मिलिमिटरसम्म वर्षा रेकर्ड भएको छ। पूर्वी नेपालको भोजपुरमा १००.१ मिलिमिटर वर्षा हुँदा पछिल्लोपटक बाढीपहिरोको चपेटामा परेको संखुवासभामा ८७.८ मिलिमिटर वर्षा मापन भएको छ। पूर्वी तराईमा भने छिटफुट वर्षा मात्र भएको छ। 

मधेस प्रदेशको बारामा ७३ मिलिमिटर वर्षा रेकर्ड हुँदा त्यस क्षेत्रका अन्य जिल्लामा हल्का वर्षा मात्र भएको छ। तर, बागमतीको चितवनमा भने ६४.४ मिलिमिटर वर्षा रेकर्ड भएको छ। पाल्पामा ६३.८ मिलिमिटर वर्षा हुँदा त्यसभन्दा पश्चिमका पहाडी जिल्लामा २० मिलिमिटरभन्दा कम नै वर्षा रेकर्ड भएको छ। तर, सुदूरपश्चिमको बाजुरामा भने ५५.२ मिलिमिटर वर्षा रेकर्ड भएको छ। 

सुदूरपश्चिमका तराई क्षेत्रमा भने फाटफुट वर्षा भएको छ। लुम्बिनीका पश्चिम तराई बाँकेमा २२.४ मिलिमिटर वर्षा रेकर्ड हुँदा बर्दियामा भने हल्का वर्षा मात्र भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वायुसँगै भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीका कारण वर्षा भइरहेको हो । यद्यपि, झरी भने पर्न सकेको छैन। 

आज दिउँसो गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भीषण वर्षाको सम्भावना छ। राति देशका धेरै स्थानमा वर्षाको आकलन गरेको महाशाखाले बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका एक-दुई स्थानमा भीषण वर्षाको चेतावनी दिएको छ।
 
वर्षाका कारण डुबान, बाढीपहिरोको जोखिम हुने भन्दै सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। आज काभ्रे, सिन्धुली, कास्की, पर्वत, अर्घाखाँची, प्युठान, रोल्पा, दाङ, डडेल्धुरा, डोटी, बाजुरा, बैतडी, बझाङ र दार्चुला आसपास भएर बहने तथा साना नदीमा आकस्मिक बहावको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। बारा, पर्सा, चितवन, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), रूपन्देही, कपिलवस्तु, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर क्षेत्रका साना नदीमा पनि बहाव बढ्न सक्ने आकलन गरिएको छ।