
सनराइज बैंकले महिला स्वास्थ्य र महिलाहरूको सशक्तीकरणका लागि विद्यालयमा अध्ययनरत छात्राहरू तथा कार्यरत महिलालाई लक्षित गरी स्यानिटरी प्याड भेन्डिङ मेसिन (प्याड एटिएम) प्रदान गरेको छ । विद्यालयमा व्यवस्थित शौचालय र स्यानिटरी प्याडको व्यवस्था नहुँदा छात्राहरू विद्यालय नजाने वातावरण सिर्जना नहोस् भन्ने उद्येश्यले बैंकले प्याड एटिएम प्रदान गरेको हो ।
बैंकले काठमाडौंको शान्ति विद्यागृह माध्यमिक विद्यालयका प्रधानाध्यापक शिवकुमारी बराल घिमिरेलाई बैंकका सहायक महाप्रबन्धक हरिप्रसाद आचार्यले प्याड एटिएम हस्तान्तरण गरेको जनाइएको छ । त्यस्तै, ललितपुरको महेन्द्र भृकुटी माध्यमिक विद्यालयलाई पनि मेसिन हस्तान्तरण गरेको जनाएको छ । हालसम्म बैंकले मोलुङ, किन्जा, डुम्रे, देउराली, बाग्लुङ, वालिङ, कावासोती, बर्दिवास, तेह्रथुम, वीरेन्द्रनगरलगायतका ठाउँमा प्याड एटिएम हस्तान्तरण गरिसकेको जनाएको छ ।
यो सहयोगले एउटा सिक्का हाल्दा एउटा प्याड आउने ब्याट्री ब्याकअपसहितको उक्त मेसिनले छात्राहरू तथा विद्यालयमा कार्यरत महिलाहरूलाई आवश्यक पर्दा सजिलै प्याड लिन सकिने वातावरण बनेको बैंकले बताएको छ ।