पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक अन्तर्राष्ट्रिय उडानको सफल अवतरण भएको छ । बुधबार बिहान चीनको छेन्दुबाट सिचुवान एयरलाइन्सको न्यारोबडी ए ३१९ जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो ।
चीनबाट उडेको एयरलाइन्स राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित एक सय ३० जना यात्रु बोकेर छेन्दुबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आएको हो । विमानले पोखराको फेवातालमा यही असार ८ र ९ गते आयोजना हुन लागेको नेपाल चाइना ड्रागन बोट रेस फेस्टिभलमा सहभागी हुने खेलाडी बोकेको थियो ।
अध्यक्ष तिमिल्सिनासहित सातजना सांसद, अध्यक्षका प्रमुख स्वकीय सचिव गोविन्द अकेला पौडेल र उपसचिव रामहरि थापा जेठ २७ गते चीन भ्रमणमा गएका थिए । फर्कँदा उनीहरू यही विमानमा आएका हुन् ।
अंग्रेजी नयाँ वर्षबाट उडान सुरु भएको उक्त विमानस्थलमा अन्तर्राष्ट्रिय उडान भने हुन सकेको थिएन । यो जहाज करिब दुई घन्टा पोखरा विमानस्थलमा रहेर बिहान ११ बजे काठमाडौं हुँदै चीन फर्किनेछ ।