
नेपाल आयल निगम लिमिटेडले मंगलबार रातिबाट लागू हुने गरी हवाई इन्धनको मूल्य घटाएको छ ।
निगमका अनुसार आन्तरिक वायु सेवाले प्रयोग गर्ने हवाई इन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँ र अन्तर्राष्ट्रिय उडान भर्ने विमान कम्पनीले प्रयोग गर्ने हवाई इन्धनको मूल्य प्रतिलिटर २६ रुपैयाँले घटाइएको हो ।
मूल्य घटेपछि आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर १ सय ५० रुपैयाँ र बाह्य हवाई इन्धनको मूल्य प्रतिलिटर एक सय ५१ रुपैयाँ कायम भएको छ । निगमले ठूलो दरमा मूल्य घटाएपछि चाँडै हवाई भाडासमेत घट्नेछ ।
सामान्यतया प्रतिलिटर पाँच रुपैयाँभन्दा बढी दरमा हवाई इन्धनको मूल्य घटबढ हुनासाथ हवाई भाडादरसमेत समायोजन हुने गरेको छ । गत १८ जेठमा नै निगमलाई इन्डियन आयल कर्पोरेसन (आइओसी) ले हवाई इन्धनको नयाँ मूल्य पठाउँदा घटाएर पठाएको थियो ।
सोलगत्तै निममले मूल्य घटाएर उपभोक्तालाइ राहत दिनुपर्ने भए पनि प्रतिलिटर ३ रुपैयाँभन्दा बढी दरले मूल्य घटबढ गर्दा सञ्चालक समितिबाट निर्णय गर्नुपर्ने व्यवस्था भएको प्रवक्ता मनोज ठाकुरले बताए । उनका अनुसार मंगलबार सञ्चालक समिति बैठक बसेपछि मूल्य घटाउने निर्णय गरिएको हो ।