
नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वसभामुख सुवास नेम्वाङले सरकारले संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट पास हुन नदिने बताएका छन्।
शनिबार पार्टीका मधेस प्रदेश सभा सदस्यहरूलाई प्रशिक्षण दिन जनकपुर पुगेका उनले यस्तो बताएका हुन्। उनले सरकारले ल्याएको बजेट भेदभावपूर्ण रहेको जिकिर गर्दै संसदबाट कुनै पनि हालतमा पास हुन नदिने बताए।
‘भौतिक मन्त्रालयमा ५१ प्रतिशत झन्डै ५ अर्बको बजेट । त्यसमा ३ अर्ब मात्रै थियो रे माग्दा। अर्थमन्त्रीले उदारतापूर्वक ५ अर्ब पुर्याइदिनुभयो रे । के भयो यो भनेको त ५१ प्रतिशत ४ जिल्लामा छ । यो बजेट देशका लागि हो ! यसरी देशका लागि बजेट बनाइन्छ ! संघीय संसदमा सत्तापक्षकै सांसदहरूले बोलेको सुन्दा सत्तापक्ष की प्रतिपक्ष हो थाहा हुँदैन । भेदभावविरुद्धको आगो त्यहाँ छ । यो बजेट पास गर्न दिइँदैन,’ उनले भने ।
नेम्वाङले सरकारले दुई दिनपछि (असार ३) गतेबाट अनिवार्य अवकासमा जान लागेका कर्मचारीलाई मुख्यसचिव बनाउने र कार्यकाल बाँकी रहेका मुख्यसचिवलाई पदबाट राजीनामा दिन बाध्य बनाएको बताए। मुख्यसचिवलाई सुरक्षा परिषदमा लगेर थन्क्याउनु देशको रक्षा र विकासका लागि हुन नसक्ने उनको भनाइ छ।