१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार १२:o२:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

मर्निङवाकमै नागरिकता लिएर सिडिओ सेवाग्राहीको आँगनमा 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १२:o२:oo

बिहानको पहेँली घामले बिस्तारै भाडगाउँ छुँदै थियो। एक हुल मान्छे घरमा पुगेपछि बलेनीमा बसेकी ६३ वर्षीया टोपकला रानामगर छक्क परिन्। 

मर्निङवाकमै भएकाले प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीसहितका कर्मचारी सरकारी पोसाकमा थिएनन्। सिडिओ आउने कुरा परिवारलाई थाहा भए पनि टोपकलालाई पत्तो थिएन। 

जब कर्मचारीले नागरिकता प्रदान गर्ने प्रक्रिया सुरु गरे, तब उनले नागरिकता पाउँदै गरेको महसुस गरिन्। तैपनि रानामगरलाई नागरिकता पाउनुको खुसीभन्दा रोगले च्यापेको पीडा धेरै थियो। 

प्रमुख जिल्ला अधिकारी केसी र प्रशासकीय अधिकृत नरेश गिरीले स्थानीय वडाध्यक्ष बाबुराम खत्री र कांग्रेस नेता धर्म पाण्डेयसहितको रोहवरमा टोपकलालाई नागरिकता प्रदान गरे।

टोपकला ६३ वर्षसम्म अनागरिक भएर नागरिकताबाट वञ्चित हुनुपर्‍यो। उनका सातजना छोराछोरीले पनि नागरिकता बनाए। तर, ०१७ सालमा जन्मिएकी टोपकला वर्षौँदेखि अनागरिक भएर रोगसगै सौदाबाजी गरिरहेकी थिइन्। उनलाई २४ वर्ष पहिले टिबी रोग देखियो। परिवारले उपचार गरे। 

बिस्तारै सुगर र प्रेसर पनि थपियो। पछिल्लो समय प्यारालाइसिस भएर एक हर नै नचल्ने भएको छ। श्रीमान् पूर्णबहादुर रानाका अनुसार सम्भव भएसम्मको उपचार गरियो।

तर, नागरिकता बनाउन ध्यान पुगेन्। ‘२४/२५ वर्षदेखि उपचारमै ध्यान भएकाले नागरिकतामा जोड गरिएन। पछिल्लो समय आफैँलाई नागरिकताको आशा जाग्यो,’ उनले भने, ‘घरमै आएर सिडिओले नागरिकता प्रदान गरेपछि निकै खुसी छौँ।’

एकाबिहानै सिडिओ आफैँ गाउँघरमै पुगेर नागरिकता प्रदान गर्नुले राज्यसँग नागरिकको सम्बन्ध नजिक र प्रगाढ भएको महसुस हुने स्थानीयसमेत रहेका नेपाली कांग्रेसका जिल्ला कार्यसमिति सहसचिव धर्म पाण्डेले बताए। उनले सदरमुकामनजिक पनि वर्षौँदेखि अनागरिक भएर बस्नु दुःखद भएको बताए।
 
‘केही समय पहिले भेट्दा मेरो मृत्युदर्ता गर्ने होइन र भनेर नागरिकताको कुरा उठाउनुभयो। त्यसपछि परिवार र वडासँग समन्वय गरेर प्रशासनको ध्यानाकर्षण गरायौँ,’ उनले भने, ‘सिडिओ आफैँले घरमै पुगेर नागरिकता दिएर पुन्य कर्म देखाउनुभयो।’

प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले अपांगता भएकै कारण प्रशासन आउन नसकेर नागरिकताबाट वञ्चित भएका व्यक्तिहरूलाई सहजीकरण गरिएको बताए। 

उनले पहिलेजस्तै टोली पठाएर नागरिकता दिने व्यवस्था नरहेको र सबै ठाउँमा संवेदनशील फाइलहरू बोकेर पुग्न मुस्किल हुने भएकाले जटिल समस्यामा आफैँ पुगेर नागरिकता प्रदान गरिएको केसीले बताए।

उनले दिउँसो कार्यालय समयमा हिँड्दा सयौँ सेवाग्राहीको सेवा प्रवाह प्रभावित हुने भएकाले नजिकको ठाउँमा मर्निङवाकमै नागरिकता दिएको बताए। जिल्लामा धेरै कार्यालय अपांगमैत्री छैनन्। जिल्ला प्रशासनमा दैनिक सयौँ सेवाग्राही आउँछन्। तर, कार्यालयमै विभिन्न फाँटमा पुग्न अपांगता भएकाहरूलाई मुस्किल पर्छ। 

सोही अवस्थालाई मध्यनजर गर्दै गत मंगलबार प्रमुख जिल्ला अधिकारी केसीले कार्यालयअगाडि गाडीमै पुगेर दुई अपांगता भएकालाई समेत नागरिकता प्रदान गरे। 

मुसिकोट नगरपालिका- १ की पार्वती थापामगर र वडा नम्बर ५ का निर्मल खरेललाई केसीले गाडीमै पुगेर नागरिकता प्रदान गरेका हुन्। मुसिकोटमा दुवैजना जन्मजात पूर्ण अपांग हुन्। शारीरिक अवस्थाका कारण समयमै नागरिकता बनाएपछि सरकारले प्रदान गर्ने सामाजिक सुरक्षा भत्ताबाट लाभान्वित हुन पाएकोमा खुसी भएका छन्।
 
गत १६ चैतमा चैतेदसैँका दिन धुर्कोट गाउँपालिका– ६ का २८ वर्षीय अपांग सुरेन्द्र थापालाई पनि तत्कालीन प्रमुख जिल्ला अधिकारी सागरमणि पाठक घरमै पुगेर नागरिकता प्रदान गरेका थिए। 

ad
ad