१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ ३२ बिहीबार
  • Wednesday, 26 June, 2024
२o८o जेठ ३२ बिहीबार o९:५२:oo
Read Time : > 3 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

गुल्मीमा ५८.४ प्रतिशत नागरिक अझै स्वास्थ्य बिमाको पहुँचबाहिर

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८o जेठ ३२ बिहीबार o९:५२:oo

भुइँमान्छेको पहुँचमा छैन स्वास्थ्य बिमा

मदाने गाउँपालिमा– ४ का ४७ वर्षीय विनोद क्षेत्रीको परिवारले महिनामा सरदर चार हजार औषधिउपचारमा खर्च गर्छ । विपन्न परिवारलाई जोहोसँगै उपचारको पिरलो छ । मजदुरीबाट आएको पैसामा मिठो–मसिनो नकटाए उपचार हुँदैन । क्षेत्रीलाई अहिलेसम्म स्वास्थ्य बिमाबारे अत्तोपत्तो छैन । ‘भुइँमान्छेलाई बिमा कहाँबाट जानकारी होस् । ऋणधन गरेर उपचार गरिरहेको छु,’ क्षेत्रीले भने, ‘गाउँमा न सचेतना छ न सुविधा ।’ 

इस्मा गाउँपालिका– ४ की रञ्जना केसी पनि आफूसहित परिवारको उपचारमा वार्षिक हजारौँ खर्च गर्छिन् । तर, ३५ सयको बिमा गरेकी छैनन् । प्रत्येकपटक सदरमुकाम आउँदा उपचारसहित यातायात र खाना खर्च तीन–चार हजारले पुग्दैन । स्वास्थ्य बिमाबारे ज्ञान नहुँदा निरन्तर खर्च गरिरहेकी छिन् । ‘अब पैसा खोजेरै भए पनि बिमा गराउँछु । अहिलेसम्म कोही–कसैले केही भनेनन्,’ उनले भनिन्, ‘गाउँमा मजस्तै कैयौँ छन् ।’ 

क्षेत्री र केसी प्रतिनिधि पात्र हुन् । गुल्मी अस्पतालमा दैनिक सयौँ बिरामीको भिड हुन्छ । त्यो भिडमा हुनेखाने व्यक्तिको हातमा बिमा कार्ड देखिन्छ । तर, गाउँबाट आएका गरिब र विपन्न व्यक्ति औषधि र उपचारका लागि मुटु गाँठो पारेर पैसा निकाल्छन् । सरकारले नागरिकको उपचारमा सहजीकरण गर्न स्वास्थ्य बिमा कार्यान्वयनमा ल्याएको छ । तर, यो कार्यक्रममा वास्तविक भुइँमान्छेसम्म पुग्न नसकेको स्वयं बिमा बोर्डले बताउँदै आएको छ । 

एक लाखले गरे स्वास्थ्य बिमा
गुल्मी जिल्लामा ५८.४ प्रतिशत नागरिक अझै स्वास्थ्य बिमाको पहुँचबाहिर रहेका छन् । जिल्लामा अहिलेसम्म एक लाखभन्दा बढीले स्वास्थ्य बिमा गरेका छन् । स्वास्थ्य बिमा बोर्ड सम्पर्क शाखा कार्यालयका अनुसार तीन वर्षमा एक लाख नौ सय ९६ अर्थात् ४१.९६ प्रतिशत नागरिक स्वास्थ्य बिमामा आबद्ध भएका छन् । ४८ हजार ६ सय ७० जना पुरुष र ५२ हजार तीन सय ६ जना महिलाले स्वास्थ्य बिमा गरेका छन् । ०७८ सालको जनजगणनाअनुसार जिल्लाको जनसंख्या दुई लाख ४६ हजार आठ सय ३६ रहेको छ । 

गुल्मी जिल्लामा एक लाखभन्दा बढीले स्वास्थ्य बिमा गरेका छन् । स्वास्थ्य बिमा बोर्ड सम्पर्क शाखा कार्यालयका अनुसार तीन वर्षमा एक लाख नौ सय ९६ जना स्वास्थ्य बिमामा आबद्ध भएका छन् । ४८ हजार ६ सय ७० जना पुरुष र ५२ हजार तीन सय ६ जना महिलाले स्वास्थ्य बिमा गरेका छन् । जसमा साधारण अर्थात् शुल्क तिरेर ७८ हजार पाँच सय ९४ जनाले बिमा गराएका छन् । 

ज्येष्ठ नागरिक, एचआइभी संक्रमित, कुष्ठरोगी र जटिल खालको क्षयरोगीको नि:शुल्क स्वास्थ्य बिमा हुने गरेको छ । ज्येष्ठ नागरिक १४ हजार सात सय ५५, एचआइभी संक्रमित चार सय ४७, ‘क’ वर्गका तीन हजार चार सय ४६, कुष्ठरोगी १५ र जटिलखालको क्षयरोग लागेका २० जनाले निःशुल्क स्वास्थ्य बिमाको सुविधा लिएको स्वास्थ्य बिमा बोर्ड सम्पर्क शाखा कार्यालय गुल्मीका दर्ता अधिकारी सुवास घिमिरेले जानकारी दिए । त्यस्तै, ५० प्रतिशत छुटमा तीन हजार सात सय १९ महिला स्वास्थ्य स्वयंसेविकाले स्वास्थ्य बिमा गराएको दर्ता अधिकारी घिमिरेले बताए । 

सबैभन्दा कम मदाने गाउँपालिकामा
जिल्लाका १२ स्थानीय तहमध्ये मदाने गाउँपालिकाका नागरिकले सबैभन्दा कम स्वास्थ्य बिमा गराएको पाइएको छ । मदाने गाउँपालिकामा दुई हजार दुई सय १४ जनाले बिमा गरेका छन् । रेसुंगा नगरपालिकामा सबैभन्दा बढी १८ हजार चार सय २१ जनाले बिमा गरेका छन् । सत्यवती गाउँपालिकाका १३ हजार तीन सय २३ जनाले स्वास्थ्य बिमा गरेका छन्।

त्यस्तै, रुरु क्षेत्र गाउँपालिकामा ११ हजार नौ सय ७२, छत्रकोट गाउँपालिकामा १० हजार दुई सय ३५, चन्द्रकोटमा पाँच हजार एक सय ३४, गुल्मी दरबारमा आठ हजार चार सय ९७, कालीगण्डकीमा पाँच हजार ६ सय ५८, इस्मामा पाँच हजार चार सय एक, धुर्कोटमा सात हजार चार सय ९१, मुसिकोट नगरपालिकामा ६ हजार एक सय ५३ र मालिका गाउँपालिकामा ६ हजार चार सय ६९ जनाले स्वास्थ्य बिमा गरेका छन् । 

स्थानीय तहद्वारा बिमा अनुदान
जिल्लाका केही स्थानीय तहले नागरिकलाई स्वास्थ्य बिमामा उत्प्रेरित गरिरहेका छन् । चन्द्रकोट गाउँपालिकाले गत वर्षकाे नीति तथा कार्यक्रममै घोषणा गरेर हरेक नागरिकको स्वास्थ्य बिमामा ५० प्रतिशत प्रिमियम गाउँपालिकाले व्यहोर्ने निर्णय गरेर कार्यान्वयनमा ल्याएको छ । 

मंसिरदेखि अहिलेसम्म दुई सय १५ परिवार गाउँपालिकाको सुविधाबाट लाभान्वित भएको बिमा बोर्डको सम्पर्क शाखा कार्यालयले जनाएको छ । दुई सय १५ जनाको ५० प्रतिशत प्रिमियम अर्थात् तीन लाख ८५ हजार दुई सय चन्द्रकोट गाउँपालिकाले भुक्तानी गरेको छ । 

त्यस्तै, रेसुंगा नगरपालिका– ४ ले २८ परिवारको नि:शुल्क स्वास्थ्य बिमा गराएको छ । वडाले एक लाख बजेट विनियोजन गरेर बिमाको लाभ आवश्यक रहेका २८ घरपरिवारको स्वास्थ्य बिमा गराएको हो । परिवार संख्याको आधारमा तीन हजार पाँच सयदेखि चार हजार दुई सयसम्म प्रतिपरिवार बिमा रकम वडाले भुक्तानी गरेको छ ।

गुल्मी  जिल्लाका पाँच स्वास्थ्य संस्थामा स्वास्थ्य बिमा कार्यान्वयनमा रहेको छ । नागरिकले जिल्लाभित्र गुल्मी अस्पताल तम्घाससहित धुर्कोट, श्रृंगा, जुहाङ र रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट बिमाको सुविधा पाउँछन् । 

बाहिर रेफर गरेर उपचार गर्न जानेहरू पनि छन् । तर, बाहिरका ठूला अस्पतालमा रेफर हुनेहरूले राम्रो सुविधा नपाउने गरेको गुनासो बढिरहेको छ । बाहिरका अस्पतालमा पालो नपाउने, पाए पनि राम्रो उपचार नहुनेलगायतका गुनासो आउने गरेका छन् । जिल्लामा दुई दर्ता अधिकारी र ९३ वटै वडामा दर्ता सहयोगी रहेका छन् ।

बिमा बोर्ड आफैँ समस्यामा
जिल्लाको जनसंख्याको आधारमा अझै धेरै नागरिक स्वास्थ्य बिमाको पहुँचमा छैनन् । करिब साढे दुई लाख जनसंख्यामध्ये भर्खर एक लाखभन्दा बढीले मात्र बिमा गरेका छन् । त्यसमध्ये पनि बिमाको उद्देश्यअनुसारका कमभन्दा कम विपन्न नागरिक बिमाको पहुँचमा छन् । 

बिमा बोर्डको स्थायी संरचना र पर्याप्त जनशक्ति छैनन् । जसका कारण अस्पतालहरूको बिमाको अवस्था अनुगमन तथा निरीक्षणको अभाव रहेको स्वास्थ्य बिमा बोर्ड सम्पर्क शाखा कार्यालय गुल्मीका दर्ता अधिकारी सविन घिमिरेले जानकारी दिए । 

त्यस्तै जिल्लामा तीन हजार पाँच सय पनि उपलब्ध गराउन नसक्ने परिवारका कारण विपन्नलाई बिमाको पहुँचमा ल्याउन समस्या भएको छ । स्वास्थ्य बिमा बोर्ड सम्पर्क शाखा कार्यालय गुल्मीका दर्ता अधिकारी घिमिरेका अनुसार अति गरिब परिवारलाई नि:शुल्क बिमा गर्ने कार्यक्रम गुल्मीका कार्यान्वयनमा छैन । 

यो कार्यक्रम ओखलढुंगा, खोटाङ, ताप्लेजुङ र बर्दियालगायतका जिल्लामा रहेकाले गुल्मीमा आए विपन्नहरूको पहुँच अभिवृद्धि गर्न सकिने घिमिरेले बताए । जिल्लामा स्वास्थ्य बिमाबारे केही भ्रमहरू पनि छन् । बिरामी नपरेर एक लाख खर्च नभएपछि अर्को वर्ष नवीकरण नगर्ने, कहिलेकाहीँ बाहिर औषधि खरिद गर्न परे बढी आलोचना गर्ने र कहिलेकाहीँ बिमाको दुरुपयोग पनि हुने गरेको पाइएको छ । बिरामी नभई एकैचोटि धेरै परीक्षण गर्न खोज्ने र अनावश्यक औषधि खरिद गर्ने समस्या बढेको पाइन्छ ।

 
 

ad
ad
ad
ad