अर्थमन्त्री डा. प्रकाशशरण महतले विद्युतीय गाडीमा विगतमा भएको अव्यावहारिक भन्सार करलाई व्यावहारिक बनाउन विद्युतीय गाडीलाई पाँच वर्गमा छुट्याएर कर लगाएको बताएका छन्।
प्रतिनिधिसभामा ०८०/८१ को बजेटमा उठेका प्रश्नको जवाफ दिँदै उनले सय किलोवाटसम्म १० प्रतिशत र १०१ किलोवाट हुनेबित्तिकै ३० प्रतिशत भन्सार लगाउनु व्यावहारिक नभएकाले पाँच वर्गमा विभाजन गरी व्यावहारिक बनाइएको बताए।
यसअघि विद्युतीय सवारीसाधनलाई चार वर्गमा विभाजन गरी कर लगाइएको थियो। जसमा सय किलोवाटसम्म १० प्रतिशत भन्सार महसुल, सयदेखि दुई सय किलोवाटसम्मका ३० प्रतिशत भन्सार महसुल र ३० प्रतिशत अन्तःशुल्क लाग्ने व्यवस्था थियो।
साथै दुई सय किलोवाटदेखि तीन सय किलोवाटसम्म ४५ प्रतिशत भन्सार महसुल र ४५ प्रतिशत अन्तःशुल्क लाग्ने र तीन सय किलोवाटभन्दा माथिका सवारीसाधनमा ६० प्रतिशत भन्सार महसुल र ६० प्रतिशत अन्तःशुल्क लाग्ने व्यवस्था थियो।
अब ५० किलोवाटसम्मका लागि १० प्रतिशत मात्र भन्सार महसुल लाग्नेछ। साथै ५० देखि सय किलोवाटसम्म १५ प्रतिशत भन्सार महसुल र १० प्रतिशत अन्तःशुल्क लाग्ने र सय किलोवाटदेखि दुई सय किलोवाटसम्मका लागि २० प्रतिशत भन्सार महसुल र २० प्रतिशत अन्तःशुल्क लाग्ने छ । साथै दुई सय किलोवाटदेखि तीन सय किलोवाटसम्मका विद्युतीय सवारीसाधनमा लागि ४० प्रतिशत भन्सार महसुल र ४५ प्रतिशत अन्तःशुल्क लाग्नेछ। त्यसैगरी, सोभन्दा बढी क्षमताको हकमा साबिकबमोजिमकै दरमा लाग्ने व्यवस्था गरिएको अर्थमन्त्री डा. महतको भनाइ छ।
पेट्रोलियम पदार्थमा आधारित सबै क्षमताका सवारीसाधनमा समेत भन्सार दर एउटै रहेको उनको भनाइ छ । सवारीमा क्षमताको आधारमा अन्तःशुल्क दरमा मात्र सामान्य फरक रहेको उनले प्रस्ट पारे।