१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ २८ आइतबार
  • Sunday, 11 May, 2025
२o८o जेठ २८ आइतबार १४:३o:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

जलको नगरी जलेश्वरमै पानीकाे हाहाकार

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o जेठ २८ आइतबार १४:३o:oo

जलको नगरी मानिने जलेश्वरमा पानीको हाहाकार सुरु भएको छ। विगतमा पानीको समस्या नभएको जलेश्वरमा केही दिनयता भने प्रचण्ड गर्मीका कारण हातेकलहरू सुक्न थालेका छन्।

जलेश्वर नगरपालिकाको वडा नं. १,  २, ६ र ८ मा पानीको अत्यधिक समस्या देखिएको छ। बर्दिवासका केही वडा, एकडारा गाउँपालिका र पिपरा गाउँपालिकाका केही वडा, बलवा नगरपालिकाको पडौल र भंगहा नगरपालिका– ४ बनरा थारूटोललगायतका क्षेत्रमा समेत पानीको समस्या देखिएको छ।

जलस्तर तल झरेपछि यी स्थानहरूका हजारौँ चापाकल सुकेका छन्। खानेपानी संस्थानबाटै वितरण भएको अधिकांश धाराहरूमा समेत पानी आउन बन्द भएपछि जनजीवन थप कष्टकर भएको छ। तत्कालै प्राकृतिक रूपमै जलस्तरमा सुधार आउने सम्भावना कम देखिएकामा नेपाली सेना र जलेश्वर नगरपालिकाले पानी ट्यांकीमार्फत अस्थायी रूपमा समस्या समाधानको प्रयास गरिरहेका छन्।

यस वर्ष अपेक्षाकृत निकै कम वर्षा भएकाले समस्या आएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले बताए। जलेश्वर नगरपालिकामा मात्र १२ हजार तीन सय ८० घरधुरी छ। यीमध्ये अधिकांश घरधुरीले पानीको समस्या भोगिरहेका छन्। ‘यो प्राकृतिक विपत् भएकाले तत्काल पानीको अस्थायी व्यवस्थापनका लागि स्थानिय तह र अन्य सम्बन्धित निकायहरूसँग समन्वय गरिरहेका छौँ,’ प्रजिअ पहाडीले भने।

मधेस प्रदेश वन तथा वातावरण मन्त्रालयका भू तथा वातावरणविज्ञ बेचनकुमार महतो तापक्रम अझै यथावत् रहे समस्या अझै भयावह हुने बताउँछन्।

जलेश्वरमात्र नभई मधेस प्रदेशका प्रायः सबै स्थान बिस्तारै पानीको समस्याले आक्रान्त बन्दै जाने उनको भनाइ छ। पानीको अव्यवस्थित प्रयोग, बढ्दो जनसंख्या, वनजंगल फँडानी, जथाभावी ढलान आदिले समस्या आएको महतोले बताए।

भित्री तराईलाई सिँचित गर्नेदेखि समग्र तराईको जलस्तरसमेतलाई सन्तुलित बनाएर राख्ने चुरे विनाशका कारण यस्तो समस्या देखिएको उनले बताए। संरक्षणमा अपेक्षाकृत कदम नचाले आगामी दिनमा अझै समस्या बल्झिने उनले चेतावनी दिए। अवैध नदीजन्य पदार्थको उत्खननले समेत तराई क्षेत्रमा पानीको हाहाकार भएकाले यसलाई तत्काल रोक्नुपर्नेमा उनको जोड छ।