लुबाट पर्ने प्रभाव कम गर्न ठोस कार्ययोजना बनाउनुपर्नेमा जोड

शुक्रबार, २६ जेठ, २०८०
डिजिटल संस्करण

तातो हावा (लु)को लहर तथा जनजीवनमा परिरहेको प्रभाव कम गर्न सरकारले कार्ययोजना नै बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिइएको छ । 

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार आयोजना गरेको विपत् संवादमा सरकारीसँगै सम्बन्धित निकायको भूमिका र जिम्मेवारी स्पष्ट भएको मानवीय कार्ययोजना तथा विषयगत क्षेत्रको योजनाको आवश्यकता औँल्याइएको हो ।

तातो हावासम्बन्धी सरकारी निकायका अधिकारी एवं विज्ञबाट स्थानीय तहको आवश्यकता पहिचान गरी त्यहाँका जनप्रतिनिधिको नेतृत्वमा पूर्वतयारी एवं प्रतिकार्यका कार्य अगाडि बढाउन उपयुक्त हुने धारणा पनि व्यक्त भयो ।
 
जल तथा मौसम विज्ञान विभागका उपमहानिर्देशक अर्चना श्रेष्ठले यस वर्ष विभिन्न स्थानमा अधिकतम तापक्रम हालसम्मकै उच्च रहेको र यो अवस्था अझै केही दिन रहन सक्ने बताइन् ।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका वरिष्ठ मेडिकल सुपरिटेन्डन्ट डा. पवनकुमार साहले तातो हावाको लहरबाट सामान्यदेखि बेहोस भई ज्यान जानेसम्मका स्वास्थ्य जोखिम रहेको जानकारी दिए । 

नेपाल स्वास्थ्य अनुसन्थान परिषद्का वरिष्ठ अनुसन्धान अधिकृत डा. मेघनाथ धितालले स्वास्थ्य, शिक्षा, यातायात, विद्युत प्रणालीलगायतमा प्रभाव पर्ने भएकाले सबै निकायबीच उचित समन्वयमा काम हुनुपर्ने बताए ।  

प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलको अध्यक्षतामा भएको संवाद कार्यक्रमलाई जलवायु परिवर्तन र पानी व्यवस्थापनविज्ञ अजय दीक्षितले सहजीकरण गरेका थिए ।

सुझावित समाचार