१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ २५ बिहीबार
  • Sunday, 11 May, 2025
२o८o जेठ २५ बिहीबार १६:१८:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

पर्यटन प्रवर्द्धनका लागि ताप्लेजुङ-दार्चुला बाइक टुर

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o जेठ २५ बिहीबार १६:१८:oo

पर्यटन प्रवर्द्धनका लागि लागि युवा पत्रकार तथा कलाकारको टोलीले ‘ताप्लेजुङ–दार्चुला पर्यटन प्रवर्द्धन टुर’ गरेको छ।गत जेठ १० गतेदेखि सुरु भएको बाइक टुर जेठ २४ गते दार्चुलामा पुगेको हो।

पूर्वदेखि पश्चिमसम्मका मुख्य पर्यटकीय गन्तव्यहरूको प्रचारप्रसार र पर्यटन प्रवर्द्धनका लागि सामूहिक प्रयासस्वरूप ताप्लेजुङ–दार्चुला ‘बाइक टुर’ गरिएको नेपाल टुरिजम प्रोमोसन टुर (ताप्लेजुङ–दार्चुला) का संयोजक विष्णु विवेकले जानकारी दिए। 

नेपालको पर्यटन प्रवर्द्धनका लागि पाँचजना पत्रकार र एकजना कलाकारको टोली दार्चुला पुगेको हो। उनीहरूले दार्चुलाको पश्चिम कुनाको दुहुँ गाउँपालिकासम्म भ्रमण गरेका छन्।

एनटिपी मल्टिमिडिया ग्रुपको संयोजनमा पूर्वदेखि पश्चिमसम्मका मुख्य पर्यटकीय गन्तव्यहरूको थप प्रचार–प्रसार, पर्यटन प्रवर्द्धन जलवायु परिवर्तनको असरलगायतका विषयमा जानकारी गराउन पनि ताप्लेजुङ–दार्चुला बाइक टुर गरिएको उनले बताए।

सदरमुकाम खलंगामा आयोजित अन्तर्क्रिया कार्यक्रममा बोल्दै संयोजक विवेकले ताप्लेजुङ–दार्चुला वाइक टुर निकै चुनौतीको कार्य भएको बताए। झन्डै २ हजार ५०० किलोमिटर बाइक टुर गरिएको छ। पर्यटन प्रवर्द्धनको लागि अब दार्चुला–ताप्लेजुङ जोडिनुपर्छ उनको भनाइ छ। 

कार्यक्रममा बोल्दै महाकाली नगरपालिका उपप्रमुख दुर्गाकुमारी खत्री विष्टले पर्यटनको सम्भावना हुँदाहुँदै पनि प्रचारप्रसार हुन नसकेको बताइन्।

अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका प्रमुख संरक्षण अधिकृत नुरेन्द्र अर्यालले दार्चुलामा धार्मिक मात्र सांस्कृति पर्यटनको प्रचुर सम्भावना रहेको बताए। उनले भने, ‘यहाँको व्यासी संस्कृति छुट्टै छ । कैलाश पर्वत, अपि नाम्पा यहाँका मुख्य सम्भावना हुन्।’

उद्योग वाणिज्य संघका अध्यक्ष सुरेशसिह थापाले पर्यटन प्रवर्द्धनको लागि सहकार्य गर्न उद्योग वाणिज्य संघ तयार रहेको बताए। प्रमुख जिल्ला अधिकारी किरण जोशीले बाह्य मात्र नभई आन्तरिक पर्यटन प्रवर्द्धन आवश्यक रहेको बताइन्। 

जेठ १० गतेदेखि सुरु भएको बाइक टुर काठमाडौंदेखि मध्यपहाडी लोकमार्ग भएर सिन्धुली, खोटाङ, भोजपुर हुँदै ताप्लेजुङ पुगेको थियो। यस्तै, ताप्लेजुङदेखि मेची राजमार्ग हुँदै झापादेखि महेन्द्र राजमार्ग हुँदै कञ्चनपुर र कञ्चनपुरदेखि अत्तरिया हुँदै डडेल्धुरा भएर दार्चुला पुगेको हो।

यस्तै, दार्चुलाबाट मध्यपहाडी लोकमार्ग भएर मुगुलगायतका ठाउँ पुगेर टोली फर्किने योजना छ। 

टोलीलाई नेपाल पर्यटन बोर्ड, नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा), होटेल एसोसिएसन अफ नेपाल (हान) र नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआईले सहयोग गरेको छ। भ्रमणको क्रममा दार्चुला पुगेको टोलीलाई महाकाली नगरपालिका, दुहुँ गाउँपालिका र उद्योग वाणिज्य संघ दार्चुलाले सम्मानसमेत गरेको छ।