Skip This
‘जथाभावी एन्टिबायोटिक औषधिको सेवनले बिरामीको स्वास्थ्यमा प्रतिकूल असर’
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ २५ बिहीबार
  • Saturday, 27 July, 2024
हदिश खुद्दार जनकपुरधाम
२o८o जेठ २५ बिहीबार १२:१४:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

‘जथाभावी एन्टिबायोटिक औषधिको सेवनले बिरामीको स्वास्थ्यमा प्रतिकूल असर’

Read Time : > 1 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
नयाँ पत्रिका
२o८o जेठ २५ बिहीबार १२:१४:oo

जथाभावी एन्टिबायोटिक औषधिको प्रयोगले बिरामीमा नकारात्मक असर परिरहेको स्वास्थ्यसम्बन्धी विज्ञहरूले बताएका छन्। युएसएआइडीको सहयोगमा संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार जनकपुरधाममा आयोजना गरेको कार्यक्रममा मधेस प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. प्रमोद यादवले यस्तो बताएका हुन्।

एन्टिबायोटिक औषधि प्रयोगमा नेपाल बदनाम रहेको र त्यसमा पनि मधेस प्रदेशका चिकित्सकले जथाभावी एन्टिबायोटिक औषधिको प्रयोग गर्ने पाइएको उनले बताए। मानव स्वास्थ्यमा प्रतिकूल असर पुगेको भन्दै सामान्य रोग लाग्दैमा एन्टिबायोटिक औषधि प्रयोग नगर्न स्वास्थ्यकर्मीले सुझाव दिएका छन्। 

एन्टिबायोटिक औषधि प्रयोगबारे नेपाल सरकारले स्पष्ट गाइडलाइन दिएको भए पनि अनुगमन र निरीक्षणको अभावमा चिकित्सकले आफूखुसी बिरामीहरूलाई जथाभावी एन्टिबायोटिक औषधि सेवन गर्न दिने गरेको डा. यादवको भनाइ थियो। जथाभावी एन्टिबायोटिक औषधि सेवनले मानिसको रोग प्रतिरोधक क्षमतामा कमी आउने गरेको र त्यसले स्वास्थ्यमा प्रतिकूल असर पर्ने गरेको बालरोग विशेषज्ञसमेत रहेको डा. यादवले बताए।

कार्यक्रममा संक्रमण रोग विशेषज्ञ डा. सन्तोष दुलालले ७५ प्रतिशत सरुवा रोगहरू जनावरबाट मानिसमा सर्ने गरेको बताए। विश्वभरमा ५० प्रतिशत एन्टिबायोटिक औषधि अनावश्यक रूपमा प्रयोग भइरहेको भन्दै यसले आउने दिनमा ठूलै समस्या निम्त्याउन सक्ने उनले चिन्ता व्यक्त गरे।

कार्यक्रममा डा. विवेका श्रेष्ठले एन्टिबायोटिक प्रयाेग गर्ने बिरामीले डोजअनुसार औषधि प्रयोग नगर्दा बिरामीमा थप अन्य रोग लाग्दा लामो समय निको नहुनेजस्ता समस्या देखिने गरेको बताए। लामो समयदेखि स्वास्थ्य क्षेत्रमा कलम चलाउँदै आएका युएसएडका प्रतिनिधि तथा पत्रकार अर्जुन अधिकारीले जथाभावी एन्टिबायोटिक औषधि सेवन गर्दा मानिसमा दीर्घकालीन असर पर्ने र पछि बिरामी हुँदा सामान्य एन्टिबायोटिक औषधिले ठीक नभई महँगोमा पाइने एन्टिबायोटिक औषधिले मात्रै काम गर्ने गरेको घटना धेरै रहेको बताए।

खोजी पत्रकारिताको क्रममा आफूहरूले दर्जनौँ बिरामीसँग भेटेको उल्लेख गर्दै अधिकारीले भने, ‘विगतमा जथाभावी एन्टिबायोटिक औषधि सेवन गर्ने एकजना बिरामीलाई अहिले ४० प्रकारमा एन्टिबायोटिक औषधिले काम गरिरहेका छैन। जथाभावी एन्टिबायोटिक औषधिको सेवनले उनको शरीर रेसिस्ट भइसकेको छ। सामान्य औषधिले काम गरिरहेको छैन । यस्तोमा सबैको पहुँचमा नहुने महँगो औषधि सेवन गर्नुपर्ने बाध्यता छ। जुन गरिब तथा विपन्न जनताले खरिद गरेर सेवन गर्न सक्दैनन्।’ जथाभावी एन्टिबायोटिक औषधि सेवनको विषयमा सर्वसाधारणलाई जनचेतना जगाउन सञ्चारकर्मीहरूको भूमिका महत्वपूर्ण रहेको उनले बताए।