
हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही तथा बाँकी प्रदेशका पहाडी भेगका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ ।
रातिको समयमा कोसी र गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ । महाशाखाका अनुसार काठमाडौंको विवरणमा आज न्यूनतम तापक्रम १८.४ र अधिकतम तापक्रम ३१.५ डिग्री सेल्सियस छ ।