
भैरहवाका क्यासिनोहरूले अवैध मदिराको कारोबार गरेको भन्दै त्यसलाई नियन्त्रण गर्न व्यवसायीहरूले आग्रह गरेका छन् । होटेल तथा रेस्टुरेन्ट व्यवसायी संगठन र मदिरा व्यवसायी संघ भैरहवा रुपन्देहीले होटेलदेखि सीमानाकासम्म सञ्चालन हुने सवारीसाधनबाट अवैध मदिरा भित्र्याउने गरेको आरोप लगाएका हुन् ।
भारतबाट भन्सार छलेर भित्र्याइएका मदिरा क्यासिनोमा छ्यापछ्याप्ती भेटिने मदिरा व्यवसायीहरूले बताए । क्यासिनोभित्र हुने अवैध मदिरा नियन्त्रणमा प्रहरीले सक्रियता देखाउनुपर्ने मदिरा व्यवसायी संघ लुम्बिनीका अध्यक्ष केशवराज ज्ञवालीले बताए ।
त्यस्तै, होटेल व्यवसायीहरूले राति १० बजे नै होटेल बन्द गराउँदा ढिला आउने पर्यटकलाई खान र बस्ने व्यवस्था मिलाउन समस्या भएको गुनासो गरे । यात्रुहरूको आवतजावत रातिसम्म हुने भन्दै जुनसुकै समयमा आउने पाहुनाको सत्कार गर्न पाउनुपर्ने उनीहरूले माग गरे ।
हस्पिटलछेउका होटेलहरू पनि प्रहरीले १० बजे नै बन्द गराउँदा बिरामीहरूलाई दाल, सुप पनि दिन नसकिएको होटेल तथा रेस्टुरेन्ट व्यवसायी संगठन रुपन्देहीका अध्यक्ष पीताम्बर न्यौपानेले बताए ।
कार्यक्रममा रुपन्देहीका प्रहरी उपरीक्षक भरतबहादुर विकले होटेल व्यवसाय शान्ति सुरक्षासँग प्रत्यक्ष जोडिएकाले प्रत्येक होटेलमा सिसिटिभी जडान गर्न सुझाव दिए ।
प्रायः सबै अपराधको योजना होटेलमै बसेर बनाउने गरेको अनुसन्धानमा देखिएकाले हरेकको व्यक्तिगत विवरणका लागि नागरिकता वा परिचय खुल्ने भरपर्दो कागज अनिवार्य माग्न व्यवसायीहरूलाई अनुरोध गरे । क्यासिनोमा हुने अवैध मदिराको कारोबारका विषयमा अनुगमन गर्ने प्रतिबद्धता व्यक्त गरे ।