१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ २० शनिबार
  • Saturday, 14 September, 2024
२o८o जेठ २० शनिबार १४:२८:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

पौरखी रिता माझी : लेबरदेखि नगर प्रहरीसम्म

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o जेठ २० शनिबार १४:२८:oo

गुल्मी तथा बाग्लुङका सडकछेउ र बजारका चोकहरूमा भेटिने २१ वर्षीया रिता माझी युवापुस्ताका लागि अनुकरणीय छिन्। १४ वर्षको उमेरबाटै आमासँग मजदुरी गर्न हिँडेकी उनले गिटी–बालुवा र सिमेन्टसँगै बालपन साट्नुपर्यो।

मुसिकोट नगरपालिका–७ बामीकी उनी बिहान ६ देखि साढे १० बजेसम्म कलेज जान्छिन्। घर पुगेर एक गाँस खाएपछि फोनको प्रतीक्षामा हुन्छिन्। कतैबाट कामको माग आउनेबित्तिकै पढाइले पट्यारिलो र थकित भएको शरीर लिएर कुद्नुपर्छ। तर, पनि जीवनका अभावलाई कर्ममा बदल्न उनले पढाइलेखाइको थकान र कलिलो उमेर भनिनन्। परदेशमा विभिन्न हन्डर खाएका स्वदेश फर्केका उनका बुबा ४२ वर्षीय गोपाल माझी पनि मजदुरी नै गर्छन्।

जीविकोपार्जनकै लागि रगतपसिना बगाउनुपर्ने रिताजस्ता हजारौँ पात्र छन् हाम्रो समाजमा। तर, रिताले कडा परिश्रम र विपन्नताकै बीच पनि आफ्नो पढाइलाई निरन्तरता दिएकी छिन्। लगन र असल सोचका कारण युवाहरूमा ऊर्जा प्रदान गरेकी छिन्।

रुद्रावती बहुमुखी क्याम्पसमा स्नातक तेस्रो वर्षमा अध्ययनरत रिता बिहान कलेज गएपछि दिउँसो काम खोज्न बजार र निर्माणस्थल पुग्छिन्। उनको पौरख पनि गज्जबको छ। उनकै उमेरका युवाहरू मजदुरी गर्न लाज मान्छन्। तर, रिता काममा सम्मान र विश्वास देख्छिन्। पेट पाल्नका लागि काम गर्नैपर्ने बुझेकी उनीसँग भोकै कडा श्रम गरेर खाली पेट सुतेको कैयौँ तिता अनुभव छन्।

सानो उमेरमै कडा काम गर्दा देख्नेले कठै भने पनि रिताले आफूलाई कमजोर हुन दिइनन्। गैँटी हान्ने र बेल्चा फाल्नेसँगै छड सिमेन्टका बोरा बोक्ने काममा उनको शरीर अभ्यस्त बनेको छ। बजारमा ट्रक आउनेबित्तिकै गल्ला सामान अनलोडको काम पाइन्छ। तर, त्यो काम सधैँ हुँदैन। उनी घर, भवन ढलानसँगै अरू निर्माणका काममा पनि पुग्छिन्। त्यसबाहेक विवाह, व्रतबन्धलगायत उत्सवहरूमा भाँडा माझ्ने कामसमेत गर्ने गरेको रिताले सुनाइन्। ‘नगरेका काम केही पनि छैन। बाध्यताका अघि लाज, खुसी र उमेर केही होइन,’ उनले भनिन्, ‘जीवन बदल्न कर्म आवश्यक छ।’

रितालाई सुरुका दिनमा रड र सिमेन्ट बोक्दा थचक्क परेका र रोएका दिनको स्मरण हुन्छ। महिनावारीका वेला पनि उनले सिमेन्टका बोरा उचालिन्। विपन्नताका कारण उनको समुदायमा धेरैले पढाइ छाडेका छन्। तर, अध्ययनलाई निरन्तरता दिएकी रिता केही दिनअघि मात्रै नगर प्रहरीमा नियुक्त भएकी छिन्।

दैनिक समयमै कार्यालय पुग्ने, सल्युट ठोक्ने, पहरेदारी गर्ने मात्रै नभएर धेरै कुरा ध्यान दिनुपर्ने बाध्यताबीच हरियो पोसाकमा नगरको गह्रुँगो जिम्मेवारी आएको उनी बताउँछिन्। ‘नगर प्रहरीसँग समग्र नगरको विषय जोडिएको छ। भारीभन्दा जिम्मेवारी गह्रुँगो हुँदोरहेछ,’ उनले भनिन्, पहिले कडा परिश्रम भएपनि जीवन स्वतन्त्र हुन्थ्यो। नगर प्रहरी भएपछि कानुनअनुसारका सीमा छन्।’ उनी कानुनका सीमामा रहेर आफ्नो जिम्मेवारी पूरा गर्ने बताउँछिन्।

रिता नगर प्रहरीमा छनोट भएपछि माझी परिवारमा खुसी छाएको छ। ‘परिवार खुसी नहुने कुरै भएन। भाइबहिनीले पोसाक कस्तो सुहाउँछ भन्छन्,’ उनले खुसी  व्यक्त गरिन्, ‘टोलदेखि नगरसम्म सबैले बधाई दिइरहेका छन्।’