मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o जेठ २० शनिबार
  • Wednesday, 02 September, 2026
नयाँ पत्रिका काठमाडौं
२o८o जेठ २० शनिबार o८:o३:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

२३ प्रतिशतले बढ्यो गलैँचा निर्यात

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o जेठ २० शनिबार o८:o३:oo

नेपालको कुल निर्यात घट्दा पनि गलैँचा (कार्पेट)को निर्यात भने दोहोरो अंकले बढेको छ । चालू आर्थिक वर्ष ०७९/८० को १० महिनामा कार्पेटको निर्यात २३.२१ प्रतिशत बढेको हो । 

भन्सार विभागले हालै सार्वजनिक गरेको वैदेशिक व्यापारसम्बन्धी तथ्यांकअनुसार वैशाखसम्म नौ अर्ब ४९ करोड २२ लाख ९३ हजार रुपैयाँको कार्पेट निर्यात भएको छ, जुन गत आवको सोही अवधिको तुलनामा एक अर्ब ७८ करोड ८३ लाख रुपैैयाँले बढी हो । गत आवको वैशाखसम्म नेपालबाट सात अर्ब ७० करोड ३९ लाख रुपैयाँको कार्पेट निर्यात भएको थियो ।

चालू आवमा नेपालको कुल निर्यात २४.४९ प्रतिशतले घटेको छ । गत आवको १० महिनामा एक खर्ब ७३ अर्बको निर्यात भएको थियो । तर, यसपालि त्यो एक खर्ब ३० अर्ब रुपैयाँमा झरेको छ । त्यो अवस्थामा पनि गलैँचाको निर्यात भने बढेको हो । तथ्यांकअनुसार कार्पेट निर्यात हुने देशमा अमेरिका अग्र स्थानमा देखिएको छ । यो १० महिनामा उक्त देशमा पाँच अर्ब ८७ करोड ८८ लाख रुपैयाँको कार्पेट निर्यात भएको छ । दोस्रो स्थानमा भने जर्मनी रहेको छ, त्यहाँ ७३ करोड ९४ लाख रुपैयाँको कार्पेट निर्यात भएको छ । यसैगरी, तेस्रो स्थानमा रहेको लन्डनमा ६३ करोड रुपैयाँको कार्पेट निर्यात भएको छ ।

नेपाल गलैँचा उत्पादक तथा निकासीकर्ता संघका अध्यक्ष तेन्जिङ शेर्पा भने अनुभूति हुने गरेरै कार्पेटको निर्यात नबढेको बताउँछन् । ‘सरकारी तथ्यांकले कार्पेटको निर्यात बढेको देखायो । तर, हामीले भने कार्पेटको निर्यात बढेको अनुभूति गरेका छैनौँ,’ उनले भने, ‘यद्यपि, पछिल्लो समय विश्व बजारमा नेपाली कार्पेटको माग भने बढ्दो क्रममा छ ।’

विशेष गरी सेलेब्रिटी तथा हाई प्रोफाइल व्यक्तिहरूका लागि ब्रान्डेड र गुणस्तरीय कार्पेट (गलैँचा)को माग हुने गरेको उनले बताए । सरकारले सहयोग गरेमा कार्पेटको निर्यात चार गुणासम्म बढाउन सकिने उनको भनाइ छ । अहिले गलैँचाका लागि चाहिने उनमा मात्रै भन्सार छुट छ । तर, अन्य कच्चा पदार्थमा भने भन्सार छुट छैन । जसले गर्दा लागत बढी भएको व्यवसायीहरू बताउँछन् ।