
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त एवं पूर्वएआइजी जयबहादुर चन्दको नयाँ गीत सार्वजनिक भएको छ । चन्दले लेखेको ‘मैनाचरी’ बोलको गीतमा मेलिना राईले स्वर दिएकी छिन् ।
राष्ट्रिय भावको यस गीतमा वसन्त सापकोटाले संगीत भरेका छन् । महाराज थापाको एरेन्ज रहेको गीतको भिडियोमा अभिनेत्री प्रियंका कार्कीले अभिनय गरेकी छिन् । सुदीप बरालले खिचेको भिडियोको कोरियोग्राफी कविराज गहतराजले गरेका छन् । भिडियो निर्देशन सरोज ओलीले गरेका छन् ।
‘यो राष्ट्रिय भावको गीत हो,’ गीतकार चन्दले भने, ‘स्कुल, कलेज, बिहे, व्रतबन्धतिर बजाउन मिल्छ । आमदर्शक श्रोतामा राष्ट्रिय भाव जागृत गराउँछ भन्ने मेरो अपेक्षा छ । सुदूरपश्चिममा हुर्केको मैले सानैदेखि देउडा गुनगुनाउँथे । त्यही भएर गीत लेखनमा सानैदेखि हुटहुटी थियो ।’