
१६औँ इन्डियन प्रिमियर लिग (आइपिएल)को विजेता चेन्नई सुपर किंग्सले च्याम्पियनका रूपमा २० करोड भारु हात पारेको छ । अहेमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा चेन्नईले साबिक विजेता गुजरात टाइटन्सलाई रोमाञ्चक फाइनलमा पाँच विकेटले हराउँदै पाँचौँपटक उपाधि हात पारेको थियो ।
चेन्नईले सर्वाधिक पाँचपटकको विजेता मुम्बई इन्डियन्ससँगको कीर्तिमान बराबरी गरेको छ । आइपिएल इतिहासमा चेन्नई सर्वाधिक ११ पटक फाइनल खेल्ने टोली हो । आइपिएलमा महेन्द्रसिंह धोनीले आफ्नो नाममा पनि सोमबार राति नयाँ रेकर्ड राखे । धोनीले आफ्नो कप्तानीमा चेन्नईलाई पाँच आइपिएल ट्रफी दिलाए ।
उपविजेता गुजरातले १२ करोड ५० लाख भारु पाएको छ । यसैगरी, तेस्रो स्थानमा रहेको मुम्बईले सात करोड तथा चौथो स्थानको लखनउ सुपर टाइन्टन्सले ६ करोड ५० लाख भारु पाएका छन् । १६औँ आइपिएलको समग्रमा पुरस्कार धनराशि ४६ करोड ५० लाख भारु रहेको थियो ।
यसैगरी, दिल्ली क्यापिटल्सले आइपिएलमा फेयर प्ले अवार्डका साथ १० लाख भारु पनि जित्यो । आइपिएल खेल सञ्चालन गरेका इर्डन गार्डेन र वाखडेँ रंगशालाले उत्कृष्ट खेलमैदानका रूपमा ५० लाख भारु हात पारेका छन् ।
जयसवाल इमर्जिङ खेलाडी
यशस्वी जयसवाल इमर्जिङ खेलाडी हुँदै १० लाख भारु हात पारेका छन् । उनले १४ खेलमा ६ सय २५ रन बनाएका थिए । रोयल च्यालेन्ज बेंग्लोरका फाफ डु प्लेसिस प्रतियोगिताकै लामो छक्का प्रहार गर्ने खेलाडी बनेका छन् । उनले लखनउविरुद्ध एक सय १५ मिटर टाढा छक्का प्रहार गरे । उनले १० लाख भारु हात पारे । अस्ट्रेलियन ग्लेन म्याक्सवेल इलेक्ट्रिक स्ट्राइकर अफ दी सिरिज हुँदै १० लाख भारु जिते । उनले १४ खेलमा १८३.४८ को स्ट्राइकमा चार सय रन बटुले ।
गिलले जिते ओरेन्ज क्याप
गुजरातका ओपनर सुभमन गिल सिजनभरि नै उत्कृष्ट रहे । उनले आइपिएलमा तीन शतकीय इनिङ्स खेल्दै सर्वाधिक आठ सय ९० रन बनाए । प्रतियोगितामा सर्वाधिक रन बनाएका गिलले ओरेन्ज क्याप हात पारेका छन् । उनले १५ लाख भारु पाए । गिलले १७ खेलमा १५७.८० को स्ट्राइकमा ब्याटिङ गरेका थिए ।
आइपिएलमा सर्वाधिक चौका प्रहार गर्ने ब्याट्सम्यान गिल नै बने । उनले प्रतियोगिताभरि ८५ चौका ठोके । यस विधामा विजेता बनेका गिलले १० लाख भारु हात पारे । गिलले थप व्यक्तिगत पुरस्कार जित्ने क्रममा गेमचेन्जर अफ दी सिजन हात पारे । यसका लागि उनले १० लाख भारु हात पारे ।
यसैगरी, गुजरातकै मोहमद सामीले पर्पल क्याप जित्दै १५ लाख भारु हात पारेका छन् । १७ खेलमा उनले सर्वाधिक २८ विकेट लिएका थिए । गुजरातका अफगानी अलराउन्डर रासिद खानले उत्कृष्ट क्याच अवार्ड पाएका छन् । उनले लखनउविरुद्ध उत्कृष्ट क्याच लिएका थिए । यसै कारण उनले १० लाख भारु जितेका छन् ।