
अर्थमन्त्री डा. प्रकाशशरण महतले सांसद विकास कोष ब्युँताएर सांसदहरूलाई व्यक्तिगत रूपमा पैसा दिएकोजस्तो विश्लेषण गर्न नमिल्ने बताएका छन्।
मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन्। अर्थमन्त्री महतले सांसद विकास कोषको ५ करोड बजेट सांसदहरूले नभएर सम्बन्धित निकायले कार्यान्वयन गर्ने बताए।
विगतकोजस्तो उपभोक्ता समिति बनाएर आयोजना बनाउने नभई ठेक्का प्रक्रियामार्फत आयोजनाको काम हुने उनले प्रस्ट पारे। ‘देशभर १६५ निर्वाचन क्षेत्रहरू छन् । सरकारले बजेट छुट्याउँदा विदेशी सहयोगको निश्चित ठाउँमा खर्च हुन्छ। अरू खर्च पनि निश्चित क्षेत्रमा नै खर्च गर्नुपर्छ। कतिपय ठाउँहरू छुटिराखेका हुन्छन्। १६५ निर्वाचन क्षेत्रमा नै केही न केही योजना जाओस् भन्ने लक्ष्यका साथ संसदीय विकास कार्यक्रम राखिएको हो,’ महतले भने।
उक्त कोषमा सांसदहरूको भूमिका पैसा खर्च गर्ने नभई आफ्नो निर्वाचन क्षेत्रको आयोजनाहरूको सिफारिस र आयोजना कार्यान्वयन भए-नभएको अनुगमनमा हुने अर्थमन्त्री महतले प्रस्ट पारे।