
बेलायतको चर्चित प्रकाशन गृह अस्टिन म्याक्कले पब्लिसर्सले नेपाली मूलकी श्रीयन्सी ज्ञवालीको पुस्तक ‘द डार्क सेक्रेट्स अफ अन्नेम’ बजारमा ल्याएको छ । यो पुस्तक ‘टिन फेन्टासी’ अर्थात् किशोरावस्थाका युवाहरूलाई लक्षित गरेर प्रकाशन गरिएको हो ।
तथापि, पुस्तकको कथावस्तुले अन्य उमेरसमूहकालाई पनि तान्ने प्रकाशकको दाबी छ । ‘द डार्क सेक्रेट्स अफ अन्नेम’ले सानैमा अभिभावक गुमाएर अनाथालयमा हुर्किएकी एक किशोरीको कथा भन्छ, जो हुर्कंदै गर्दा उनको पहिचानको खोजी र आफू बाँचेको क्रूर यथार्थसँग संघर्ष गर्न बाध्य हुन्छिन् ।
पुस्तककी लेखिका ज्ञवाली आफैँ किशोरी हुन् । नेपालको भैरहवामा जन्मिएकी लेखिका सन् २०११ (वि.सं. २०६८) मा आफ्नो परिवारसँगै क्यानडा बसाइँ सरेकी थिइन् । त्यस समय उनी २२ महिनाको मात्र थिइन् ।
हाल क्यानडाको ओन्टारियो प्रोभिन्सको ब्रम्प्टनमा बस्ने ज्ञवालीलाई सानैदेखि साहित्य लेखनको रुचि रहेकोमा अभिभावक र शिक्षकको प्रेरणाले पुस्तक लेख्न थालेकी थिइन् । यो उपन्यास ज्ञवालीको पहिलो प्रकाशित पुस्तक हो । २४० पृष्ठको पुस्तकलाई अनलाइन साइट ‘अमेजन’मार्फत संसारभरिबाट किन्न सकिन्छ ।