Skip This
निःशुल्क उपचार र सुरक्षित वासको आशामा जिउँदा सहिद मुन्सी पटेल
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ १४ आइतबार
  • Saturday, 27 July, 2024
तिवारी यादव वीरगन्ज
२o८o जेठ १४ आइतबार १६:३२:oo
Read Time : > 1 मिनेट
फिचर डिजिटल संस्करण

निःशुल्क उपचार र सुरक्षित वासको आशामा जिउँदा सहिद मुन्सी पटेल

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o जेठ १४ आइतबार १६:३२:oo

मधेस आन्दोलनका क्रममा प्रहरीको गोली लागेर घाइते बनेकाहरू विभिन्न समस्या भोग्न बाध्य छन्। विसं ०७२ भदौ ३ गते गोली लागेर घाइते भएका जिउँदो सहिद मुन्सी पटेलको स्वास्थ्य मात्र नभई परिवारिक अवस्था पनि कमजोर छ।

वीरगन्ज महानगरपालिका– २८ बगहीनिवासी ३७ वर्षीय पटेल गोली लागेर घाइते भएदेखि नै एकै ठाउँमा दिसापिसाब गर्नुपर्ने अवस्थामा छन्। एकातिर पाइप लगाएर पिसाब गर्नुपर्ने बाध्यता छ भने अर्कोतिर फुसको घरमा असुरक्षित बस्नुपर्दा थप समस्या हुने गरेको पटेलको भनाइ छ। ‘हावाहुरी, असिनापानी परेको वेला अझ धेरै समस्या हुन्छ। फुसले छाएको घर भएकाले उडाउने हो कि भन्ने चिन्ताले निन्द्रा नै लाग्दैन,’ उनले भने।

मधेस आन्दोलन चलिरहँदा उनी आन्दोलन हेर्न जाँदा गोली लागेर घाइते भएका थिए। ‘आन्दोलनकै बलमा देशमा संघीयता आयो। मधेस सरकार गठन भयो। एक मन खुसी भए पनि स्वास्थ्य अवस्थाले भने मन खिन्न बनाउँछ,’ उनले दुःख पोखे। आन्दोलनकै बलमा व्यवस्था फेरिए पनि नेताहरूले सहिद र आफूहरू जस्ताका लागिसमेत केही नगरेको भन्दै उनी केही आक्रोशित हुन्छन्।

०७२ सालको आन्दोलनपछि पटक-पटक मधेसका नेताहरू मन्त्री बने पनि सहिद परिवार र घाइते परिवारलाई वास्ता नगरेकोमा उनको ठूलो असन्तुष्टि छ। अहिले नेताहरूलाई घाइतेलाई हेर्ने फुर्सदसमेत नभएको पटेलले बताए।

‘पक्की घरमा बस्ने सपना अधुरै’
मधेस आन्दोलनमा मेरुदण्डमा गोली लागेपछि मुन्सी अहिले हिँडडुल पनि गर्न नसक्ने अवस्थामा छन्। घरको एक्लो छोरा मुन्सीलाई घरमा कमाएर खुवाउने कोही नहुँदा झनै समस्या छ।

घरमा बुढा आमाबुबा र श्रीमती मात्र भएकाले घर चलाउने अवस्था नै नहुँदा घर बनाउने आफ्नो सपना पूरा हुने उनले कल्पना गर्न पनि छाडिसके। उनको परिवार पाँच धुर जग्गामा फुसले छाएको घरमा बस्दै आएका छन्। तर, त्यही जग्गा पनि अरूकै नाममा छ।

०७४ सालमा मधेस सरकार गठन भएपछि उनले एकपटक ३ लाख आर्थिक सहयोग पाएका थिए। कमाउने उमेरमा हिँडडुल गर्न नसक्ने भएपछि उनलाई राज्यले थोरै भए पनि सहयोग गरोस् भन्ने आशा छ। परिवारका लागि उनी दुईकोठे पक्की घर बनाउन सरकारको सहयोगको आशामा छन्। पटक-पटक नेताहरूलाई आग्रह गरे पनि कसैले वास्ता नगरेका मुन्सीले बताए।

मधेस आन्दोलनका घाइतेहरू आर्थिक अभावमा आफूजस्तै शारीरिक र स्वास्थ्य समस्या भोग्न बाध्य भएका उनको भनाइ छ। जिउँदा सहिदलाई राज्यले निःशुल्क उपचारको व्यवस्था गर्न माग गरेका छन्।