मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
गणेश लम्साल विराटनगर
२०८० जेठ १४ आइतबार ११:५७:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

कडा सुरक्षा घेराभित्र कोसीको बजेट अधिवेशन 

Read Time : > 1 मिनेट
गणेश लम्साल, विराटनगर
२०८० जेठ १४ आइतबार ११:५७:००

आजदेखि सुरु हुने कोसी प्रदेश सभाको बजेट अधिवेशनको पहिलो दिनदेखि नै पहिचानवादीहरूको प्रदर्शन गर्ने भएपछि विराटनगरको सुरक्षा व्यवस्था कडा बनाइएको छ। 

कोसी प्रदेश नाम खारेजी हुनुपर्ने माग गर्दै पहिचान पक्षधरहरूले प्रदेश सभा घेरा गर्ने घोषणा गरेपछि प्रादेशिक राजधानी विराटनगरको सुरक्षा व्यवस्था प्रशासनले कडा बनाएको हो। प्रदर्शनमा हिंसात्मक घटना हुने भन्दै मोरङ प्रशासनले शनिबार बिहानदेखि नै विराटनगरमा  निषेधाज्ञा जारी गरेको छ। 

आइतबार बिहानैदेखि प्रशासनले विराटनगरमा बाक्लो सुरक्षा गस्ती परिचालन गरेको छ। साथै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रहेको रोडशेष चौक, प्रदेश सभा रहेको अस्पतालचौकदेखि देवकोटा चौक अनि मुख्यमन्त्री निवास र प्रदेश प्रमुखको कार्यालय रेहको स्थानमा प्रहरीले ब्यारिकेट लगाएर कडा पहरा दिइरहेको छ।

कोसी प्रदेश सभाको बजेट अधिवेशन आज आइतबार दिउँसो २ बजेदेखि सुरु हुँदै छ। पहिचान पक्षधरहरूले आजबाटै प्रदेश सभा घेराउ गर्दै पहिचानवादीहरूले विराटनगर केन्द्रित आन्दोलन घोषणा गरेका छन्।

आइतबारदेखि सुरु हुने कोसी प्रदेश सभाको बजेट अधिवेशनसँगै नामकरण खारेजीको माग गर्दै पहिचानवादीहरूले प्रदर्शन गर्ने घोषणा गरेकोले मोरङ प्रशासनले विराटनगरमा निश्चित क्षेत्रमा शनिबारदेखि नै निषेधाज्ञा जारी गरेको हो। 

पहिलो कार्यकालमा नामकरण गर्न असफल भएपछि दोस्रो कार्यकालमा  तत्काल एक नम्बर प्रदेश सभाबाट  १७ फागुन ०७९ मा दुईतिहाइभन्दा बढी मतले कोसी प्रदेशको नाम टुंगो लगाएको  थियो।

तर, पहिचान पक्षधहरूले भने पर्याप्त छलफल नगरी सुटुक्क प्रदेश सभाबाट एकल जातीय नाम टुंगो लगाएको भन्दै विरोध जनाउँदै आएका छन्। कोसी प्रदेश नाम खारेजी माग गर्दै पहिचान पक्षधरहरूले ५ र १४ चैत ०७९ मा विराटनगरमा निषेधाज्ञा तोड्दै प्रदर्शन गरेका थिए। सोही क्रममा घाइते भएका एकजना प्रदर्शनकारीको उपचारका क्रममा मृत्यु भएको थियो। 

त्यसपछि मृत्यु भएका लिम्बुवान भोलेन्टियर्स मोरङ बेलाबारी नपा– ४ लालभित्तीका पदम लिम्बूको शवयात्रा गर्ने क्रममा पनि विराटनगरमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो। सबै प्रदर्शनका  क्रममा दुई दर्जन प्रदर्शनकारी र उत्तिकै संख्यामा प्रहरी घाइते भएका थिए।

शंकास्पद दुई दर्जनभन्दा बढी पक्राउ
आन्दोलन हिंसात्मक हुन नदिन प्रहरीले शंकास्पद व्यक्तिहरूलाई नियन्त्रणमा लिइरहेको छ। निषेधाज्ञा तोडेको आरोपमा प्रहरीले शंकास्पद व्यक्तिहरूलाई नियन्त्रणमा लिएको हो।

बिहान १० बजेसम्म २६ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए। डिएसपी दाहालका अनुसार लाठी, ढुंगा, रडलगायतका वस्तुहरू बोकेर निषेधित क्षेत्र प्रवेश गरेको पाइएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो।