१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
एजेन्सी
२o८१ जेठ १ मंगलबार १o:३६:oo
Read Time : > 3 मिनेट
ad
ad
विश्व प्रिन्ट संस्करण

खामेनी नै हुन सक्छन् इरानका अन्तिम ‘सर्वाेच्च नेता’

Read Time : > 3 मिनेट
एजेन्सी
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १o:३६:oo

आयतुल्लाह खामेनीपछि इरानको बागडोर कसले समात्नेछ भन्ने कसैलाई थाहा छैन

सन् १९८९ मा जब इरानका इस्लामिक क्रान्तिका करिज्म्याटिक नेता आयतुल्लाह रुहोल्लाह खुमेनीको मृत्यु भयो अब के हुने हो भन्ने भयले करोडौँ शोकसन्तप्त इरानी सडकमा भेला भएका थिए । तर,अहिलेको मनस्थिति त्यसभन्दा एकदम फरक छ । आम इरानी ६ महिनाभन्दा बढी समयदेखि इस्लामिक गणतन्त्रका संस्थापक उनै खुमेनीका उत्तराधिकारी एवं वर्तमान ‘सर्वाेच्च नेता’ आयतुल्लाह अली खामेनीविरुद्ध मुर्दावादको नारा लगाउँदै आमजनता प्रदर्शन गरिरहेका छन् । र, उनको शेषपछि सर्वाेच्च नेताको स्थान कसले लिनेछ भन्ने अहिलेसम्म कसैलाई थाहा छैन । मध्यपूर्वको यस अन्तिम धर्मतन्त्र वास्तवमै जीवित रहन्छ कि रहँदैन भन्ने पनि कसैलाई थाहा छैन ।

विभिन्न क्यान्सरका बाबजुद वर्तमान ८४ वर्षीय सर्वाेच्च नेता खामेनी अझै केही वर्ष बाँच्न सक्छन् । यद्यपि, सर्वाेच्च नेताको स्वास्थ्य र मौलवी शासन प्रणालीको शक्तिबारे आशंका गर्नेहरू भने बढ्दै गइरहेका छन् । धार्मिक सोच भएका इरानीले पनि यो धर्मतन्त्रप्रतिको विश्वास गुमाउन थालेका छन् । यो शासन व्यवस्था अलोकप्रिय रहेकोमा कुनै सन्देह छैन । निर्वाचन लामो समयदेखि एउटा छलछाम मात्र भएको छ । चीन र रुससँग लहसिन पुग्दा विदेश नीतिमा असंलग्नताको नीति पनि केवल शब्दमै सीमित देखिएको छ । ‘उत्तराधिकारको प्रश्नले यथास्थितिलाई हल्लाउने निश्चित छ । यसले पूर्ण अधिनायकवादी सत्तातर्फ पनि लैजान सक्छ, लोकतान्त्रिक संक्रमणलाई गति दिन पनि सक्छ,’ इटलीको ट्रेन्टो विश्वविद्यालयका पेजमान अब्दोल मोहम्मदी भन्छन् ।

कागजमा यो उत्तराधिकार निकै सहज लाग्छ । राज्यका सबै मामिलामा सर्वाेच्च नेता निर्णायक हुन्छन् । यही कारण हरेक चार वर्षमा अलोकतान्त्रिक परिस्थितिबाट निर्वाचित भएर आउने राष्ट्रपतिभन्दा उनको स्थान निकै माथि छ । यसविपरीत, सर्वाेच्च नेता भने ८८ जना धर्मगुरुको भेलाबाट छानिएर आएका हुन् । धर्मको ठेक्का पाएका मौलवीहरूको समूहले सर्वाेच्च नेताको छनोट गर्न सकेन भने राष्ट्रपति, प्रधानन्यायाधीश र वरिष्ठ न्यायाधीशहरू सम्मिलित त्रिपक्षीय समूहले यसबारे निर्णय गर्नेछ र उनीहरूको छनोटलाई जनमत संग्रहबाट अनुमोदन गराइनेछ । सन् १९८९ मा खुमेनीका छोरासहित तीनजनाले राष्ट्रपति भइसकेका मध्यमस्तरका धर्मगुरु खामेनी (वर्तमान सर्वाेच्च नेता)लाई मनोनय गरेका थिए, जसलाई विधिवत् रूपमा संवैधानिक जनमत संग्रह गरेर अनुमोदन गरिएको थियो ।

यसको करिब तीन दशकपछि खामेनी भने आफ्नो उत्तराधिकारीको नाम दिन असमर्थ छन् । यसैबीच गत सेप्टेम्बरमा तथाकथित ‘नैतिकता प्रहरी’को हिरासतमा एक युवतीको मृत्यु भएपछि चर्किएको प्रदर्शन र विरोधले यो शासन व्यवस्थालाई नै हल्लाएको छ । अहिलेका दुई प्रमुख दाबेदारको धार्मिक विरासत खामेनीको भन्दा पनि कमजोर छ । पूर्वप्रधानन्यायाधीश इब्राहिम राइसी, जो वर्तमान राष्ट्रपति पनि हुन्, उनले मदरसाहरूमा अध्ययन गर्न अपेक्षाकृत छोटो समय बिताएका छन् । ‘उनी केवल मस्जिदका इमामजत्ति मात्रै योग्य छन्,’ इरानका घटनाक्रमलाई नजिकबाट नियालिरहेका लेबनानका सिया मुस्लिम शिक्षाविद् मुस्तफा फाहास भन्छन् । राइसीका ससुरा चरम पुरातनपन्थी धर्मगुरु हुन्, जो अन्य कुराका साथै संगीतमा पनि प्रतिबन्ध लगाउन चाहन्छन् । 

सर्वाेच्च नेताको दाबेदारीमा खामेनीका दोस्रो छोरा मोज्तबा पनि अग्रपंक्तिमा छन् । उनी अहिले सर्वाेच्च नेताको कार्यालय हाँक्छन् र इस्लामिक सत्ताका रक्षाकवच स्लामिक रिभोलुसनरी गार्ड कर्पस् (आइआरजिसी)का प्रमुख होसेन ताइबसँग नजिक छन् । पछिल्लो समय सरकारी टिभीमा यी खामेनी जुनियर (मोज्तबा)को धर्मगुरुहरूको सर्वाेच्च ओहदाको आयतुल्लाहको रूपमा प्रस्तुत गरिँदै छ, तर उनले कहिल्यै पनि आधिकारिक पद धारण गरेका छैनन् र सार्वजनिक रूपमा बिरलै देखिएका छन् । शाह रेजापल्लवीलाई सिंहासनबाट च्युत गरेपछि नै इस्लामिक क्रान्तिको जग बसेको थियो । त्यसैले धेरै दिग्गज वंशवादी उत्तराधिकारलाई रुचाउँदैनन् ।

सन् १९८९ र अहिलेको परिस्थितिमा एउटा मात्रै र निकै ठूलो भिन्नता छ, त्यो हो– आइआरजिसीको उदय । अहिले मौलवीहरूमाथि यसैको नियन्त्रण छ । यसलाई तीन दशकदेखि खामेनीले सडकमा विरोधी तह लगाउन उपयोग गरेका छन् । लन्डनस्थित थिंक ट्यांक चाथम हाउसका अनुसार सन् १९८० मा (इस्लामिक क्रान्तिको एक वर्षपछि) संसद्मा ६ प्रतिशत रहेको आइआरजिसीको सदस्यता आज बढेर २६ प्रतिशत पुगेको छ भने धर्मगुरुहरूको प्रतिनिधित्व ५२ प्रतिशतबाट घटेर ११ प्रतिशतमा झरेको छ । ‘पहिले धर्मगुरुहरूले आइआरजिसीका एकाइमा मौलवीहरू पठाउँथे अहिले आइआरजिसीले नै आफूलाई चाहिने धर्मगुरु उत्पादन गर्छ र तिनलाई मदरसाहरूमा पठाउँछ,’ इरानको नेतृत्व–उत्तराधिकारमाथि पुस्तक लेख्ने अमेरिकामा रहेका विद्वान् अली अल्फोनेह भन्छन् ।

आइआरजिसी बलियो हुँदै गएको नियालिरहेका धेरैजसो अवलोकनकर्ता रिभोलुसनरी गार्डस्का कमान्डरहरूले सर्वाेच्च नेतालाई आफ्नो प्रभावमा राख्ने र उनलाई नाम मात्रका सर्वाेच्च नेतामा सीमित गर्न सक्ने ठान्छन् । अर्का इरानविद् सइद गोलकरका विचारमा यसका लागि उपयुक्त पात्र वर्तमान राष्ट्रपति रायसी हुन् । सम्भवतः शासनसत्ता आइआरजिसीले नै लिन र धर्मतन्त्रको शासनलाई पूर्ण रूपमा रद्द गर्न पनि सक्छ तर त्यो पनि अहिलेकै वा त्यसभन्दा पनि अधिनायकवादी हुन सक्छ । आइआरजिसी मौलवीहरूभन्दा बढी व्यावहारिक हुन सक्ने र उसले पहिलेबाटै असन्तुष्ट मध्यम वर्गसँगको संघर्षबाट जोगिने प्रयास गर्न सक्ने आकलन पनि छ । तथापि, विदेश नीतिमा खामेनीले आणविक हतियारविरुद्धको प्रतिबन्धको परित्याग र आणविक बम निर्माणको खुलादौड अँगाले जस्तै आमूल परिवर्तन गर्न सक्छ । खाडीमा अमेरिकाको उपस्थितिको निरन्तर विरोध गर्दागर्दै ऊ ‘सबैभन्दा ठूलो सैतान (शत्रु)’सँग वार्ता गर्न लचिलो हुन सक्छ । 

केहीचाहिँ आइआरजिसीले नयाँ सामाजिक सम्झौता लागू गर्न सक्ने र इरानीहरूलाई उनीहरूको इच्छाअनुसारको पहिरन लगाउन, खानपिन र मनोरञ्चन पछ्याउन थप स्वतन्त्रता प्राप्त हुने तर्क गर्छन् । यसो भयो भने इरानमा ४० वर्षयता पहिलोपटक महिला शिक्षामन्त्री हुन सक्नेछिन्  (अन्तिमलाई सन् १९८० मा इस्लामिक फायरिङ स्क्वाडले गोली हानेर मारेको थियो।) तथापि, राजनीतिक स्वतन्त्रता भने अझै खुम्चिनेछ । त्यो प्रक्रिया सुरु भइसकेको पनि हुन सक्छ । नैतिकता प्रहरीले बुर्का नलगाएका महिलालाई अक्सर छोड्न थालेको छ । तर, असहमति र अपराधविरुद्ध भने दमन सदाझैँ कठोर छ । गतवर्ष मृत्युदण्डको संख्यामा ८० प्रतिशत वृद्धि भएर ५७६ पुगेको छ । यदि अधिनायकवादी आइआरजिसी शासनले निजत्वमाथिको नियन्त्रणलाई खुकुलो पार्दै स्थिरता ल्याउने हो भने धेरै इरानीले उसलाई स्वीकार गर्न सक्छन् ।

तर, सच्चा सुधारवादीले आइआरजिसी वा धर्मतन्त्रको सट्टा धर्मनिरपेक्ष नागरिक प्रणालीको वकालतलाई जारी राख्नेछन् । यसै वर्षको सुरुमा पूर्वराष्ट्रपति मोहम्मद खातामीले ‘आधारभूत परिवर्तन’को आह्वान गरेका छन् । १२ वर्षको नजरबन्दपछि पूर्वराष्ट्रपति पदका लोकप्रिय उम्मेदवार मीर हुसेन मौसावीले पनि इरानलाई इस्लामिक गणतन्त्रका रूपमा राख्ने कि नराख्ने भन्ने विषयमा जनमत संग्रहको माग गर्दै आफ्नो मौनता तोडेका छन् । 

संक्रमणको रूप जस्तोसुकै भए पनि त्यो अन्योलपूर्ण हुन सक्ने सम्भावना छ । ‘एउटा कुरा सुनिश्चित छ, खामेनी नै ‘वास्तविक र अन्तिम फकिह (सर्वाेच्च नेता)’हुनेछन्,’ खामेनी सत्ताका धर्मगुरुहरूसँग नजिक रहेका फाहास भन्छन् । अर्काे शब्दमा भन्दा इरानमा सन् १९७९ को क्रान्तिका संस्थापक आयतुल्लाह रुहोल्लाह खुमेनीले परिकल्पना गरेअनुसारको धर्मगुरुहरूको तन्त्र समाप्त हुनेछ ।

– द इकोनोमिस्ट

ad
ad