सरकारी दुई र निजी पाँच अस्पतालले मात्र दिन्छन् रेडियोथेरापी सेवा
क्यान्सरको शल्यक्रिया गरेका ६० देखि ७० प्रतिशतसम्म बिरामीलाई अपरिहार्य रेडियोथेरापी सेवा देशभरमै दुई सरकारी अस्पतालमा मात्र छ । भक्तपुर क्यान्सर अस्पताल र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुरले मात्रै यो सेवा दिने गरेका हुन् ।
निजीतर्फ पनि पाँच अस्पतालमा मात्र रेडियोथेरापी हुन्छ । ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पताल, भक्तपुरको काठमाडौं क्यान्सर सेन्टर, विराटनगरको विराट मेडिकल कलेज, झापा भद्रपुरको पूर्वाञ्चल क्यान्सर सेन्टर र चितवन मेडिकल कलेजमा मात्र रेडियोथेरापी सेवा छ ।
प्राडा. विवेक आचार्य, अंकोलोजी विभाग प्रमुख, वीर अस्पताल
क्यान्सरका ६० देखि ७० प्रतिशत बिरामीलाई रेडियोथेरापी अनिवार्य चाहिन्छ । वीरमा रेडियोथेरापी बन्द हुँदा धेरै भिड भक्तपुर क्यान्सर अस्पतालमै लाग्छ । बिरामीको अत्यधिक चापका कारण तत्काल थेरापी गर्नुपर्ने बिरामीले दुईदेखि तीन महिनासम्म पालो कुर्नुपर्ने बाध्यता छ । भक्तपुरबाहेकका केही निजी अस्पतालले रेडियोथेरापी सेवा दिइरहेका छन् । तर, रेडियोथेरापी एकदमै महँगो भएकाले विपन्न नागरिक सरकारीमा पालो नपाउँदा अकालमै मृत्युवरण गर्नुपर्ने वा क्यान्सर झन् फैलिने उच्च जोखिममा छन् ।
देशकै जेठो अस्पताल वीरमा क्यान्सरका बिरामीको शल्यक्रिया र किमोथेरापी हुने भए पनि रेडियोथेरापी सेवा छैन । २३ वर्षअघि ल्याइएको ‘कोबाल्ट– ६०’ मेसिन बिग्रिएपछि ०७२ देखि रेडियोथेरापी पूर्ण रूपमा ठप्प भएको हो । ०७४ मा ४७ करोडमा टोमोथेरापी मेसिन खरिद गरे पनि जडान नगरी बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालको चौरमा मिल्काउँदा खिया लागेर सखाप भएको छ । वीरबाट मात्रै रेडियोथेरापी गर्नुपर्ने बिरामी दैनिक १० जनासम्म रेफर हुने गरेका छन् ।
चिकित्सकका अनुसार महिलाको स्तन तथा पाठेघर, घाँटी, मुख र फोक्सोको क्यान्सर पहिलो स्टेजमै पत्ता लागेमा शल्यक्रियामार्फत उपचार गरिए पनि अधिकांशमा किमोपछि रेडियोथेरापी अपरिहार्य हुन्छ । क्यान्सरको शल्यक्रिया र किमोथेरापी गरेकाहरूले रेडियोथेरापी पाएनन् भने पुनः क्यान्सर फैलिने जोखिम हुने बताउँछन् वीरका डा. लोकेन्द्र कुँवर । ‘बिरामीले समयमै रेडियोथेरापी पाएनन् भने शल्यक्रिया र किमोथेरापी गरेकाहरूमा पनि पुनः क्यान्सर फैलिने जोखिम रहन्छ,’ डा. कुँवरले भने, ‘रेडियोथेरापी नगर्दा पूर्ण उपचार नहुने भएकाले उपचारमा समस्या झेलिरहेका थुप्रै केस छन् । त्यसैले, वीरमा आएका स्तन, पाठेघर, फोक्सोलगायत क्यान्सरका बिरामीलाई हामीले पहिलेदेखि नै पालो लिन बाहिर पठाउँछौँ, ता कि समयमै उपचार पाऊन् ।’
गत पुसदेखि वीर अस्पतालमा किमोथेरापी गराइरहेकी दाङकी शिवा लम्सालका आफन्त एक महिनापछि गराउनुपर्ने रेडियोथेरापीको पालो लिन नेपाल क्यान्सर अस्पताल धाइरहेका छन् । स्तनको क्यान्सर पुष्टि भएसँगै वीर अस्पतालमा लगातार किमोथेरापी लिइरहेकी ४७ वर्षीया लम्सालको चार सातापछि शल्यक्रिया गर्ने तयारी छ । चिकित्सकहरूले शल्यक्रियालगत्तै रेडियोथेरापी आवश्यक पर्ने र वीर अस्पतालमा उक्त सेवा उपलब्ध नभएकाले अन्यत्र जानुपर्ने बताएपछि उनका आफन्त रेडियोथेरापीको ‘डेट’ लिन नेपाल क्यान्सर अस्पताल धाएका हुन् ।
चिकित्सकका अनुसार स्तन क्यान्सरको पूर्ण उपचारका लागि शल्यक्रियापश्चात् २५ दिनसम्म नियमित अनिवार्य रेडियोथेरापी गर्नुपर्ने हुन्छ । तर, उपत्यकाभित्र रेडियोथेरापी भक्तपुर क्यान्सर अस्पतालमा मात्र छ, जहाँ पालो पाउने अवस्था नभएपछि परिवारका सदस्य हरिसिद्धिको नेपाल क्यान्सर अस्पताल थाइरहेको बिरामी शिवाले बताइन् ।
मुखको क्यान्सर भएर गत १६ महिनायता वीरमै नियमित उपचार गराइरहेका काठमाडौं थानकोटका ध्रुव राईसमेत रेडियोथेरापीको पालो पाउने आसमा भक्तपुर क्यान्सर अस्पताल धाइरहेका छन् । गत २९ मंसिरमा शल्यक्रिया गराएका उनमा पुनः क्यान्सर फैलिएपछि हाल किमोथेरापी गराइरहेका छन् । चिकित्सकले किमोपछि रेडियोथेरापी गर्नुपर्ने बताएपछि उनी पालो लिन भक्तपुरमै धाएका हुन् । पहिलो अप्रेसनपछि पनि उनले भक्तपुर क्यान्सर अस्पतालमै रेडियोथेरापी गराएका थिए । ‘अझै केही समय किमो गर्नुपर्ने देखिएको छ । तर, फेरि रेडियोथेरापी पनि गर्नुपर्ने भएकाले अहिलेदेखि भक्तपुरमा पालोका लागि कोसिस गरिरहेका छौँ,’ ध्रुवका कुरुवा आफन्तले भने, ‘फेरि समयमै थेरापी पाइएन भने क्यान्सर निको हुने सम्भावना कम हुन्छ रे । क्यान्सर चौथो स्टेजमा रहेको चिकित्सकले बताएका छन् ।’
वीरमा रेडियोथेरापी बन्द हुँदा धेरै भिड भक्तपुर क्यान्सर अस्पतालमै लाग्छ । बिरामीको अत्यधिक चापका कारण तत्काल थेरापी गर्नुपर्ने बिरामीले दुईदेखि तीन महिनासम्म पालो कुर्नुपर्ने बाध्यता छ । वीर अस्पतालका अंकोलोजी डिपार्टमेन्ट प्रमुख प्रा.डा. विवेक आचार्य भन्छन्, ‘भक्तपुरबाहेकका केही निजी अस्पतालले रेडियोथेरापी सेवा दिइरहेका छन् । तर, रेडियोथेरापी एकदमै महँगो भएकाले विपन्न्न नागरिक सरकारीमा पालो नपाउँदा अकालमै मृत्युवरण गर्नुपर्ने वा क्यान्सर झन् फैलिने उच्च जोखिममा छन् ।’ डा. आचार्यका अनुसार क्यान्सरका ६० देखि ७० प्रतिशत बिरामीलाई रेडियोथेरापी अनिवार्य चाहिन्छ । ग्लोबोक्यान २०२० को तथ्यांकअनुसार नेपालमा बर्सेनि सरदर २६ देखि ३० हजार मानिस क्यान्सरपीडित हुने गरेको र १५ देखि २० हजारको बर्सेनि मृत्यु हुने गरेको छ ।
वीरका लागि ४७ करोडमा किनिएको टोमोथेरापी मेसिन पाँच वर्षदेखि चौरमा
पुरानो ‘कोबाल्ट– ६०’ मेसिन बिग्रिएर ०७२ देखि सेवा नै रोकिएको वीरमा ०७४ मा ठेक्का लगाएर ४७ करोडमा नयाँ टोमोथेरापी मेसिन खरिद गरिए पनि जडान नगरी बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालको चौरमा मिल्काउँदा खिया लागेर सखाप भएको छ । मेसिन अहिले पनि चौरमै छ । जब कि वीरबाट रेडियोथेरापी गर्नुपर्ने बिरामी दैनिक १० जनासम्म रेफर हुने गरेका छन् ।
ठेक्का पाएको लाइफलाइन ट्रेड इन्टरनेसनलले एकुरे मेडिकल अमेरिकाले उत्पादन गरेको मेसिन ल्याए पनि जडान गर्न नसकेको हो । नियमअनुसार एक सय ८० दिनभित्र जडान गर्नुपथ्र्यो । अस्पतालमा पुरानो मेसिन राखिएको बंकर समयमै खाली गर्न नसकेको भन्दै नयाँ मेसिन जडान नगरी चौरमा राखियो । तीन वर्षसम्म चौरमा राख्दा बिग्रिएपछि जर्मनबाट जडानका लागि आएको प्राविधिक टोली पनि त्यसै फर्किएको थियो ।
अस्पतालले मेसिनका लागि ७० प्रतिशत भुक्तानी गरिसकेको जनाएको छ । आपूर्तिकर्ता कम्पनी ट्रेड इन्टरनेसनलले भने रेडियसनको जोखिमका कारण पुरानो रेडियोथेरापी मेसिन खुला ठाउँमा राख्न नमिल्ने र डिस्पोजका लागि आवश्यक जनशक्तिसमेत विदेशबाटै मगाउनुपर्ने अवस्थाका कारण नयाँ मेसिन जडान गर्न नसकिएको दाबी गरेको छ । कम्पनीका प्रमुख सुरेन्द्र नायर भन्छन्, ‘इन्टरनेसनल अटोमिक एसोसिएसनको मापदण्डअनुसार रेडियसनसहितको मेसिन खुला राख्न मिल्दैन । नेपालमा आणविक पदार्थ व्यवस्थापनसम्बन्धी कानुन नभएकाले पुरानो मेसिन त्यतिवेला भारत लगेर डिस्पोज गर्ने तयारी गरिए पनि मिलेन । पछि, लगत्तै कोभिड लकडाउन सुरु भएपछि क्यानडाबाट प्राविधिक बोलाएर जडान गर्न सम्भव भएन ।’
उनका अनुसार पहिले ल्याएको मेसिन बिग्रिएपछि एकुरे कम्पनीकै टोमोथेरापी मेसिन अमेरिकाबाट ल्याएर जडान गर्न लागिएको छ । पानीजहाजबाट गत अप्रिल २४ मै भारत पठाएको र २८ मे सम्ममा भारत आइपुग्ने नायरले बताए । उनले मेसिन आइपुगेसँगै प्राविधिकको टोलीले जुनको तेस्रो सातासम्ममा वीरमा जडान गरिसक्ने बताए । पुरानै ठेक्काअन्तर्गत नयाँ मेसिन खरिद गर्न लागिएको र सबै खर्च आफूहरूले नै व्यहोर्ने नायरको भनाइ छ ।
वीरको अंकोलोजी विभागका बर्सेनि ६ सयभन्दा बढी क्यान्सरका बिरामी भर्ना हुन्छन् । गत वर्ष ६ सय २६ नयाँ बिरामी उपचारका लागि पुगेका थिए । तर, यहाँ रेडियोथेरापी नहुँदा पछिल्ला आठ वर्षमा कम्तीमा ६ हजार बिरामीलाई रेडियोथेरापीका लागि अन्यन्त्र रिफर गरिएको छ । तर, तीमध्ये कतिले समयमै उपचार पाए, कतिले पाएनन् भन्ने कुनै तथ्यांक उपलब्ध छैन ।
रेडियोथेरापी सेवा दिने निजी अस्पताल पनि पाँचवटा मात्रै
निजीतर्फ पनि पाँच अस्पतालमा मात्र रेडियोथेरापी सेवा उपलब्ध छ । ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पताल, भक्तपुरको काठमाडौं क्यान्सर सेन्टर, विराटनगरको विराट मेडिकल कलेज, झापा भद्रपुरको पूर्वाञ्चल क्यान्सर सेन्टर र चितवन मेडिकल कलेजमा मात्र रेडियोथेरापी हुुन्छ । मेसिन राख्न कंक्रिटको छुट्टै बंकर चाहिने र कम्तीमा ३० देखि ४० करोडसम्म खर्च लाग्ने भएकाले सीमित अस्पतालले मात्रै यो सेवा दिन सकेका हुन् । विगतमा पोखराको मणिपाल मेडिकल कलेजले पनि रेडियोथेरापी दिने गरेकोमा मेसिन बिग्रिएको भन्दै केही महिनायता सेवा ठप्प छ । चितवन मेडिकल कलेजले भने माघयता मात्रै सेवा सञ्चालनमा ल्याएको हो । हप्तामा पाँच दिन सेवा दिइरहेको यो अस्पतालले ४० बिरामीको थेरापी गरिरहेको जनाएको छ । रेडियसन अंकोलोजी विभाग प्रमुख डा. सुवास ठाकुर भन्छन्, ‘अस्पतालले क्यान्सरको उपचार दिइरहे पनि रेडियसन दिनुपर्ने बिरामी कम नै छन्, तर काठमाडौंदेखि पूर्वीतराई र पश्चिमका जिल्लाबाट रिफरल केसहरू आउने भएकाले बिरामीको चाप बढ्न थालेको छ ।’
भक्तपुर क्यान्सर अस्पतालमा पालो कुर्ने बिरामीको भिड, तत्काल रेडियोथेरापी गर्नुपर्नेमा दुई महिनामा पालो
विपन्न नागरिकले निजीमा महँगो शुल्क तिरेर रेडियोथेरापी गराउने सामथ्र्य राख्दैनन् । त्यसैले, उपत्यकामा रेडियोथेरापी सेवा रहेको एक मात्र सरकारी अस्पताल भक्तपुर क्यान्सर अस्पतालमा बिरामीको भिड लाग्ने गरेको छ । तर, एउटै रेडियोथेरापी मेसिनले बिरामीको चाप थेग्न नसकेपछि अस्पतालले उच्च जोखिममा रहेका बिरामीलाई समेत पालोमा राख्दै आएको छ । तत्काल रेडियोथेरापी गर्नुपर्ने बिरामीले पनि दुई महिनासम्म पालो कुर्नुपर्ने बाध्यता छ ।
भक्तपुर क्यान्सर अस्पतालमा रेडियोथेरापीका लागि सयभन्दा बढी बिरामी पालो कुरिरहेका छन् । रेडियोथेरापी विभागको तथ्यांकअनुसार ‘जनरल’ (बिमा, विपन्न र अस्पतालमा क्यान्सरको उपचार गराइरहेका बिरामी) र ‘एक्सटेन्डेड’ (जनरलबाहेकका पैसा तिरेर थप समयमा उपचार) सेवा दिँदा पनि डेढदेखि दुई महिनासम्म पालो कुर्नुपरेको अवस्था छ । हप्तामा पाँच दिन मात्रै रेडियसन सेवा दिइरहेकाले थप पैसा लिएर दिइरहेको सेवामा समेत एक महिनासम्म पालो कुर्नुपर्ने अवस्था रहेको अस्पतालका चिकित्सक बताउँछन् । ‘रेडियोथेरापीका लागि मेसिन एउटा मात्रै छ, तर बिरामीको चाप धेरै भएपछि हामीले बिहान ७ बजेदेखि राति १२–१ बजेसम्म चलाइरहेका छौँ । दैनिक सयभन्दा धेरैले थेरापी गराइरहेका छन्,’ अस्पतालका निर्देशक प्रा.डा. विष्णुदत्त पौडेलले भने, ‘यति गर्दागर्दै पनि चाप थेग्न नसक्दा बिरामीले पालो कुर्नुपर्ने बाध्यता छ ।’