धादिङको नीलकण्ठ नगरपालिका– ९ की ५० वर्षीया जुनमाया नेपालीले १० वर्ष पहिले श्रीमान् गुमाइन्। छोराको पनि कलेजोको अप्रेसनपछि काम गर्न नसक्ने छन्। परिवार नै कृषिमा निर्भर छ। तर, सम्पत्तिको नाममा भएको पाँच रोपनी जग्गाको खेती पनि खाने वेला नहुदै बाँदरले सखाप पारेपछि ढुंगा खाउँ कि माटो खाउँ भएको उनी बताउँछिन्।
‘मकैमा चमरा लाग्दै छ। तर, एउटै बोट बाँकी नहुने गरी बाँदरले सखाप बनायो। दुःख गर्याे, मल हाल्यो खेती गर्याे, हुर्कायो। आउला खाउँला, छाक टारौँला भन्ने लागेको थियो। तर, बाँदरले सखापै बनायो,’ नाराबाजी गर्दै गरेकी जुनमायाले भनिन्, ‘बारीमा बाँदरले मकै भाँचेको देखेर आँसु आउँछ। मकै मात्र होइन, कुनै पनि बाली बाँकी राखेको छैन। यो वर्ष पनि अनिकाल पर्ने भो, आउने ठाउँ छैन । कसरी छाक टार्ने र ज्यान बचाउने भन्ने चिन्ताले पिरोलेको छ।’
बाँदर नियन्त्रणको माग गर्दै विगतका वर्षदेखि नै किसानले आन्दोलन गर्दै आएका छन्। बर्सेनि ध्यानाकर्षण गराउँदा पनि माग सम्बोधन नभएपछि यो वर्ष पनि किसान बाँदरले नाश गरेको मकैको बोटकै माला लगाएर सदरमुकाम धादिङबेँसीमा रहेका सरकारी कार्यालयको गेटअगाडि पुगेर नारा लगाएका छन्। सोही र्यालीमा भेटिएका ८३ वर्षीय तुलबहादुर लम्साल बाँदरले पुर्याएको क्षतिको राहत र बाँदर नियन्त्रणको माग राखेको बताए।
मकैको बोटको माला लगाएर जोडजोडले चिच्याउँदै गरेकी टीकाकुमारी श्रेष्ठ स्थानीय सरकारदेखि प्रदेश र संघ सरकारले पनि आफूहरूको बेवास्ता गरेको बताउँछिन्। ‘विगत तीन–चार वर्षदेखि बाँदरआतंकबारे सबैलाई जानकारी दिइएको हो,’ उनले भनिन्, ‘अहिलेसम्म कुनै पहलकदमी भएन। अरूको पेट भर्न जोतिने किसान आफैँ भोकै मर्ने अवस्था आउने भयो।’ खेतबारीको अन्नबाली बाँदरले खाइदिने र नाश गर्न थालेपछि किसान आजित भएका हुन्। बाँदरआतंकले हैरान बनेका धादिङका किसानले नाश गरेको मकै, नासपाति, अम्बालगायतका फलफूल प्रदर्शन गर्दै नाराबाजी गरेका थिए।