१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०८० जेठ ११ बिहीबार ११:५३:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

स्वास्थ्यचौकी भवन निर्माणमा ठेकेदारको लापरबाही, काम सम्पन्न नहुँदा सेवा प्रवाहमा समस्या

Read Time : > 1 मिनेट
२०८० जेठ ११ बिहीबार ११:५३:००

हलेसी तुवाचुङ नगरपालिका– १ बाहुनीडाँडाको स्वास्थ्यचौकी भवन निर्माणको काममा ठेकेदार कम्पनीको चरम लापरबाही देखिएको छ। 

गौरी–पार्वती न्यु टेक्निकल जेभी ललितपुरले निर्माणको जिम्मा लिएको स्वास्थ्यचौकी भवन निर्माणको काममा ठेकेदारको चरम लापरबाहीका कारण अहिले अलपत्र अवस्थामा छ। 

ठेकेदार कम्पनील ०७८ फागुन २७ गतेसम्ममा स्वास्थ्यचौकी भवन निर्माणको काम सम्पन्न गर्नेगरी ०७७ मंसिर ११ गते सम्झौता गरेको थियो। दुईपटक थप भएको म्याद गुज्रिँदा पनि स्वास्थ्यचौकीको भवन निर्माणको काम अलपत्र छ। 

अर्कातर्फ निर्माणाधीन अवस्थामा रहेको स्वास्थ्यचौकी भवनको पर्खाल ठेकेदारको लापरबाहीले कमसल बनेको स्थानीय बासिन्दाले आरोप लगाएका छन्। कतिपय ठाउँमा इँटाको पर्खाल ठेल्दा भत्किने गरेको स्थानीय कुवेर राईले बताएका छन्।  

पहिलोपटक थप भएको म्याद ०७९ असार ३२ गते र दोस्रोपटक थप भएको म्याद ०७९ माघ २ गते सकिएपछि ठेकेदारले पुनः आगामी असार मसान्तसम्मका लागि म्याद थपको माग गरेको सघन सहरी विकास तथा भवन निर्माण आयोजनाको कार्यालय ओखलढुंगाका इन्जिनियर सुशील चौधरीले बताए। 

ठेकेदारका प्रतिनिधिले स्वास्थ्यचौकी भवन निर्माणको काम गर्नुको सट्टा हाकिमको सरुवा गरेपछि मात्र निर्माणको काम अघि बढ्ने बताउने गरेका छन्। 

साउदी सरकारको आर्थिक सहयोगमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमार्फत एउटै ठेक्कामा खोटाङको बाहुनीडाँडा, मंगलटार, बतासे, राखाबाङ्देल र दोर्पाचिउरीडाँडा स्वास्थ्यचौकीको भवन निर्माणको काम सुरु गरिएको थियो। 

गौरी–पार्वती न्यु टेक्निकल जेभीले भ्याटबाहेक रु. सात करोड ४० लाख ८४ हजार दुई सय ९६ मा जिल्लाका पाँचवटा स्वास्थ्यचौकीको भवन निर्माणको ठेक्का लिएको हो।

समग्रमा जिल्लामा निर्माणाधीन पाँचवटै स्वास्थ्यचौकीको भौतिक प्रगति करिब ६० प्रतिशत र वित्तीय प्रगति करिब ४७–४८ प्रतिशत मात्र भएको इन्जिनियर चौधरीले बताए। ठेकेदारले समयमा स्वास्थ्यचौकी भवन निर्माणको काम सम्पन्न नगर्दा स्वास्थ्यकर्मीहरू भाडाको साँघुरो कोठाबाट स्वास्थ्य सेवा प्रवाह गर्न बाध्य छन्। 

बाहुनीडाँडामा स्थानीय झोक्रे राईको घरको दुईवटा साँघुरो कोठा भाडामा लिएर स्वास्थ्यचौकीको सम्पूर्ण सेवा प्रवाह सञ्चालन हुँदै आएको छ। बाहुनीडाँडामा यसअघि तत्कालीन गाउँ विकास समिति (गाविस)को जीर्ण भवनको साँघुरो कोठाबाट स्वास्थ्यचौकीको सेवा प्रवाह हुँदै आएको थियो। 

गाविसको भवनलाई भत्काएर वडा कार्यालयको भवन निर्माणको काम सुरु गरिएपछि स्वास्थ्यचौकीलाई गत माघदेखि भाडाको घरमा सारिएको जनाइएको छ। भाडामा लिइएको घरको कोठामा दुईवटा मात्र कुर्सी अटाइएका छन्। 

एकैपटक धेरै बिरामी उपचारमा आए उभ्याएर राख्नुपर्ने बाध्यता रहेको स्वास्थ्यचौकीका प्रमुख लीलामाया लामिछाने बताएकी छिन्। ‘सेवा प्रवाह गर्ने कोठा साँघुरो छ। एकैचोटि तीन–चारजना बिरामी आए बस्ने ठाउँको व्यवस्था छैन,’ उनले भनिन्, ‘कोठामा दुईवटा कुर्सी मात्र अट्छ। बिरामीलाई उभ्याइरहनुपर्ने अवस्था छ। सेवा दिन एकदमै गाह्रो भइरहेको छ।’

महिला–पुरुषका लागि अलग–अलग कोठामा राखेर सेवा दिने ठाउँ नहुँदा झनै समस्या भएको लामिछानेले बताइन्। ‘व्यक्तिगत गोपनीयता कायम गर्न असहज छ। स्वास्थ्यचौकीको भाडामा मासिक रु. पाँच हजार खर्च हुने गरेको छ,’ उनले भनिन्, ‘यसप्रति सम्बन्धित निकायले बेलैमा ध्यान दिन जरुरी छ।’

स्वास्थ्यचौकीको आफ्नै भवन नहुँदा बर्थिङ सेन्टरलाई पनि स्थानीय उषा राईको घरमा राखिएको छ। स्वास्थ्यचौकीसँग नजिक रहनुपर्ने बर्थिङ सेन्टरलाई केही टाढाको दूरीमा राखिएको छ। ०७५ सालदेखि मासिक रु. चार हजारमा व्यक्तिको घरमा राखिएको बर्थिङ सेन्टरको कोठा पनि साँघुरो छ। 

स्वास्थ्यचौकीको भवन अलपत्र पार्ने ठेकेदारलाई पटक–पटक भवन निर्माणको काम सम्पन्न गर्न ताकेता गरे पनि अटेर गरेको वडाध्यक्ष रुद्रबहादुर राई बताए। काम गरेका कामदारले ठेकेदारबाट हालसम्म पूरा पारिश्रमिकसमेत नपाएको गुनासो गरेका छन्।