
चैनपुर नगरपालिकाका दुईवटा वडा कार्यालयले संयुक्त रूपमा एम्बुलेन्स खरिद गरेका छन् । दुर्गममा रहेका ती वडाहरूले आफैँ एम्बुलेन्स खरिद गरेका हुन् । वडाभित्रका नागरिकलाई बिरामी पर्दा स्वास्थ्य केन्द्रसम्म पुर्याउन धौ–धौ परेको र धेरैपटक समस्या परेपछि एम्बुलेन्स खरिद गरेका हुन् । चैनपुर नगरपालिका वडा नम्बर १० र ११ ले संयुक्त रूपमा कर छुटसहित २० लाख आठ सय ५० रुपैयाँको लागतमा एम्बुलेन्स खरिद गरेका हुन् ।
चैनपुर नगरपालिका– १० ले सात लाख ५० हजार र ११ नम्बर वडाले सात लाख रुपैयाँ चालू आर्थिक वर्षमा वडासभाबाटै बजेट विनियोजन गरेका थिए । बजेट अपुग भएपछि चैनपुर नगरपालिकाले एक लाख ५० हजार रुपैयाँ र संखुवासभाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य दीपक खड्काले दुई लाख ५० हजार, हेल्पिङ हेन्ड्सका सञ्चालक डा. गुप्तबहादुर श्रेष्ठले दुई लाख रुपैयाँ सहयोग उपलब्ध गराएपछि खरिद गरिएको हो ।
एउटै वडाले मात्रै खरिद गर्न नसक्ने भएकाले संयुक्त रूपमा खरिद गरिएको चैनपुर– १० का वडाध्यक्ष धनबहादुर तामाङले बताए । चैनपुर– ११ का वडाध्यक्ष तीर्थ राउतले एम्बुलेन्स खरिदपछि अब नागरिकले समयमै स्वास्थ्य संस्था गएर उपचार गर्न सक्ने बताए । चैनपुर नगरपालिकाभित्र ११ वटा वडा छन् ।