
राष्ट्रिय सभाका सांसद एवं पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतमले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न सबैलाई कारबाही गर्न सरकारसँग माग गरेका छन्।
सांसद गौतमले सो प्रकरण ज्यादै ठूलो अपराध भएको उल्लेख गर्दै त्यसमा संलग्न जोकोहीलाई पनि नियम र कानुनबमोजिम कारबाही गर्नुपर्ने बताएका हुन्।
बुधबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले २०४७ सालयता भएका मन्त्री र उच्चपदस्थ कर्मचारीहरूको पनि सम्पत्ति छानबिन गरी भ्रष्टमाथि कडा कारबाही गर्न सरकारको ध्यानाकर्षण गराए।
सांसद गौतमले सरकारले सो प्रकरणको दोषीमाथि कारबाहीको प्रक्रिया अघि बढाएको भन्दै धन्यवादसमेत दिए। उनले, ‘त्यो अपराध हो। ज्यादै ठूलो अपराध हो। त्यसलाई नियम र कानुनबमोजिम कारबाही हुनुपर्छ। कारबाही गर्ने प्रक्रिया सुरु भएको छ। सरकारलाई म धन्यवाद दिन्छु। यसैगरी, सबैजसो भ्रष्टाचारजन्य विषयहरू विभिन्न किसिमका उठेका छन्। २०४७ सालदेखि आजसम्म मन्त्रिमण्डलमा रहेका व्यक्तिहरू, उच्चपदस्थ कर्मचारीहरू, त्योसँग सम्बन्धित रहेका अन्य व्यक्तिहरू सबैको सम्पत्तिको छानबिन गर्नुपर्दछ। र, गल्ती गर्नेलाई कारबाही गर्नुपर्दछ। यो सुरुवात चाहिँ भएको छ। त्यहाँसम्म पुग्नुपर्छ भन्ने मेरो विचार छ।’
सांसद गौतमले भ्रष्टाचारजन्य गतिविधिबारे उठेका विषयहरूको छानबिन गर्न सरकार पछि पर्न नहुने बताए।