१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०८० जेठ ८ सोमबार ११:०१:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

पदयात्रा गर्दै हिमाल हेर्न...

Read Time : > 1 मिनेट
२०८० जेठ ८ सोमबार ११:०१:००

नयाँ–नयाँ ठाउँ घुम्दा मस्तिष्कमा नयाँ सोच आउँछन् । तपाईंको शरीरलाई स्वस्थ राख्न पनि पदयात्रा जरुरी छ । हरियाली हेर्दै, चराचुरुंगीको सुमधुर आवाज सुन्दै हिँड्न तथा सुन्दर दृश्यहरू हेर्न मानिस लालायित हुन्छन् । भागदौडको दैनिकीबाट केही समयका लागि छुटकारा दिनका लागि पनि यो जरुरी छ । पदयात्रा गर्दै हिमाललाई नजिकबाट नियाल्न सकिने केही गन्तव्य यस्ता छन् :

पाँचपोखरी 

पाँचपोखरी पवित्र धार्मिक तथा पर्यटकीय स्थल हो । सिन्धुपाल्चोक जिल्लास्थित धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाले भरिपूर्ण ‘पाँचपोखरी’ हिन्दू तथा बौद्ध धर्मावलम्बीको धार्मिक तथा सांस्कृतिक संगमस्थल पनि हो । यहाँ पाँचवटा पोखरी (भैरव कुण्ड, सरस्वती कुण्ड, सूर्य कुण्ड, गणेश कुण्ड र नाग कुण्ड) छन् । इन्द्रावती नदीको उद्गमस्थल हो, पाँचपोखरी । पदयात्राका क्रममा देखिएका उच्च पहाडी र हिमाली जैविक विविधता, अनुपम प्राकृतिक सौन्दर्य, जुगल हिमशृंखलाको सुन्दरताले यो यात्रालाई अविस्मरणीय बनाउँछ । पाँचपोखरी गाउँपालिकाले छिम्तीमा बनाएको मानवनिर्मित झरनाले पनि धेरैलाई लोभ्याउँछ ।

आमा याङ्ग्री

आमा याङ्ग्री धार्मिक र पर्यटकीय दुवै दृष्टिकोणले महत्वपूर्ण गन्तव्य हो । ३,७७१ मिटर उचाइमा रहेको यो पिक काठमाडौंबाट झन्डै ९० किलोमिटर उत्तर–पश्चिम दिशामा पर्छ । आमा याङ्ग्री ट्रेकलाई मनमोहक पदयात्राको रूपमा लिइन्छ । यहाँबाट लाङटाङ हिमशृंखला, जुगल हिमशृंखला, गौरीशंकर हिमशृंखला, दोर्जे लाक्पा, गणेश हिमाल, ग्याल्जेन पिक, याङ्ग्री हिमाल, भेमाथाङ हिमाल, गान्छेन्पो हिमाललगायतका दुई दर्जनभन्दा बढी हिमालको मनमोहक दृश्यावलोकन गर्न सकिन्छ ।

पदयात्रामा पर्यटकले ह्योल्मो कला–संस्कृति, भाषा, भेषभूषा र रहनसहनको पनि अवलोकन गर्न पाइन्छ । हेलम्बु प्राकृतिक र भौगोलिक रूपमा आकर्षक र नजिकको सजिलो पदयात्रा हो । यसका अतिरिक्त धार्मिक महत्व बोकेका प्राचीन गुम्बा, स्तुपा, मनमोहक झरना र विभिन्न वनजंगल पनि अवलोकन गर्न सकिन्छ ।

गोसाइँकुण्ड 

समुद्री सतहबाट ४,३८० मिटर उचाइमा रहेको गोसाइँकुण्ड ताल बौद्ध र हिन्दू समुदायको प्रसिद्ध तीर्थस्थल हो । यस गोसाइँकुण्ड तालको वरिपरि अन्य धेरै ताल छन् । प्रत्येक तालको छुट्टै धार्मिक महत्व छ । गोसाइँकुण्ड पदयात्रा स्वदेशी तथा विदेशी पर्यटकका लागि प्रसिद्ध गन्तव्यमध्ये एक हो । 

यस क्षेत्रमा पदयात्रा गर्दा लाङटाङ, गङ्चेन्पो, नयाँ खाङ, याला पिक, गणेश हिमाल, मनास्लु हिमाललगायत विभिन्न हिमशृङ्खलाहरूको मनोरम दृश्य हेर्न सकिन्छ । विभिन्न वनस्पति, जीवजन्तु, रातो पान्डा, हिमालयन थार, हिमाली भालु, कस्तुरी मृग, हिमालयन बाख्रा, हिउँचितुवासहित गुराँस, अर्किड, म्याग्नोलिया, धुपी र अन्य धेरै प्रजातिका वनस्पति तथा वन्यजन्तु पाइन्छन् । यस पदयात्रामा पदयात्रीले हिमाली भेगमा बसोवास गर्ने शेर्पा, तामाङ र तिब्बती समुदायको कला, संस्कृति, भेषभुषा, खानपान र रहनसहनको अनुभव लिन सकिन्छ । 

च्छो–रोल्पा ताल 

दोलखा जिल्लास्थित ‘च्छो–रोल्पा ताल’ विदेशी तथा स्वदेशी पर्यटकको रोजाइमा पर्ने गन्तव्य हो । हिमाली क्षेत्र भएकाले यहाँ ट्रेकिङ गर्नुको मज्जा बेग्लै छ । गौरीशंकरसहितका मनमोहक हिमशृंखला, विभिन्न हिमाली वन्यजन्तु, चरा तथा वनस्पति यात्राका क्रममा नियाल्न पाइन्छ । यहाँ काठमाडौंबाट पाँच दिनमा पुग्न सकिन्छ, आठ दिनभित्र फर्केर काठमाडौं नै आइपुग्न सकिन्छ ।