मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
महालक्ष्मी नगरपालिका र ललितपुर महानगरपालिका हुँदै बग्ने कर्मनाशा खोला । तस्बिर : संजित परियार/नयाँ पत्रिका
शिवहरि घिमिरे काठमाडाैं
२०८० जेठ ७ आइतबार ०८:४२:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

संरक्षणको पर्खाइमा कर्मनाशा : स्थानीय र महानगरको बेवास्ताले फोहोर र प्रदूषित बन्दै

Read Time : > 2 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
२०८० जेठ ७ आइतबार ०८:४२:००

ललितपुरको हात्तीवन क्षेत्रमा रहेको कर्मनाशा खोला संरक्षण नहुँदा फोहोर र प्रदूषित बनेको छ । ललितपुर महानगर र अन्य सम्बन्धित निकायले खोला संरक्षण र सफाइमा चासो नदिँदा दिनानुदिन प्रदूषित बन्दै गएको स्थानीयको आरोप छ । 

हरिसिद्धिका राकेश महर्जनका अनुसार कर्मनाशामा तीन–चार वर्षअघिसम्म सङ्लो पानी बग्थ्यो । तर, अहिले वर्षायाममा बाहेक पानी देख्न मुस्किल छ । ‘केही वर्षअघिसम्म कलकल पानी बग्थ्यो, यही खोलाकै पानी पिउन मिल्ने थियो । तर, अहिले यो खोला फोहोरले हेरिसाध्य छैन,’ उनले भने, ‘जथाभावी फोहोर फाल्दा खोलाको अस्तित्व नै नरहने डर भइसक्यो ।’ खोला क्षेत्रमा फोहोर फालेमा कारबाही गर्ने प्रावधान ल्याउन महानगरलाई उनले अनुरोध गरे ।

पछिल्लो समय ललितपुरसहित उपत्यकाका खोलाहरू निकै प्रदूषित बनेका छन् । खोलाका मुहान क्षेत्रमा विकास निर्माणसहित विविध काम हुँदा पानी सुक्न थालेका छन् । जसका कारण खोलामा पानी देखिन छाडेको छ । पानी अभावमा उपत्यकाको सभ्यतासँग जोडिएका बागमती, विष्णुमती, धोबीखोला, हनुमन्ते खोलामा ढलमा परिणत भइरहेका छन् । सहरको बीचभागबाट बग्ने खोलाहरू प्रदूषित बनेपछि सहरी क्षेत्र नै प्रदूषित बन्न थालेको छ भने आसपासमा रहेका इनार र ढुंगेधारामा समेत प्रदूषित पानी आउन थालेको विज्ञहरू बताउँछन् ।

उपत्यकाका परम्परागत खानेपानी प्रणालीसम्बन्धी अध्ययनकर्ता पद्मसुन्दर जोशीले खोला, मूल र ढुंगेधाराको अस्तित्व नरहने हो भने यहाँको जमिन मरुभूमिझैँ बन्ने बताए । उनले जथाभावी बस्ती निर्माण भएको खोलाको क्षेत्रफललाई खोसेरसमेत संरचना बनाउने काम भएकाले यसको क्षति खोला तथा खानेपानीका स्रोतमा परेको बताए । ‘उपत्यकामा रहेका परम्परागत खानेपानीका स्रोत सुक्दै गएका छन् । सीमित ढुंगेधारामा मात्रै पानी आउँछ,’ उनले भने, ‘खोलाहरूको त झन् अस्तित्व संकटमा छ ।’ उनका अनुसार संरचना बनेपछि कैयौँ सार्वजनिक जग्गा र खोला–खोल्सी मिचिएको उनले जानकारी दिए । 

हात्तीवनकै ललित यादवले कर्मनाशा खोलामा जथाभावी लुगा धुने र फोहोर वस्तु फ्याँक्दा दूषित बनेको बताए । ‘कर्मनाशा उपत्यकाका अन्य खोलाभन्दा अलि सफा मानिन्थ्यो, केही वर्षअघिसम्म यसमा खान मिल्ने पानी बग्थ्यो, तर सहरीकरणसँगै फोहोर र ढल खोलामा फाल्न थालियो,’ उनले भने, ‘खोला भनेको हाम्रो प्राकृतिक सम्पदा हो, यसको संरक्षण हुनुपर्छ ।’

ललितपुर महानगर–१५ र महालक्ष्मी नगरपालिका–४ को सीमाक्षेत्रका बासिन्दाले कर्मनाशामा सीधै ढलसमेत मिसाएका छन् । स्थानीयले रातको समयमा लुकिछिपी खोलामै फोहोर फाल्दा निकै प्रदूषित भएको स्थानीय रमेशबाबु महर्जनले जानकारी दिए । ‘कर्मनाशा खोलामा राति–राति लुकेर धेरैले फोहोर फाल्ने गर्छन्, ललितपुर महानगरले नियमित फोहोर उठाउने कन्टेनर नपठाउँदा स्थानीयले खोलामै फोहोर फाल्ने गरेका छन्,’ उनले भने, ‘यसलाई रोक्नुपर्छ र खोला सफा राख्नुपर्छ ।’ 

हात्तीवन तथा कर्मनाशा खोला क्षेत्रका बासिन्दा शीतलबाबु श्रेष्ठले हात्तीवन क्षेत्रमा कर्मनाशा खोलाको दुर्दशापूर्ण अवस्था रहेको बताए । अफल टोल सुधार समितिका पूर्वअध्यक्षसमेत रहेका उनले फोहोर फाल्न र खोला अतिक्रमण गर्न कतिपयले पर्खालसमेत भत्काउने गरेको बताए । ‘उनका अनुसार हात्तीवन क्षेत्रमा लिटिल एन्जल्स स्कुलले समेत खोलाको केही क्षेत्र हडपेको छ । त्यस क्षेत्रमा खोलाको बहावक्षेत्रसमेत साँघुरिएको छ । खोला संरक्षण र सफाइबारे गोदावरी सरोकारले अभियान नै सञ्चालन गर्दै आइरहेको छ । तर, यस क्षेत्रमा नयाँ संरचना बन्ने क्रम जारी रहेको र अन्य विकास निर्माणका गतिविधि पनि भइरहेकाले अभियान प्रभावकारी बन्न सकेको छैन । खोला संरक्षणका लागि पालिकाले नै योजना बनाउनुपर्ने स्थानीयवासीको माग छ । स्थानीयले फोहोर फाल्नेलाई जरिवाना र ठाउँ–ठाउँमा सिसिटिभी जडान गर्नुपर्ने माग उनीहरूको छ । कर्मनाशा खोला गोदावरी, महालक्ष्मी नगरपालिका र ललितपुर महानगरपालिका क्षेत्रमा पर्छ । सानागाउँ, टीकाथली, इमाडोल हुँदै गोदावरी खोलामा पुगेर मिसिन्छ ।

महालक्ष्मी नगरपालिका–४ का वडाध्यक्ष अमृत खत्रीले खोला सरसफाइका लागि स्थानीय आफैँ पनि जागरुक हुनुपर्ने बताए । स्थानीयले नै लुकेर खोलामा फोहोर फाल्दा प्रदूषित र फोहोर बनेको बताए । यसबारे सरोकारवालासँग मिलेर काम गर्ने प्रतिबद्धता जनाए । ‘खोला संरक्षणमा स्थानीय जागरुक हुनुपर्छ,’ उनले भने, ‘वडाले चाहेर मात्रै खोला सफा पार्न सक्दैन ।’

खोला क्षेत्र र सार्वजनिक जग्गा खोसिँदै 
कर्मनाशा खोला फोहोर मात्रै होइन, धेरै स्थानमा अतिक्रमणसमेत भएको छ । ०२२ सालको नापीअनुसार खोला र आसपास सात रोपनीसम्म सार्वजनिक जग्गा थियो । तर, पछिल्लो ०७० सालको नक्साअनुसार उक्त क्षेत्रमा ६ आना जग्गा पनि छैन । स्थानीयवासी र जग्गा कारोबारीहरूले खोलासमेत हडपेर प्लानिङ गरेका कारण साँघुरो बनेको छ । स्थानीयअनुसार ०२२ सालको नक्सामा कर्मनाशाको सिलौटेस्थित कित्ता नम्बर २८३, २८४ र १७० को बायाँ साइटको सार्वजनिक जग्गा अतिक्रमण भएको छ । उक्त क्षेत्रमा हाउजिङ डेभलपर्स कम्पनीले खोलाको जग्गासमेत मिचेको छ । 

धारै परिवर्तन 
नक्साअनुसार खोलाको बहाब क्षेत्र दुई सय २० फिट हो । तर, अहिले खोलालाई निकै साँघुरो पारिएको छ । कतिपय ठाउँमा मुस्किलले नौ फिट छ भने कतिपय ठाउँमा १५ फिट कायम छ । पुरानोे धारअनुसार कर्मनाशा खोला (हात्तीवन सिलौटै)बाट करिब दुई सय मिटरवरको साइट हुँदै बग्थ्यो । तर, हाल यसलाई मोडिएको छ । पुरानो धारअनुसार खोला बग्ने क्षेत्र सिलौटे–हात्तीवन हो । अहिले खोला डाइभर्सन गरेरै धापाखेलतिर फर्काइएको छ ।