१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० जेठ २ मंगलबार ०९:३५:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

जलवायु परिवर्तनलाई बेवास्ता नगर्न उपमेयर डंगोलको आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० जेठ २ मंगलबार ०९:३५:००

काठमाडौं महानगरपालिकाकी उपमेयर सुनीता डंगोलले जलवायु परिवर्तनलाई बेवास्ता गरिए विकासका लागि गरिएका प्रयासहरूको सकारात्मक नतिजा नआउने बताएकी छिन् । सोमबार सुरु भएको जलवायु परिवर्तनसम्बन्धी दुईदिने अभिमुखीकरण कार्यक्रममा उनले यस्ता परिवर्तनलाई बेवास्ता नगर्न आग्रह गरेकी हुन् । हाम्रै कामका कारण जलवायुमा असर परिरहेको छ ।

महामारी, रोगव्याधी, खडेरी, अतिवृष्टिजस्ता समस्या जलवायु परिवर्तनका असर हुन्,’ उपप्रमुख डंगोलले भनिन्, ‘पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनको बढ्दो प्रयोगबाट हुने कार्बन उत्सर्जनलाई कम गराउन अब विद्युतीय सवारीसाधनको प्रयोग गर्नुपर्छ । पेट्रोलियम ऊर्जाको सट्टा नवीकरणीय ऊर्जाको प्रयोग बढाउनुपर्छ ।’ 

जलवायु परिवर्तन विश्वव्यापी समस्या हो । यसमा नेपालको योगदान नभए पनि असर भोगिरहेको छ । बाढी, पहिरो, खडेरी, अतिवृष्टि, अनावृष्टि, अति जाडो, अति गर्मी प्राकृतिक रूपमा बढिरहेका जोखिम हुन् । यी जोखिमले आर्थिक, सामाजिक, जैविक विविधता, पर्यटनलगायत क्षेत्रमा असर गरेको छ । यसबाट परेका असर तथा जोखिम कम गराउन, बदलिँदो मौसम अनुकूलन गराउने विषयलाई सम्बोधन गर्नुपर्ने भएकाले अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो ।

‘हामीले अहिले जमिनको प्राकृतिक अवस्थालाई जसरी प्रयोग गरेका छौँ, भोलि हाम्रा सन्ततिले यही अवस्थामा प्रयोग गर्न पाउँछन् कि पाउँदैनन् ? यो संवेदनशील प्रश्न हो,’ कार्यक्रममा महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले भने, ‘अनुकूलन र न्यूनीकरणका लागि काम गर्नुपर्ने अहिलेको मुख्य जिम्मेवारी हो ।’ उनका अनुसार यही क्रम बढ्दै जाने हो भने अबको ५० वर्षपछि सामान्य जीवनयापनका लागि पनि पानीको अभाव हुने अवस्था आउने अध्ययनहरूले देखाएका छन् । यसबाट प्राणी जीवनमा पर्न सक्ने जोखिम आकलन गरेर त्यस्तो अवस्था आउन नदिन आजबाटै उपाय अवलम्बन गर्नुपर्छ ।