
उच्चपदस्थ व्यक्तिहरूकै संलग्नतामा शरणार्थीका नाममा भएको ठगी घटनामा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई थप चार दिन हिरासतमा राख्न अनुमति दिइएको छ।
काठमाडौं जिल्ला अदालतले आज म्याद थपसम्बन्धी आदेशमा उनीसहितलाई चार दिन हिरासतमा राखी अनुसन्धान गर्न म्याद थपको अनुमति दिएको हो। काठमाडौं जिल्ला अदालतले शनिबारदेखि गणना हुने गरी चार दिनको समय दिएको हो।
यो प्रकरणमा पूर्वमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य खाणसहित नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, पूर्वमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीपलगायत पक्राउ परेका छन्।
पक्राउ पुर्जी जारी भएका टोपबहादुर रायमाझी र बादलका छोरा प्रतीक फरार छन्।
यो प्रकरणमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले १२ चैतमा तीनजनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको थियो। ठगीबाट सुरु भएको अनुसन्धान अहिले संगठित अपराधअन्तर्गत पनि चलिरहेकाले प्रहरीलाई ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्ने अधिकार छ।