यतिवेला विश्वबजार नै तताएको नक्कली भुटानी शरणार्थी प्रकरणबारे पुनर्वास भएका हुन् वा नेपालतिरै रहेका भुटानी अग्रज, सरोकारवाला र विभिन्न देशमा रहेका भुटानीको क्रियाशील समाज मौन छ । यो मौनतामा मुख्यतः दुई कारण हुन सक्छ । पहिलो, जे भयो भइगयो किनभने नेपाल सरकारले यसमाथि अनुसन्धान गरिरहेकै छ । दोस्रो, समाजका अग्रजहरू पनि कुनै न कुनै किसिमले यो प्रकरणमा मुछिएका छन् र हुलमुलमा जिउ जोगाउनतिर उनीहरू लागेका हुन सक्छन्।
पुनर्वास हुनुपूर्व, पुनर्वास हुँदै गर्दा र पुनर्वास प्रक्रिया सम्पन्न भएपछि नेपाली र भुटानी शरणार्थी समाजबाट नक्कलीलाई शरणार्थी बनाएको विषय सञ्चारमाध्यममा आएको थियो । तर, कसैले यति ठूलो गिरोहको सञ्जाल नै छ भनेर अनुमानचाहिँ नलगाएकै हो।
यस विषयले विश्वको ध्यान तानिरहँदा भुटानी समाज मौन बस्न मिल्दैन । यदि भुटानी शरणार्थी पनि यस्तो तस्करीमा समावेश भएका थिए भने विश्वको जुनसुकै कुनामा भए पनि उनीहरूविरुद्ध सम्बन्धित देशको प्रशासनसमक्ष उजुरी दिएर कारबाहीको दायरामा ल्याउन सक्नुपर्छ । यस्तो घिनलाग्दो कार्य गर्नेहरू जहाँसुकै भए पनि अपराधी नै हुन्।
यदि सरकारले कसैमाथि राजनीतिक प्रतिशोध साँध्ने ध्येय राखेर यो कार्य अघि बढाएको हो भने नेपाल सरकार भविष्यमा माफीको लायक पनि हुँदैन । अहिले सरकारमाथि शंका नगरौँ ।
नेपाल सरकार र गृह प्रशासनले अहिलेको छानबिनबाहेक झापा र मोरङमा पनि बेग्लै आयोग गठन गरेर यसमाथि थप अनुसन्धान थाल्न जरुरी छ । झापा र मोरङमा सन् १९९६ देखि २०१६ सम्म नेपाल सरकारका प्रतिनिधि, संघसंस्थाका अधिकारी र शिविर व्यवस्थापन समितिका प्रतिनिधिलाई राम्रोसँग सोधपुछ गर्ने हो भने विस्तृत अनुसन्धान हुन्छ र वास्तविकता बाहिर आउँछ । त्यसो त भुटानी शरणार्थी शिविर र आसपासका मानिसलाई गोप्य रहने गरी जानकारी माग्ने हो भने नेपाल सरकार कैयौँ मानव तस्करसम्म पुग्न सक्छ । यी तस्करलाई कानुनसम्म नपुर्याएसम्म भविष्यमा यस्ता घटना रोक्न मुस्किल छ । यदि सरकारले कसैमाथि राजनीतिक प्रतिशोध साँध्ने ध्येय राखेर यो कार्य अघि बढाएको हो भने नेपाल सरकार भविष्यमा माफीको लायक पनि हुँदैन । अहिले सरकारमाथि शंका नगरौँ ।
जति पनि नक्कली शरणार्थी सरकारको आँखामा शंकाको घेरामा छन्, उनीहरूको राहदानी तुरुन्त कब्जा गरी देश नछाड्ने वातावरण सरकारले बनाउनुपर्छ । यदि यस्तो कदम चाल्ने हो भने तस्करहरू कानुनको फन्दामा सजिलै आउँछन्।
संगठित रूपमा आवाज नउठाएका भुटानी समुदायका विभिन्न अगुवा छिटफुट रूपमा बल्लतल्ल बोल्न थालेका छन् । पुनर्वासित पूर्वभुटानी हाल अस्ट्रेलियाका नागरिक भइसकेका प्रकाश धमलाले फेसबुकमा इतिहासको स्मरण गराएका छन् । तत्कालीन प्रधानमन्त्री मरिचमानसिंहको पालामा सन् १९८९ मा नेपालमा शरण खोज्दै बाँच्न आएका भुटानी नेताहरूलाई पक्रेर बिर्तामोडदेखि काठमाडौं र काठमाडौंदेखि भुटानलाई जिम्मा लगाएपछि एक लाख नेपालीभाषी भुटानीको बिचल्लीको दिन भएको उनको तर्क छ । ‘१९९३ सालतिर तत्कालीन गृहमन्त्री शेरबहादुर देउवाले भुटान सरकारसँग नेपालमा शरणार्थी जीवन बिताइरहेका हामीलाई चार वर्गीकरण गर्ने भनेर हस्ताक्षर गरेर हाम्रो भविष्यमाथि खेलबाड गरेकै हुन् । हामीलाई फर्गटन पिपल बनाउने पहिलो काम त्यही थियो,’ उहाँको तर्क छ । संयुक्त भेरिफिकेसन टिमले पाँच वर्षीया बालिकालाई पनि आतंककारी सूचीमा राखेपछि नेपाली टोली यो मामिलामा कति पनि संवेदनशील नरहेको उनको आरोप पनि गलत छैन ।
कवि डिल्लीराम आचार्यको भावुक तर्क छ, ‘भुटानीको कर्म पनि कस्तो रहेछ । छानबिन गर्दागर्दै बुढो पिँढी सकियो, अब फेरि छानबिन सुरु हुने रहेछ । मेरा साथी इन्द्र फुँयालको भनाइ छ कि भुटानी शरणार्थी बनेर अमेरिका आएका नेपाली नागरिकको अब खोजी गर्नुपर्छ।’
पुनर्वास प्रक्रिया अगावै पनि धेरै नेपाली नागरिकले भुटानी शरणार्थी बनेर विकसित मुलुक छिरेको हो–हल्ला चलेकै थियो । झापा र मोरङका मात्र होइन, यी र यस्ता तस्करले नेपालभरिबाटै नक्कली शरणार्थी बनाएको हुनुपर्छ ।
अब लहरो तान्दा पहरो तानिहाल्यो । यस काण्डले एकखाले भूकम्प नै ल्याएको छ । भुटानसँगको १५औँ चरणको वार्ता किन असफल भयो, कुन–कुन परराष्ट्रमन्त्रीको पालामा कति–कति रकम बुझेर यो मुद्दा फितलो बनाइयो ? यता पनि अनुसन्धान गर्न जरुरी छ । त्यसो त स्वार्गीय गिरिजाप्रसाद कोइलाको भुटानको राजपरिवारसँग राम्रो सम्बन्ध रहेको र उनले फाइदा लिएर मुद्दा फितलो बनाएको आशंका अहिले पनि भइरहेका छन् । यसको पनि सत्यतथ्य छानबिन गर्नुपर्छ।
भुटानी शरणार्थीको मुद्दा अमेरिकासँग जोडिएकाले अघि बढेको हो नत्र सामसुम हुन्थ्यो भनेर पनि नेपाली नेताले बताइरहेका छन् । नेपाली कांग्रेसकी नेत्री आरजु देउवाले मे ९ का दिन रिपब्लिकालाई बताइन्, त्यस्तै राप्रापाका उपाध्यक्ष रवीन्द्र मिश्रले अमेरिकाको दबाबमा यो मुद्दाले गति लिइरहेको बताएका छन् । यदि अमेरिकाको यो चासो सही हो भने भने नक्कली भुटानी शरणार्थी यहाँको कानुनबाट बच्ने छैन, उनीहरूले बेलैमा आत्मसमर्पण गरे हुन्छ।
‘यो एउटा अनौठो र आपराघिक गतिविधि हो, अन्तर्राट्रिय फौजदारी अदालत, शरणार्थीसम्बन्धी एजेन्सी र युएस स्टेट डिपार्टमेन्ट अनुसन्धानमा संलग्न हुनुपर्छ र यो मुद्दामा हस्तक्षेप गर्नुपर्छ।’
क्तिगत कुराकानीमा भुटानी मानव अधिकारवादी नेता डिपी काफ्ले जरैदेखि यो प्रकरणको छानबिन हुनुपर्ने बताउँछन् । अर्का भुटानी प्रजातन्त्रवादी नेता नारद अधिकारीको भनाइमा हामी सबै सहमत छौँ । उनको भनाइ छ कि यो मुद्दा नेपालकै लागि आफ्नो छविमा आँच आउने ठूलो कलंक हो । उनी त यो प्रकरणको पछाडि भुटान सरकारकै पनि हात रहेको आशंका गर्छन् जसलाई अस्वीकार गर्न सकिने स्थिति छैन । किनभने भुटान सरकारले सुरुदेखि नै यस्तै कुनै न कुनै प्रकारको लफडा देख्न चाहेको थियो, अहिले पूरा भएको छ ।
वास्तवमा न्यायका लागि आशा गरेर शरणार्थी शिविरमा रहिरहेका निर्दोष भुटानी र भुटानको कारागारमा नारकीय जीवन बिताउन बाध्य भुटानीले न्याय पाउनुपर्छ । यो जुन काण्ड सिर्जना भएको छ, यसले भुटानी मुद्दा ओझेलमा पर्नुहुँदैन।
भुटानी प्रजातन्त्रवादी नेता हरि बगालेको भनाइलाई पनि हलुका रूपमा लिनुहुँदैन । भुटानी समुदायले नेपाल सरकारको अनुसन्धानलाई आवश्यक परेको ठाउँमा सहयोग गर्नुपर्छ किनभने शरणार्थीको सवाल आउँदा हामी साँच्चै नै भावुक हुन्छौँ । भुटनिज कम्युनिटी अफ ह्यारिसबर्गका अध्यक्ष तिलक निरौला भन्छन्, ‘यो एउटा अनौठो र आपराघिक गतिविधि हो, अन्तर्राट्रिय फौजदारी अदालत, शरणार्थीसम्बन्धी एजेन्सी र युएस स्टेट डिपार्टमेन्ट अनुसन्धानमा संलग्न हुनुपर्छ र यो मुद्दामा हस्तक्षेप गर्नुपर्छ ।’
रेनेन्सबर्क ओहाइयोको सिटी काउन्सिल मेम्बर रहेका अर्का अगुवा भुवन प्याकुरेलको भनाइ छ, ‘पहिला हामी नेपालीभाषी भुटानी हाँै, हामी जहाँ रहे पनि भुटानी नै हाँै, कसैले नक्कली भुटानी बन्न र बनाउन खोज्छ भने यिनलाई त्यहाँको स्थानीय कानुनअनुसार सशक्त कारबाही गर्नुपर्छ । नक्कली शरणार्थी कसैले चिनेको छ भने स्थानीय सरकारलाई सूचना दिएर सहयोग गर्नुपर्छ ।’
यो मानव तस्कर आपराधिक गिरोह जोसुकै भए पनि उनीहरूमाथि हदैसम्मको कारबाही हुनुपर्छ । यस्तै, गिरोह र अपराधीका कारण २०औँ वर्षसम्म भुटानीले दुःख पाइनै रहे । कतै नक्कली भुटानीहरू पुनर्वास भएकै कारण ६ हजार पाँच सयभन्दा बढी सक्कली भुटानी त शिविरमा छाडिएका होइनन् ? अब पनि सक्कली भुटानीलाई शिविरमा राखेर नेपाल सरकारले कमाइखाने भाँडो बनाउनुहुँदैन । स्वदेश फिर्न चाहनेलाई फिर्ताको पहल गर्नुपर्छ । नेपालमै बस्न चाहनेलाई उचित व्यवस्थापन र पुनर्वास चाहनेलाई परिवारसँग भेट र मेलमिलापको वातावरण बनाउनुपर्छ।
अमेरिका र क्यानडामा पाँचजनाको स्पोन्सर टिमले शरणार्थीलाई पुनर्वास गराउने व्यवस्था ल्याएको छ । यसमा सहभागी गराइएमा भुटानी शरणार्थीको पुनर्वास प्रक्रिया सजिलै समाधान हुन्छ।
गत वर्षको अगस्टमा म नेपाल आउँदा गरामुनी, बिर्तामोड र सुरुंगाका केही व्यक्तिले आफूलाई शरणार्थी बनाएर अमेरिका उडाइदिने भन्दै जनही २५ देखि ५० लाख मागेको दुःखेसो पोखेका थिए । अहिले समय आएको छ कि यस्ता गिरोहलाई हदैसम्मको कारबाही हुनुपर्छ ता कि भविष्यमा कसैले यस्तो अपराध गर्न त के सोच्न पनि नसकोस्।
(निरौला पूर्वभुटानी शरणार्थी हुन् । तेस्रो मुलुक पुनर्वासका क्रममा हाल अमेरिका रहेका उनी अमेरिकामा पत्रकारिता गरिरहेका छन्। उनी सन् २०२१ मा अमेरिकी राष्ट्रपतिबाट विभूषित भएका थिए । उनी हालै प्रकाशित ‘द फरगटन स्टोरी’ पुस्तकका लेखक हुन् ।)