
लामो दूरीको यातायातबारे महानगरको निर्णय
काठमाडौं महानगरपालिकाले लामो दूरीका सवारीसाधन नयाँ बसपार्कबाट मात्र सञ्चालन गर्न पाउने निर्णय गरेको छ । शुक्रबार बसेको सरोकारवालाको बैठकले ‘एक बसपार्क नीति कार्यान्वयन’ प्रस्तावमाथि छलफल गर्दै नयाँ बसपार्कबाहेक अन्यत्र ठाउँबाट यात्रु चढाउन र ओराल्न नपाउने निर्णय गरेको हो ।
हाल महानगरभित्र गौशाखा, बल्खु, कोटेश्वर क्षेत्रबाट पनि लामो दूरीका सवारीसाधन छुट्ने गरेका छन् । ‘लामो दूरीको यातायातका लागि अब महानगरभित्र एउटा मात्र बसपार्क हुन्छ, त्यसबाहेक क्षेत्रबाट यात्रु चढाउन र ओराल्न पाइनेछैन,’ महानगरका ट्राफिक व्यवस्थापन सल्लाहकार जगतमान श्रेष्ठले नयाँ पत्रिकासँग भने, ‘यसले ट्राफिक व्यवस्थापन र सुरक्षामा सघाउ पुर्याउने अपेक्षा छ ।’अहिले धेरै क्षेत्रबाट लामो दूरीका गाडी छुट्दा यात्रु अन्योलमा पर्ने र टिकटमा ठगिने क्रम पनि बढेकाले एकद्वार प्रणाली लागू गरिएको उनले बताए ।
बैठकले नयाँ बसपार्कबाहेक अन्य क्षेत्रका टिकट काउन्टर पनि हटाउने निर्णय गरेको छ । ‘बसपार्कको टिकट काउन्टरबाट तोकिएको भाडादरमा यात्रु जान्छन् । त्यसबाहेक बन्द हुन्छन्,’ उनले भने । अहिले गौशाला, चाबहिल, सुन्धारालगायत विभिन्न ठाउँमा पनि लामो दूरीमा चल्ने सवारीसाधनका टिकट काउन्टर छन् । काठमाडौंमा दैनिक करिब सात सय संख्यामा सवारीसाधन प्रवेश गर्छन् भने त्यही संख्यामा बाहिरिन्छन् । नयाँ बसपार्कको सात सय ५० वटा सवारीसाधन व्यवस्थापन गर्ने
क्षमता छ । नयाँ बसपार्कमा लगाइने शुल्क अध्ययन गर्न महानगरका ट्राफिक व्यवस्थापन सल्लाहकार श्रेष्ठको संयोजकत्वमा आठ सदस्यीय समिति गठन गरिएको छ ।
समितिको सदस्यमा महानगर प्रहरी बलका प्रमुख, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, उपत्यका ट्राफिक प्रहरी कार्यालय, जिल्ला प्रहरी परिसर काठमाडौं, जिल्ला प्रशासन कार्यालय, यातायात व्यवस्था कार्यालय, ल्होत्से बहुउद्देश्यीय प्रालि र सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालका प्रतिनिधि सदस्य छन् ।