
राष्ट्रिय सभा सदस्य वामदेव गौतमले सरकारले उच्च शिक्षा पूर्ण रूपमा निःशुल्क गराउन सक्नुपर्ने बताएका छन्। शुक्रबार दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।
उनले आफ्नो आवश्यकताबमोजिम सरकारले प्राविधिक र गैरप्राविधिक क्षेत्रमा लगानी विस्तार गरी काम अघि बढाउनुपर्ने बताए।
उनले देशका लागि आवश्यक जनशक्ति यहीँ नै उत्पादन गर्न सके मात्रै शिक्षा क्षेत्रको विकास हुने बताए। उनले सरकारले स्वदेशमा नै उच्च गुणस्तरीय शिक्षा दिने ग्यारेन्टी गरेर विद्यार्थीहरूलाई विदेश अध्ययनका लागि जान रोक लगाउनुपर्ने बताए।
उनले शैक्षिक शक्ति निर्माण गर्न र विश्वमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति निर्माण गर्ने कुराको ग्यारेन्टी विश्वविद्यालयले लिन सक्नुपर्ने पनि बताए। सदस्य गौतमले नेपाललाई चाहिने विज्ञ जनशक्ति कसरी नेपालमा नै उत्पादन गर्ने भन्नेबारे राज्य संवेदनशील हुनुपर्ने बताए।