१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०८० बैशाख २७ बुधबार ०६:०१:००
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

प्रधानमन्त्रीको भारत र चीन भ्रमणको तयारी

मिति टुंगिन बाँकी, कूटनीतिक संयन्त्र गृहकार्यमा

Read Time : > 1 मिनेट
२०८० बैशाख २७ बुधबार ०६:०१:००

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतलगत्तै चीन भ्रमणमा जाने तयारीमा छन् । कूटनीतिक संयन्त्र प्रधानमन्त्रीको भारत र चीन भ्रमणका लागि गृहकार्यमा छ । तर, भारत भ्रमणको मिति नटुंगिँदा चीन भ्रमणको मिति पनि तय हुन सकेको छैन । 

सुरुमा भारत भ्रमण गरेर फर्केपछि अर्को छिमेक चीन भ्रमण जाने प्रधानमन्त्रीको तयारी रहेको र त्यसमा काम भइरहेको प्र्रधानमन्त्रीका मुख्य सल्लाहकार हरिबोलप्रसाद गजुरेलले बताए । ‘प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय हुन बाँकी छ । त्यसका लागि आवश्यक तयारी भइरहेको छ,’ गजुरेलले नयाँ पत्रिकासँग भने, ‘भारत भ्रमणपछि चीन भ्रमण हुन्छ । चीनबाट निमन्त्रणा आइसकेको छ ।’ 

हरिबोल गजुरेल प्रधानमन्त्रीका मुख्य सल्लाहकार
प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय हुन बाँकी छ । त्यसका लागि आवश्यक तयारी भइरहेको छ । भारत भ्रमणपछि चीन भ्रमण हुन्छ । चीनबाट निमन्त्रणा आइसकेको छ । आवश्यक समयमा चीन भ्रमण हुन्छ, त्योभन्दा अघि भारतको भ्रमण हुन्छ ।

प्रधानमन्त्री प्रचण्डले भारत र चीन भ्रमण गरेर दुवै छिमेकी नेपालका लागि उत्तिकै महत्वपूर्ण छन् भन्ने सन्देश दिन चाहेका छन् । ‘आवश्यक समयमा चीन भ्रमण हुन्छ, त्योभन्दा अघि भारतको भ्रमण हुन्छ,’ गजुरेलले भने । 

प्रधानमन्त्रीको भारत भ्रमण वैशाख अन्तिम सातादेखि जेठको पहिलो सातासम्म हुने अपेक्षा भए पनि मिति तय भएको छैन । जेठ पहिलो सातासम्म हुन नसके सरकारको नीति तथा कार्यक्रम र बजेटभन्दा पहिला सम्भावना छैन । एक कूटनीतिक अधिकारीले नयाँ पत्रिकासँग भने, ‘प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएर लम्बिएको होइन । अहिलेसम्म विभिन्न मितिका विषयमा छलफल भएको हो । तर, यही मिति भन्नेमा तय नै भएको छैन ।’ 

गत वर्ष बुद्धजयन्तीका अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमण भएको थियो । त्यसअघि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमण गरेका थिए । मोदीले लुम्बिनी भ्रमणका वेला नेपालका प्रधानमन्त्रीलाई भारत भ्रमणको निमन्त्रणा दिएका थिए । पारस्परिकताका आधारमा नेपालका प्रधानमन्त्रीको भारत भ्रमण हुन लागेको हो । 

चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले भारत भ्रमणपछि प्रधानमन्त्रीको चीन भ्रमण अपेक्षित रहेको बताए । ‘परराष्ट्रसचिव भरतराज पौड्यालको चीन भ्रमणका वेलामा नेपालबाट उच्चस्तरीय भ्रमणका विषयमा छलफल भएको थियो । कहिले हुन्छ भन्ने तय छैन, तर प्रधानमन्त्रीको चीन भ्रमण हुन्छ र आवश्यक गृहकार्य सरकारले सम्भवतः गरिरहेको छ,’ श्रेष्ठले बेइजिङबाट टेलिफोनमा भने । 

प्रधानमन्त्री प्रचण्डले पहिलो विदेश भ्रमण भारतबाट गर्ने बताउँदै आएका छन् । प्रधानमन्त्रीलाई भारतीय समकक्षी नरेन्द्र मोदीले भ्रमणको निमन्त्रणा पठाइसकेका छन् । चीनबाट पनि प्रधानमन्त्रीलाई बोआओ फोरमका लागि निमन्त्रणा आए पनि त्यही समयमा भारत भ्रमण हुन सक्ने सम्भावना मध्यनजर राख्दै उनले चीन जान नसक्ने जानकारी पठाएका थिए । ‘अहिले भारत भ्रमणको मिति तय भइनसकेको हुनाले उहाँको चीन भ्रमणको मितिका विषयमा चिनियाँ पक्षसँग कुराकानी गर्न पाइएको छैन । तर, प्रधानमन्त्रीले निकट भविष्यमा सुरुमा भारत र त्यसलगत्तै चीनको भ्रमण गर्ने निश्चित छ,’ एक उच्च कूटनीतिक अधिकारीले भने । 

प्रचण्ड यसअघि ०७४ मा प्रधानमन्त्री हुँदा सुरुमै भारत र चीनका लागि विशेष प्रतिनिधि पठाएका थिए । उनले चीनमा तत्कालीन उपप्रधानमन्त्री एवं अर्थमन्त्री कृष्णबहादुर महरा र भारतमा तत्कालीन उपप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधिलाई विशेष दूतका रूपमा पठाएर दुवैसँग उत्तिकै प्राथमिकता पुष्टि गरेका थिए । ‘अहिले प्रधानमन्त्री प्रचण्ड छोटो समयको अन्तरालमा दुवै देशको भ्रमण गरेर छिमेकीप्रति विश्वसनीय सम्बन्ध स्थापित गर्न चाहनुहुन्छ,’ प्रधानमन्त्रीनिकट स्रोत भन्छ ।