मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०८० बैशाख २६ मंगलबार १७:३२:००
Read Time : > 4 मिनेट
ब्लग डिजिटल संस्करण

‘निरोगी नागरिक बनाउने महाअभियान’मा सरकारी साथकाे खाेजी

सरकारले पर्याप्त बजेट देओस्, हामी मुलुकलाई स्वस्थ नागरिक दिन्छौँ । सबैले यो बुझ्नुपर्छ, स्वास्थ नागरिकले मात्र परिवार, समाज, देश र संसार निर्माण गर्न सक्छन् । त्यसैले बजेट निर्माणको यस घडीमा निर्मार्ताहरूको ध्यानाकर्षण गराउँछाैँ

Read Time : > 4 मिनेट
२०८० बैशाख २६ मंगलबार १७:३२:००

निरोगी रहन र रोगमुक्त हुन भरपर्दो आधार : प्राकृतिक उपचार
एउटा भनाइ छ, ‘नपरी थाहा हुँदैन वा नमरी स्वर्ग देखिँदैन।’ जुन म आफूमा पनि लागू भयो । २८–२९ वर्षकै उमेरमा ग्यास्टिक, अल्सर, पिनास, टन्सिल, डिप्रेसनलगायतका रोग जटिल बनेर अन्तिम अवस्थामा पुगेपछि जीवनको मूल्य थाहा पाएँ। रोग ठीक पार्न नेपाल र भारतका सुविधा सम्पन्न अस्पताल नचहारेको ठाउँ थिएन। तर, बीसको उन्नाइस भएन। प्राकृतिक चिकित्सा र योगबाट ठीक हुन्छ कि भन्ने झिनो आशले भारतको गोरखपुरमा रहेको आरोग्य मन्दिर प्राकृतिक चिकित्सा केन्द्रमा तीन महिना उपचार गरेँ । तर, ठिक भएको महसुस भएन । निराश भएर घरमै मरुँला भन्ने सोचेर फर्किएँ । तर, बाँच्ने इच्छा प्रबल थियो।

केही दिनपश्चात् पोखरामा पनि यस्तै अस्पताल छ भन्ने थाहा पाएर अन्तिम विकल्प सोचेर त्यहाँ पुगेँ। लाग्दैनथ्यो बाचूँला, कारणवश बाँचेमा सोही विधाको प्रवर्द्धनमा आफ्नो जीवन समर्पण गर्ने भगवानलाई साक्षी राखेर प्रतिज्ञा पनि गरेको थिएँ।

उपचार सुरु भएको तीन महिनामा त पूर्ण स्वास्थ्य लाभ भयो। भारतमा गरेको उपचारले शरीर सफा (सोधन) भएको रहेछ। पोखराकोले ‘हिलिङ’ (रिबिल्ट) भयो र नयाँ जीवन पाएँ । यो २०६० सालको कुरा हो । उपचार लिएकै अस्पतालमा ३ वर्ष निःस्वार्थ रूपमा भोलेन्टिएर भएर सेवा गरेँ। त्यसपछि ‘मैले त नयाँ जीवन पाएँ, अरूलाई किन नदिने?’ भन्ने सोचले विभिन्न प्रकृतिबाट स्रोत जुटाउन आफू जन्मिएकै थलो रजहर र सिंगो समाजलाई प्रेरित गर्दै सबै तारतम्य मिलेको व्यवस्थित सामुदायिक प्राकृतिक चिकित्सालय स्थापनाको लागि नाफाको जीवन समर्पण गर्ने निर्णय लिएँ। यहाँबाट हालसम्म हजारौँले नयाँ जीवन पाएका छन्। उपचार पद्धतिमा प्राकृतिक चिकित्सा र योग नै उत्तम विकल्प रहेछ भन्ने बुझेर फर्किएका छन्।


हरिप्रसाद सापकाेटा,
व्यवस्थापक : सामुदायिक प्राकृतिक चिकित्सालय

कोरोनाको महामारीमा ८ सय बढी संक्रमितलाई यहाँ राखियो। कोही जटिल अवस्थाका पनि थिए। सबैलाई ठीक पारेर पठाउने नेपालकै उदाहरणीय अस्पताल रजहर बन्यो। प्राकृतिक चिकित्सा, योग, जीवनशैली सुधार र प्राकृतिक आहारविहारबाटै यो सम्भव भएको थियो। यति हुँदाहुँदै पनि सीमित साधन, स्रोत, जनशक्ति र न्यूनतम् शुल्कबाटै अहिलेसम्म प्राकृतिक चिकित्सालय टिकाउनुपरेको बाध्यात्मक परिस्थितिसँग जुध्नुपरेको छ। अन्य उपचार पद्धतिबाट ठीक नभएका धेरैजनाले यहाँ पुनः जीवन पाएका छन्। तर, सर्जरीबाहेकका सबै रोग निको पार्न सकिने प्राकृतिक चिकित्सालाई दिगो रूपमा टिकाउन यतिले सम्भव छैन। नीति र बजेट मुख्य कुरा हो। यसमा सरकारको ध्यानाकर्षण हुन जरुरी छ। छिनमै दुःखाई कम गर्ने औषधी दिएर रोगीलाई निश्चित समय आराम दिने एलोपेथिक अस्पताल अहिले चोक–चोकमा खुलेका छन्। सरकारी अस्पताल जिल्ला जिल्लामा छन्। तर, रोगीको संख्या घटेको छैन। जुन अस्पताल पुगे पनि भिड उति नै छ। आज आराम भएकाहरू भोलि रोग बल्झिएर जीर्ण र जटिल अवस्थामा पुगेका छन्/ पुग्दै छन्।

अन्य उपचार पद्धतिबाट कुनै एउटा रोग निको बनाउन ओखती खाँदा त्यसले सो समस्याको लक्षण मात्र केही समयका लागि दबाउने हो । विज्ञानका कयौँ प्रयोगले सिद्ध गरेको छ, त्यस्ता ओखतीको बारम्बार प्रयोगको असर शरीरका अरु महत्वपूर्ण अंगमा पर्छ । तर, प्राकृतिक चिकित्सा यस्तो विधा हो, जसले रोगको जरोको उपचार गर्छ र जीवनभर सो समस्या दोहोरिँदैन । 

सरकारले जीर्ण र जटिल डाइलासिसजस्ता रोगको उपचार गर्न छुट साथै सुविधा दिने निर्णय बजेट र नीतिमा नै समावेश गरेको छ। तर, नागरिकलाई स्वस्थ राख्नका लागि यो विकल्प दिगो होइन। क्षणिक समय ठीक पार्ने उपचार नभई रोगलाई जरैदेखि उखेल्ने प्राकृतिक चिकित्सा र योग क्षेत्रको विकासमा लगानी गर्न सरकारले कञ्जुस्याईं गर्नुहुँदैन।

नगर अस्पताललाई उपलब्ध गराइने जनशक्ति र बजेटको व्यवस्था मात्र नीतिगत रूपमा नै प्राकृतिक चिकित्सालयलाई गर्न सकेमा यसको सकारात्मक असर दीर्घकालसम्म देशैभरिबाट आउने आर्थिक विपन्न नागरिकहरूले समेत उपचारमा पहुँच राख्ने वातावरण सिर्जना हुन्छ। आफ्ना नागरिक एलोपेथिक उपचारबाट चाँडो ठीक भएर बारम्बार बिरामी बन्नुभन्दा एकैपटक नबल्झिने गरी ठीक हुने बनाउनु सरकारको कर्तव्य पनि हो। किनकि नागरिकलाई स्वास्थ्यको अधिकार संविधानले नै दिएको छ। दिगो स्वास्थ्य सेवाको व्यवस्था गर्नु सरकारको दायित्व हो।

प्राकृतिक चिकित्सा विधिले मानव शरीरमा कुनै नकारात्मक प्रभाव पार्दैन। अप्राकृतिक जीवनशैली, प्रकृतिसँगको तादम्यता नहुनु, अखाद्य पदार्थ, जंक फुड, बोतल बन्द पेयको प्रयोग नै कैयौँ असाध्य र जीर्ण रोगको मूल कारण हो। त्यसैले हरेक परिवार र सम्बन्धित निकाय होसियार हुनु नितान्त आवश्यक छ।

जंगली जनावरले प्रकृतिको नियमलाई उल्लंघन गर्दैनन् र त उनीहरू रोगी छैनन्। समयभन्दा पहिला उनीहरूमा बुढ्यौली आउँदैन र रोगको कारण अकालमा मर्दैनन् पनि। उनीहरूलाई चिकित्सकको पनि व्यवस्था गर्नुपर्दैन। तर, सभ्य भनिएको मान्छे अप्राकृतिक जीवनशैलीको कारण रोगी र दुःखी छ।

स्वास्थ भोजनको व्यवस्थाका लागि अर्गानिक खेतीको व्यवस्था गरिएको छ । चिकित्सालय परिसरमै गाईपालन गरिएको छ भने मौरीपालन गरिएको छ, जहाँबाट शुद्ध दूध र शुद्ध मह सेवन गर्न पाइन्छ ।

स्वस्थ नागरिक बनाउन सके हरेक क्षेत्र सबल बन्छ। व्यक्ति मानसिक रूपमा ठीक भए उसले गर्ने काम र दिने सेवामा गुणस्तर हुन्छ। सकारात्मक सोचको विकास हुन्छ। प्राकृतिक जीवनशैली अपनाउँदा समाजमा व्याप्त हत्या, हिंसा, बलात्कार, छली, फट्याइँ, चोरी, डकैती आदि शून्य प्रायः हुन गई समाज र देशमा नै शान्ति र सद्भाव छाउनेछ। त्यसैले स्वस्थ नागरिक उत्पादन गर्न प्राकृतिक चिकित्सा र योगका अस्पतालहरूको विकासमा सरकारले किन ध्यान नदिने ? किन कन्जुस्याईं गर्ने?

मानव शरीर पञ्च तत्वबाट बनेको छ। प्राकृतिक चिकित्सा र योगले नै शरीरलाई स्वस्थ र सबल राख्छ। आहारा नै औषधी र औषधी नै आहार यसको मूल सिद्धान्त हो। कुनै पनि उपचार पद्धतिमा प्रिभेन्टिभ उपचार गर्ने सिद्धान्त प्राक्टिसमा हालसम्म छैनन्। तर, प्राकृतिक चिकित्सा र योग यस्तो विधा हो जसमा प्रतिरक्षात्मक, उपचारात्मक र निधानात्मक तीनवटै आयाममा उपचार गर्ने सिद्धान्त उपयोग हुन्छ। हेल्थ रिपोर्ट र हेल्थ टुरिजमको अवधारणालाई व्यवहारमा ल्याउन सके आमनागरिकको स्वास्थ्यमा आमूल परिवर्तन हुन्छ।

उपचार, आहार (भोजन) तथा आवासको सबै तारतम्य मिलाइएको जेष्ठ नागरिक आरोग्य आश्रम संचालन गर्ने अर्को महत्वपूर्ण लक्ष्य हामीले लिएका छौँ । तर, यसका लागि पनि सरकारको दरिलो साथ आवश्यक छ । 

नागरिक स्वस्थ हुन सके देश सबल बन्छ। दैनिक करोडौँ रुपैयाँ औषधि खरिदमा बाहिरिने क्रम रोक्न सकिन्छ। यसो भए अर्थतन्त्रमा रचनात्मक र सकारात्मक सूचकको बढोत्तरी हुँदा राज्य सबल बन्छ। छिमेकी देश भारतका झन्डै २२ प्रान्तमा नेचुरोपेथी मेडिकल कलेज र व्यवस्थित अस्पतालहरू सञ्चालन छन्। तर, हाम्रो देशमा यस्तो व्यवस्था हालसम्म छैन। अध्ययन गर्न अन्य मुलुक जानुपर्दा विद्यार्थीले धेरै चुनौती भोगिरहेका छन्। अब यो अन्त्य हुन आवश्यक छ।

हामीले निकट भविष्यमा नै निम्न, मध्यम र प्राज्ञिक जनशक्ति उत्पादन गर्ने केन्द्र बनाई यसलाई शिक्षण अस्पतालको रूपमा सञ्चालनमा ल्याउनेछौँ। त्यसैले अहिलेको मूल आवश्यकता भनेकै प्राकृतिक चिकित्सा र योग अस्पतालको विकासमा सरकारको साथ हो। हामी सर्जरीबाहेक जटिल भनिएका रोगका बिरामीलाई पनि बचाउन सक्छौँ। तर, सरकारले हामीसँग सहकार्य गर्न आवश्यक ठान्छौँ। बजेट र नीति निर्माणमा यो प्राथमिकतामा परोस् भन्ने चाहन्छौँ। स्वास्थ्य नै धन हो भन्ने हामीले पढ्यौँ। त्यसलाई अक्षरशः प्रयोगमा ल्याउने विधालाई प्रवर्द्धन गर्न हामी नागरिक र राज्य दुवैले संकल्प गरौँ। 

कुनै पनि देशकाे विकास त्यस देशका स्वस्थ नागरिकले मात्र गर्न सक्छन् । सामुदायिक प्राकृतिक चिकित्सालयकाे मूलध्येय नै सबैलाई स्वस्थ बनाउनु हाे । 

यस लेखमा म केही तस्बिरहरू पनि समावेश गर्दैछु, जसले सामुदायिक प्राकृतिक चिकित्सालय रजहरकाे प्राकृतिक सुन्दरता र त्यहाँ विकास गरिएका भाैतिक संरचनाहरू देखाउँछ ।

हामीले विभिन्न सहयाेगी हातहरूकाे मार्फत् जे जति विकास गर्न सकेका छाैँ, यी तस्बिर त्यसका साक्षी हुन् । तर, हामीले चाहेकाे, हामीले सुदूर भविष्यमा देखेकाे प्राकृतिक चिकित्सालयकाे सम्भावनाकाे विकासका निम्ती विशेषतः राज्यकाे महत्वपूर्ण साथ सहयाेग चाहिएकाे छ । 

कुनै पनि देशकाे विकास त्यस देशका स्वस्थ नागरिकले मात्र गर्न सक्छन् । सामुदायिक प्राकृतिक चिकित्सालयकाे मूलध्येय नै सबैलाई स्वस्थ बनाउनु हाे । किनकी, तिनै स्वस्थ नागरिकले मात्र याे मुलुककाे विकास गर्छ सक्छन् । भावी सन्ततिका लागि सुन्दर नेपाल सुम्पन सक्छन् । यसैले भन्न सकिन्छ, हाम्राे र सरकारकाे ध्यय एउटै छ । यसर्थ, बजेट निर्माणकाे अन्तिम चरणमा रहेकाे सरकारबाट सामुदायिक प्राकृतिक चिकित्सालय रजहरले ठूलाे अपेक्षा राखेकाे छ । सबैलाई स्वस्थ बनाउने हाम्राे महाअभियानमा सरकारकाे साथकाे खाँचाे छ ।
अन्त्यमा यति भन्छु, जीवन रहे न जगत रहन्छ। जय प्रकृति ।

(सापकोटा, सामुदायिक प्राकृतिक चिकित्सालय रजहर नवलपरासीका व्यवस्थापक हुन् ।)