
राष्ट्रिय सभा सदस्य दिलकुमारी रावल थापा पार्वतीले विनियोजन विधेयक, २०८० का सिद्धान्त र प्राथमिकता लय मिलेको निबन्धजस्तो भएको टिप्पणी गरेकी छिन्।
राष्ट्रिय सभाको सोमबार बसेको बैठकमा आगामी वर्षको बजेट र सिद्धान्तमाथि छलफल गर्दै उनले गठबन्धन सरकारले चालू बजेटमा आठ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य राखेको भए पनि त्यो पूरा नहुने स्थिति स्पष्ट रहेको बताइन्।
‘आजका दिनसम्म करिब तीन प्रतिशतको आर्थिक वृद्धिदरको सीमितताभित्र अहिलेको अवस्था छ। त्यो अवस्था कसरी सिर्जना भयो ? अहिलेसम्म के–के भए ? आगामी दिनमा हामी फराकिलो आर्थिक वृद्धिदर हासिल हुन्छ भनेर पत्याउने र विश्वास गर्ने आधार कसरी सिर्जना गर्न सक्छौँ ? के हो फराकिलो आर्थिक वृद्धिदर भनेको ? कति अंकमा हो ? त्यो अंक स्पष्ट सरकारले गर्न सकेको छैन,’ उनले भनिन्।
सांसद रावलले गत वर्ष बजेट निर्माणको क्रममा करको दर हेरफेर भएको उल्लेख गर्दै त्यसले उद्योगी–व्यवसायीमा नकारात्मक प्रभाव परेको बताइन्। आगामी वर्षको बजेट निर्माणमा बिचौलियको प्रयोग हुँदैन भन्ने प्रत्याभूति सरकारले जनता र संसद्लाई दिनुपर्नेमा उनको जोड थियो।