
बाँकेमा डेंगुको संक्रमण बढ्न थालेको छ। जिल्लाको कोहलपुरमा पाँचजनामा डेंगुको संक्रमण देखिएको हो।
कोहलपुर नगरपालिकास्थित नगर अस्पतालको प्रयोगशालामा परीक्षण गरिएकामध्ये पाँचमा डेंगुको संक्रमण देखिएको अस्पतालका प्रयोगशाला इन्चार्ज दीपक शर्माले बताए । उनका अनुसार कोहलपुर– २ का दुई, वडा नम्बर ५, ११ र १४ का एक-एकजनामा डेंगु संक्रमण देखिएको हो।
उनीहरू सबैमा रोगको लक्षण देखिएको छ। अस्पतालका डा. रवि शर्मा वाग्लेले संक्रमणलाई अस्पतालको निगरानीमा राखेर उपचारसँगै परामर्श दिइरहेको बताए। उनका अनुसार बिरामीको स्वास्थ्य अवस्था सुधार भइरहेको छ।
जिल्ला स्वास्थ्य कार्यालयका कीटजन्य रोगका स्रोतव्यक्ति दुर्गा गौतमका अनुसार डेंगु संक्रमण बढ्न सक्ने अवस्थालाई ध्यानमा राख्दै स्वास्थ्य कार्यालयले स्थानीय तहका स्वास्थ्य शाखालाई सतर्कता अपनाउन अपिल गरेको छ।
आर्थिक वर्ष ०७९-८० को भदौ, असोज र कात्तिकमा जिल्लामा डेंगुको प्रकोप फैलिएको थियो। यी तीन महिनामा मात्रै एक सय ७० जनाभन्दा बढी व्यक्ति डेंगुबाट संक्रमित भएका थिए।