Skip This
एयरपोर्ट–माइतीघरको फुटपाथ भत्काएर तार भूमिगत गर्न प्राधिकरणको माग
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख २१ बिहीबार
  • Sunday, 07 July, 2024
शिवहरि घिमिरे काठमाडाैं
२o८o बैशाख २१ बिहीबार १o:४७:oo
Read Time : > 2 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार

एयरपोर्ट–माइतीघरको फुटपाथ भत्काएर तार भूमिगत गर्न प्राधिकरणको माग

Read Time : > 2 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
२o८o बैशाख २१ बिहीबार १o:४७:oo

सडक विभाग भन्छ– अनुमति दिन सकिँदैन

एयरपोर्टदेखि माइतीघरसम्मका फुटपाथ काठमाडौंका अन्य ठाउँका भन्दा राम्रा र चिटिक्क छन् । सडक डिभिजन काठमाडौं र काठमाडौं महानगरले यो खण्डको फुटपाथ मर्मत एक वर्षअघि मात्रै गरेको हो ।

तर, यही खण्डको फुटपाथ भत्काउन विद्युत् प्राधिकरणले सडक विभागसँग अनुमति मागेको छ । फुटपाथमुनि तार भूमिगत गर्ने भन्दै प्राधिकरणले अनुमति मागेको हो । विभागले भने भर्खर बनेको फुटपाथ भत्काए सर्वसाधारणलाई ओहोरदोहोरमा सास्ती हुने भन्दै अनुमति दिन आनाकानी गरिरहेको छ । 

प्राधिकरणले उपत्यकाका केही सडकमा तार भूमिगत गरिरहेको छ । भूमिगत गर्ने क्रममा यात्रु र सवारी आवागमनमा अवरोध भएको भन्दै सर्वसाधारणले गुनासो गरेका छन् । सडक विभागले पनि प्राधिकरणले सम्झौताविपरीत काम गरेको आरोप लगाउँदै आएको छ । प्राधिकरणले हालसम्म मुख्य योजनाको करिब १४ प्रतिशत सम्पन्न गरेको जनाएको छ । कतिपय भित्री सडकमा तार भूमिगत गरेपछि फुटपाथमा धराप थापेजस्तो भएको छ । तार भूमिगत गर्न भत्काएको कालोपत्रे मर्मत नगरिदिने, खाल्डा नपुर्ने र कालोपत्रे गरे पनि झारा टार्ने खालको मात्रै भएको सडक विभागको आरोप छ । जसका कारण उपत्यकाका अधिकांश सडक हिलाम्ये, धुलाम्ये र अस्तव्यस्त छन् ।

जहाँ–जहाँ तार भूमिगत त्यहाँ–त्यहाँ सडक अस्तव्यस्त
बागमती करिडोर, धोबीखोला करिडोर, अनामनगर क्षेत्र, टेकु कालीमाटी सडक, महाराजगन्ज–बुढानीलकण्ठ, चाबहिल महांकाललगायत सडक विद्युत् प्राधिकरणले तार भूमिगत गर्दा अस्तव्यस्त पारेको छ । सम्झौताअनुसार तार भूमिगत गरिसकेपछि सडकलाई पुरानै अवस्थामा फर्काउने भने पनि त्यसो हुन सकेको छैन । जसका कारण सडकमा अवरोध हुने गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । ‘उपत्यकाका सडकमा जुन निकायले आ–आफ्नो योजनाको काम गरे पनि सडकमा अवरोध पु¥याउनुहुन्न, समयमा काम सक्नुपर्छ,’ मन्त्रालयका सचिव केशवकुमार शर्माले भने, ‘भत्काएका सडक जस्ताको त्यस्तै पार्नुपर्छ ।’ उनका अनुसार प्राधिकरण र मेलम्ची खानेपानी आयोजनाका कारण कालोपत्रे भएका उपत्यकाका सडक अस्तव्यस्त हुने गरेका छन् । 

सरकारी निकायबाटै विरोध
विनासावधानी र जथाभावी सडक भत्काएको भन्दै प्राधिकरण र मेलम्ची खानेपानी आयोजनाको सरकारी निकायले नै विरोध गरिरहेका छन् । नयाँबानेश्वर, तीनकुने, शंखमूललगायत क्षेत्रमा केही समयअघि फुटपाथ निर्माण गरेर चिटिक्क पारिएको थियो । करोडौँ रुपैयाँ खर्चेर चिरिच्याट्ट पारिएको फुटपाथमा प्रहार गरेपछि सडक विभागले पनि मुख्य सडकमा तार भूमिगत गर्न अनुमति दिएको छैन । तार, भूमिगत गरेका स्थानलाई व्यवस्थित गरेपछि मात्रै मुख्य सडकमा तार भूमिगत गर्न दिने विभागको अडान छ । विभागका महानिर्देशक सुशीलबाबु ढकालले सडकमा अवरोध नहुने गरी प्राधिकरणले काम गर्नुपर्ने बताए । ‘जहाँजहाँ प्राधिकरणले तार भूमिगत गर्दा खनेको छ काम सकाएपछि त्यसलाई व्यवस्थित गर्नु पनि उसैको दायित्व हो,’ उनले भने, ‘मुख्य सडकमा अवरोध हुने गरी प्राधिकरणले काम गर्नुहुन्न ।’

अन्धाधुन्ध सडक भत्काउन कसैले पाउँदेैन : मेयर महर्जन
उपत्यकाका सडकसँग सम्बन्धित निकायको उपचारात्मक तथा समन्वयात्मक बैठकमा मंगलबार सरोकारवालाहरूले विद्युत् प्राधिकरण र मेलम्ची खानेपानी आयोजनामाथि प्रश्न उठाएका थिए । सडक खनेर अस्तव्यस्त पारेको भन्दै सडक विभाग, काठमाडौं महानगर, ललितपुर महानगर, केयुकेएल, बागमती सभ्यता विकास समिति, नेपाल टेलिकमलगायतले प्राधिकरण र मेलम्चीमाथि प्रश्न उठाएका थिए । ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनले मेलम्ची र विद्युत् प्राधिकरणलाई अनुमतिविना काम नगर्न निर्देशन दिए । ‘हामीले व्यवस्थित बनाएका सडकमा आएर अन्धाधुन्ध भत्काउने काम कसैले पनि गर्न पाउँदैन,’ उनले भने, ‘अनुमति वा समन्वय गरेर काम गर्नुहोला ।’

प्राधिकरणले मापदण्ड पूरा गरेन : सडक डिभिजन
सडक डिभिजन काठमाडौंका प्रमुख नारायणप्रसाद निहुरेले उपत्यकाभित्र फुटपाथ निर्माण स्थानीय सरकार र सडक डिभिजनले गरिरहेको बताए । तर, निर्माण भएलगत्तै प्राधिकरणले भत्काएपछि फुटपाथ अस्तव्यस्त बनेकाले यसबारे समन्वय हुनुपर्ने उनको भनाइ छ । ‘उपत्यकाका धेरै स्थानमा फुटपाथ व्यवस्थित बनेका छन्, कतिपय ठाउँमा स्थानीय सरकार र कतिपय ठाउँमा डिभिजनले काम गरिरहेका छन्,’ उनले भने, ‘तर विद्युत् प्राधिकरणले समन्वय नै नगरी काम गरेको छ, सम्झौताअनुसारको मापदण्ड पूरा गरेको छैन ।

उनका अनुसार हाल सडक डिभिजनले नयाँबानेश्वर, तीनकुने, शंखमूलमा नयाँ फुटपाथ निर्माण गरेको छ । त्यस्तै तीनकुनेको केही भाग, शान्तिनगर, सिनामंगल, नयाँबानेश्वर चोकलगायत सडकमा महानगरले फुटपाथ व्यवस्थित पारेको छ । मुख्य सडकमा फुटपाथ निर्माण आफैँ गर्ने भन्दै महानगरले डिभिजनसँग अनुमति मागिरहेको छ । 

जेठ अन्तिम सातासम्म विकास निर्माण सक्न निर्देशन
सडक विभागले जेठको अन्तिम सातासम्म उपत्यकामा भइरहेका विकास निर्माण सक्न निर्देशन दिएको छ । मेलम्ची, विद्युत् प्राधिकरणलगातलाई सडकसँग सम्बन्धित काम यसअघि नै सक्न निर्देशन दिएको हो । विभागले साउनसम्मै काम गर्न नदिने निर्णय गरेको छ । ‘वर्षाको वेला सडकमा काम गर्न पाइँदैन, काम गर्दा ठाउँठाउँमा अरू पनि क्षति हुन्छ,’ डिभिजन कार्यालय प्रमुख निहुरेले भने । 

ad
ad
ad
ad