मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको सत्तागठबन्धनको बैठक । तस्बिर : रासस
प्रेम गौतम काठमाडाैं
२०८० बैशाख २१ बिहीबार ०५:५५:००
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

गठबन्धनमा बजेट विमर्श : सेवाप्रवाह, सुशासन र समृद्धिलाई केन्द्रमा राखेर बजेट ल्याउने

Read Time : > 1 मिनेट
प्रेम गौतम, काठमाडाैं
२०८० बैशाख २१ बिहीबार ०५:५५:००

सत्तागठबन्धनका दलहरूले सेवाप्रवाह, सुशासन र समृद्धिलाई केन्द्रमा राखेर आगामी बजेट ल्याउने गरी छलफल थालेका छन् । नीति तथा कार्यक्रम र बजेटबारे बुधबार पहिलोपटक विमर्श गरेका गठबन्धन दलहरूले यसबारे शुक्रबार विस्तृत छलफल गर्ने निर्णयसमेत गरेका छन् ।

बैठकको सुरुमै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नीति तथा कार्यक्रम र बजेटमा सुझाव मागेका थिए । ‘अहिलेको चुनौतीको सामना गर्ने गरी अगाडि बढ्नुपर्नेछ । साझा धारणा तयार गरेर नीति तथा कार्यक्रम र बजेट तयार पारौँ । जसले जनतालाई परिवर्तनको अनुभूति गरोस् । देशमा केही हुँदै छ भन्ने सन्देश जाओस् । डेलिभरी, सुशासन र समृद्धिमा सरकार गम्भीर भएर लागेको छ । जनताको अपेक्षा र आशा बढेका छन् । त्यसलाई सम्बोधन गरेर जानुपर्छ,’ उनले भनेका थिए ।

त्यसपछि शीर्ष नेताहरूले पनि जनताका आशा, अपेक्षा सम्बोधन गर्ने गरी नीति तथा कार्यक्रम र बजेट आउनुपर्ने मत राखे । कांग्रेस सभापति शेरबहादुर देउवाले अर्थतन्त्र सुधार गर्दै जानुपर्ने सुझाव दिएका छन् । ‘देशको अवस्था र जनताको अपेक्षालाई ख्याल गरेर कार्यक्रम तयार गर्नुपर्छ । न्यूनतम साझा कार्यक्रमका आधारमा सबैका सुझाव समेटेर कार्यान्वयन गर्ने खालको कार्यक्रम बनाउनुपर्छ,’ छलफलमा उनको धारणा थियो ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जनताका आशा र अपेक्षा धेरै रहेको भन्दै त्यसलाई सम्बोधन गर्ने गरी नीति तथा कार्यक्रम र बजेट आउनुपर्ने सुझाव दिए । ‘अर्थतन्त्रलाई उकास्नुपर्नेछ, जनतालाई प्रत्यक्ष अनुभूति हुने गरी डेलिभरी दिनुपर्नेछ । ठोस परिस्थितिको ठोस विश्लेषण गरेर कार्यक्रम तयार पार्नुपर्छ,’ उनले भनेका थिए ।

नागरिकता विधेयकमा चासो
संघीय संसद्बाट पारित भएर राष्ट्रपति कार्यालयमा रहेको नागरिकता विधेयकबारे पनि बैठकमा छलफल भएको छ । नागरिकता विधेयक राष्ट्रपतिबाट जारी गर्नुपर्नेमा नेताहरूले जोड दिएका छन् । बैठकमा जसपा र लोसपाका नेताहरूले नागरिकता विधेयकबारे चासो राखेका थिए । नागरिकता विधेयक तत्काल अघि बढ्नुपर्ने उनीहरूको भनाइ थियो । 

प्रधानमन्त्रीले संसद्बाट पारित भएर राष्ट्रपति कार्यालयमा रहेको विधेयकबारे छलफल गरेर अघि बढ्ने बताएको मन्त्री भण्डारीले बताए । ‘नागरिकता विधेयक संसद्बाट पारित भएर राष्ट्रपति कार्यालयमा विचाराधीन अवस्थामा भएकाले निर्णय पर्खिने कुरा भएको छ । आशा छ, छिट्टै राष्ट्रपतिबाट प्रमाणीकरण हुनेछ ।’